साँझको बेला करिब ८:०० बजेको थियो होला। भान्छामा साँझको खानाको लागि सबै भोजन पाकिसकेको थियो।
सायद, पाहुना बोलाएकोले होला, भान्छामा आज अरू दिनभन्दा अलि बढी पकवान पाकेको। घरमा आज अरू बेलाभन्दा अलि रमझम अनि होहल्ला पनि चलेको छ।
बिस्तारै सबै जना खाना खाने तरखरमा लागे। बच्चाबच्ची अनि बुढो हजुरआमा र हजुरबुवा हुनुभएकोले होला पहिलो प्राथमिकतामा उनीहरू नै परे।
यता राधाकी सासूआमाले हजुरआमा र हजुरबुवालाई खाना पस्किन थाल्नुभयो, उता भाउजूले पनि सानी नानीलाई खाना खुवाउन थाल्नुभयो।
केटा मान्छेहरूको जमात जसमा ससुराबुवा, काकाहरू, जेठाजु अनि राधाको श्रीमान थिए, उहाँहरूले अहिले नै खाना नखाने निर्णय गरे र खाना अघि अलि ड्रिंक्स र स्न्यांक्स खाने निर्णय भयो। भान्छामा केटी मान्छेको समूहले स्न्यांक्स तयार पार्न थाले। यता केटा मान्छेको टोलीको गफ अनि हाँसो बिस्तारै फुट्न थाल्यो। गफमा अहिलेको राजनीति, अर्थतन्त्र, देश-विदेशका समाचार आदि इत्यादि थिए।
घडीको सुइँले करिब ९:२० जस्तै देखाइसकेको थियो, पाहुना आउनु भएका राधाकी सासूको दिदी र काकी मधुमेहको बिरामीहरू हुनुहुँदो रहेछ, उनीहरूले चाँडै खान खाई औषधी खानुपर्ने भन्दै, खाना खान सुरू गर्नु भयो।
हजुरआमा र हजुरबुवा दुवै खाना खाई आफ्नो कोठामा टिभी हेर्न थाल्नु भएछ।
सानी नानीको पनि सुत्ने बेला भइसकेको रहेछ, उनी एकछिन आफ्नो ताबमा व्यस्त भइन् अनि सुत्ने तरखरमा लागिन्।
केटा समूहको गफ अनि ड्रिंक्स अझ बढ्दै नै थियो, खाना खाने टुङ्गो नै थिएन। यता राधा दिनभरि अफिसको काम सकाएर भर्खर घर पुगेकी मात्र थिइन्, घरमा पाहुना आउने भएर सिधै भान्छामा तयारी गर्न लागेकी थिइन्। खाजा पनि खान भ्याइन्न सायद। दिनभरिको थकान त्यसमाथि भोको पेट, राधालाई चलिराखेको गफमा पनि चाख लग्न छोड्यो, कहिले खाना खाम अनि घर धन्दा सकाएर पल्टिहालुमजस्तो भइसकेको थियो। पाहुनाहरू भएकोले गर्दा होला, सासूआमाले पनि तिमीले खाजा खाकी छैनौ होला, जाऊ खाऊ अनि आराम गर भन्न नसकेको। पेट कट-कट कराउन थालिसकेको थियो, थकाइ अनि निन्द्रा पनि कस्तो लागेको तर सासू-ससुरा, श्रीमान, पाहुनाहरूले नखाई कसरी अगाडि खाई, बुहारी मान्छे आराम गर्न आफ्नो कोठामा जानु।
श्रीमानले पनि आएर तिमीलाई गाह्रो भएको होला, जाऊ एकछिन आराम गर, हामी आफैं खाइहाल्छौं, तिम्रो भोलि फेरि बिहान नै निस्किनु पर्ने छ भन्नु होला भन्ने मनमा कुरा बुन्दै थिइन् तर त्यो कुरा मनमा मात्र सीमित भयो।
१०:३० मा बल्ल केटा समूहहरू खानाको लागि तयार भए। राधा खाना पस्किन थालिन्। केटाहरूको गफ डाइनिङ टेबलसम्म जारी रह्यो।
केटा समूहको खाने पालो सकेपछि बल्ल पाहुना आउनु भएका केटी समूहको पालो आयो। सासू, काकी अनि अरू पाहुनाहरू सबैको खानपान सकेपछि बल्ल बुहारीको पालो आउँछ। घरका अरू सदस्यहरू पाहुनाहरूलाई बिदाई गर्न तिर लग्नु हुन्छ।
श्रीमान र ससुरा एकछिन फेरि गफ गर्न थाल्छन् र एकछिनपछि कोठामा पानी ल्याउनू है भन्दै आ-आफ्नो कोठातिर लाग्छन्। घर-धन्दाको काम बाँकी नै थियो, मानौं अफिसको काम सकेपछि केटा मान्छेको त केही कर्तव्य नै छैनजस्तो लाग्छ।
कति रमाइलो, अफिस जानु अघि पनि टक्क खाना खाजादेखि आफ्नो लुगा पनि आइरन गरेको हुन्छ, अनि अफिस सकेपछि पनि घरमा आराम अनि समयमा खाना, यस्तै जीवन केटी मान्छेको पनि भइदिए कति सहज हुन्थ्यो।
रातिको लगभग ११:३० भइसकेको थियो होला, राधाले बल्ल खाना खाने फुर्सद पाइन्। थकानले गर्दा होला, भोक पनि मेटिसकेको थियो र उनलाई खान पनि रूची लागेन। घरधन्दा सकाएर, आफ्नो कोठामा पुग्ने बेला १२:३० भइसकेको थियो।
थकानले चुर, बेडमा पल्टिँदै राधाले सोच्छिन्, ‘यदि म बुहारी नभएको हुँदो, म पनि यो घरको प्राथमिकतामा पर्थे होला, सायद मैले सबैको पालो कुर्नु पर्थेन होला, कसैले के भन्ला भन्ने डर नराखी ढुक्क भई बाँच्न पाउँथें होला, मलाई पनि तिमीलाई गाह्रो भयो होला आराम गर भनि दिन्थे होला, भान्छाको काम, पाहुनाको सत्कार मेरो मात्र जिम्मेवारी हुन्थेन होला, सायद मेरो दर्जा पनि घरको अरू सदस्यको जस्तै उच्च नै हुन्थ्यो होला।
कठै बुहारीको जीवन, छोरी हुन्जेल सबैको प्यारी, सबैले लक्ष्मी स्वरूप पुजनीय तर बुहारी हुने बित्तिकै त्यही छोरीको भूमिका पूर्णविपरीत।
यस्तै यस्तै कुरा सोची, भोलिको दौडधुप, बिहानको घरधन्दा अनि अफिसको काम सम्झँदै निदाइन् राधा।