पुसको चिसो। त्यसमाथि काठमाडौं खाल्डो। म नयाँ बानेश्वर नजिकको शान्तिनगर गेट भित्रको गल्लीमा थिएँ।
मैले ‘डाउन ज्याकेट’ लगाएको थिएँ। नाक जोगाउन मुखमा बाँधेको थिएँ उनैले दिएको बुट्टे रूमाल। मसँगै नजिकै प्रतिस्पर्धाजस्तै गरी एक युवती हिँडिरहेकी थिइन्।
वास्तवमा म उनलाई चिन्दिनँ थिएँ। गंगा बस्ने घरको गल्ली थियो त्यो। हाम्रो सल्लाह बानेश्वर चोकमै भेट्ने भएको थियो। त्यही बीचमा कुकुरले एकाएक झम्टियो। मसँगै प्रतिस्पर्धामा हिँडिरहेकी ती युवतीले डरले मम्मी भन्दै मलाई च्याप्प समातिन्।
त्यति भए कुकरलाई के चाहियो। ऊ झनै झम्टिनै खोज्यो। घर अगाडि कुकुर जोर जोरले भुक्यो। त्यो सुनेर अर्को कुकुर पनि दौडिएर आयो। ती कुकुरहरूलाई जसोतसो धपाउन सफल भएँ। उनले बल्ल हात छोडिन्। जो सामान्य कुरा थियो। कुकुर एकाएक झम्टिन आउँदा डर मलाई पनि नलागेको होइन। महिलाका आगडि थोरै ‘मर्दाङ्गी’ देखाउन मन लाग्दो रहेछ। आफूलाई ‘शो’ गर्न मन लागिहाल्ने भन्या। शिव भगवानले पार्वतीको अगाडि किसानसँग अनावश्यक घमण्ड देखाएजस्तै।
अघिल्लो दिन बेवास्ता गर्दा अनाहकमा मैले अपजस बेहोर्नु जो परेको थियो। गुलाबी वानपिस लगाएकी एक किशोरीलाई चाबहिल चोकका छिल्लेका युवाको ग्याङले अलि छाडा बोल्दै जिस्काए। म एक जना साथी लिन गएको थिएँ। साइडमा कार पार्किङ गरी सडक छेउमा उभिँदै उसको प्रतीक्षा गरिरहेको थिएँ।
त्यतिखेर ती केटीले मसँग सहयोग मागेकी थिइन्। ती केटाहरूलाई हप्काउनका लागि। मैले वास्ता गरिनँ। बेकार किन झमेलामा पर्नु भन्ने लागेर म मौन बसेको थिएँ। त्यतिखेर उनले हानेको डाइलग याद आइरहन्छ – मान्छे देख्दा बाघले खाइ नसक्लाजस्तो, मन भने कस्तो कायर! हैट, यस्ता पनि मर्द? एक पटक राति दश बजेतिर सुनसान सडकमा एक्लै उभिएर लिफ्ट मागेकी एक युवतीले मलाई यसैगरी हायलकायल पारेकी थिइन्।
उनी त पूरै मातेकी थिइन्। जसको हातको नाडीमा निशा लेखिएको थियो बाइकको पछाडि बसेकी उनले आफ्ना हातहरू कहाँ कहाँ घुसाइन् त्यो सम्झँदा अझै लाज अनि डर लाग्छ। उनले मलाई आफ्नो रूममा जान आग्रह गरिरहेकी थिइन्। मेरो कोठामा जाम बियर, वाइन, ह्विस्की जे भन्यो त्यही खुवाउँछु। अन्जान उनको कुरा मैले मानिनँ।
एउटा मिडिया हाउस जाने उज्यालो चोकमा उभिएर उनले मलाई भनेकी थिइन् – नामर्द रैछौ! मान्छे देख्दा हिरो काम भने जिरो!
छोडौं यो कुरा।
प्रतिस्पर्धाको हिँडाइ अब हाँसको गतिमा रूपान्तरित भइसकेको थियो। उनी रबिना रहिछन्। हामी कुरा गर्दै केही अगाडि बढ्यौं। आपसमा परिचय र फोन नम्बर साटासाट भयो।
शुभ बिहानी साटासाट गर्दै हामी आ–आफ्नो बाटो लाग्यौं। अनि मैले गंगालाई फोन ट्राइ गरें। स्वीच अफ थियो। १५ मिनेटको दूरी पार गर्दा कम्तीमा तीन पटक ट्राइ गरें। उनै महिला बोलिरहिन्। एउटा चिया पसलमा छिरें। उज्यालोको जित भइसकेको थियो। चिया पिउँदै सोचिरहे गंगा आफैंले बनाएको रूट प्लान अनुसार मर्निङ वाकमा किन आइनन्?
म हप्ता दिन मर्निङ वाकमा एक्लै भएँ। त्यो बीचमा धेरैका लभ चक्करहरू निहाल्न पाएको थिएँ।
त्यसपछिको आइतबार बिहान पाँच बजेतिर एक्लै हिँडिरहँदा
'हेलो, सर.. गुड मर्निङ' को आवाज सुनें।
त्यो गुड मर्निङ कसको र कसलाई हो भन्ने आशयमा म यसो फर्केर हेरेको उनै रबिना फूर्तीसाथ मलाई पछ्याइरहेकी रहिछन्। मैले पनि उसैगरी शिष्टाचार दर्शाएँ।
उनले सोधिन् – किन तपाईं केटा मान्छे भएर पनि एक्लो ?
मैले जवाफ दिएँ – अधिकांश साथीहरू मर्निङ वाकभन्दा जिम क्लब जान्छन्। मलाई यही मन पर्छ।
फेरि उनले थपिन् – अधिकांस केटाहरू लेट नाइट गेट टुगेदरमै भुल्छन् बरू मेरो बानी त्यो छैन भन्नुस् न।
उनको कुरा ठिकै थियो। सही थापिदिएँ। हुन पनि ठूला सहरहरू मध्यरातिसम्म जागै हुन्छन् र बिहान अबेरसम्म सुत्छन्।
उनलाई ढाडस मिल्यो क्यारे – म ठिक उल्टो छु है, राति साढे नौ र ढिलोमा दश बजे निदाइसक्छु र बिहान साढे चार बजे उठिसक्छु। उनी पहाडमा जन्मी हुर्केकी भए पनि बिहे तराईमा भएको रहेछ।
उनीहरू कलेज पढ्दा आपसी प्रेममा परेपछि बिहे गरेका रहेछन्।
दुई बच्चाबच्चीकी आमा। राम्रै कुल घरानकी। श्रीमान पनि साथमै रहेछन्।
मेरो बुढो अल्छी हुनुहुन्छ। उहाँ कहिल्यै मर्निङ वाक आउन मान्नुहुन्न। उनी नछिपाइ सबै कुरा भन्थिन्।
श्रीमानलाई साथ दिन कहिलेकाहीँ वाइन खाने गर्दौ रहिछन्।
मैले पनि आफ्ना ब्यक्तिगत आनीबानी र पारिवारिक पृष्ठभूमिका धेरै कथाहरू सेयर गरिसकेको थिएँ। भेटहरू बाक्ला बन्दै गए। हामी ठट्टा मजाग गरे पनि आपसी मर्यादा कहिल्यै भुलेनौं। मित्रता बढ्दै गयो। म उमेरमा कान्छो साबित भएँ।
त्यसपछि मैले भनेको थिएँ – अबदेखि मलाई सर हैन भाइ भन्नुहोला। उहाँले मञ्जुरीमा टाउको हल्लाउनु भयो।
हाम्रा धेरै कुरा उहाँले आफ्ना श्रीमानलाई पनि भन्नु हुँदो रहेछ।
एक शनिबार दिउँसो उहाँले लौ भाइ मेरो घरमा आउ चिया पिउन भनेपछि म लोकेसन सोध्दै घरमै पुगें।
कफी गफहरूमा उहाँका श्रीमानले हामीबीच भएका धेरै कुरा शेयर गर्नु भएको थियो। थप केही कुराहरू सेयरिङ भए।
घर फर्किंदै गर्दा सोही दिन एक महिनापछि बल्ल गंगाको फोन आयो। मैले त्यो मिस गर्न चाहिनँ। कारको गीत बन्द गर्दै स्पिकर अन गरी फोन उठाएँ।
उताबाट आवाज आयो, दर्शन, ढोक। सौभाग्यवती हुनू। मैले भनें। यो उनैले भन्न सिकाएको शब्द थियो। उनी सदाझैं खित्का छोडेर हाँसिन्।
यति दिन उनलाई मिस गरिरहेको मेरो मुड बल्ल लयमा फर्किएको थियो।
सोधें– कहाँ छौ?
‘मुटु’मा – यसो आफ्नो छातीमा कोल्टो परी हेरिस्यो न।
घायल पार्ने उनको जवाफ थियो। खबरै नगरी यतिका दिन कहाँ हराको यार। म कतिदिन तिम्रो कोठाको फन्को लगाँए। ताल्चा झुण्डिएको थियो। उनी अकमक्किँदै बोलिन् – एकाएक ठूलो दादा आइस्याथ्यो के, उहाँले मलाई सँगै गाडीमा हालेर गाउँ लक्स्यो अनि के गर्नु त!
मेरो प्रश्न थियो – के तिमीलाई एक पटक पनि फोन गर्न समय मिलेन? मैले कुरा नसक्दै ओभरट्याक गर्दै बोलिन् – दादाको छोरीले मन पर्यो भनेर मेरो मोबाइल लगेपछि मसँग सिम कार्ड मात्रै थियो अनि के गर्नु त, यहाँ आएर बल्ल एउटा मोबाइल किनेकी छु। त्यसअघिको मोबाइल मैले किनिदिएको थिएँ। भोलि बिहानको मर्निङ वाकमा भेट्ने कुरा भयो। रूट तय उनी आफैंले गरिन्।
गणेशथान हुँदै भित्रभित्रै गल्लीहरू नाप्यौं। त्यति लामो समयपछिको भेटले मन प्रफुल्ल थियो। म उनको हात समाउँदै हिँडिरहेको थिएँ। तर उनको हातमा पहिलेजस्तो उत्साह फिल भइरहेको थिएन। उज्यालो बढ्दै गर्दा उनले लाज हुन्छ भन्दै हात नसमाउन आग्रह गरिन्।
कोही आफन्त वा गाउँले छन् कि? भन्ने भावले मैले उनलाई नियालें। उनका आँखाहरू केही बोलेनन्। आज उनले मलाई जम्मै भित्री बाटोहरू मात्रै हिँडाइरहेकी थिइन्।
बाटोमा लेमन टी खाएर घर फर्कियौं। दिउँसो गंगाले फेरि फोन गरिन्। ‘मेरो रूममा आइस्यो है’।
बिदाको दिन फुर्सदमै थिएँ। म पुग्दा सदाझैं उनी प्रतीक्षामा बसेकी थिइन्।
सुरूमा मलाई किचेनमा डोर्याइन्। मैले उनलाई स्वीमिङ मम लगिदिएको थिएँ। एउटै प्लेटमा खायौं। कफी पनि साटफेर गर्दै।
हाम्रो बीचमा बिहे गर्ने सहमति भइसकेको थियो। गंगा गाउँ घरकी सोझी र इमानदार केटी थिइन्। अघिपछि जस्तै मलाई मायाका वर्षाले रूझाइन्। त्यसपछि भने उनले ऐंठन पारिन्। बुवा र मुवाले घर बोलाइ जबरजस्ती बिहे गर्न बाध्य पारेको कुरा गरिन्।
उनले रूँदै भनिन् – मुवालाई मैले हजुरको बारेमा भनेकी थिएँ। बिहे हजुरले गर्ने हो कि मैले भनेर प्रश्न गरेकी हुँ। मुवाले कुरा टुंगो लागि सकेको हुँदा खानदानको इज्जतविपरीत गरे आत्महत्या गर्ने कुरा गरेपछि म झुक्न बाध्य भएँ।
उनका कुराले मुटु फुटेझैं भयो। टेकेको जमिन भासिझैं लाग्यो। चिर्कौ परेजस्तै भयो। खरानी फुकेझैं भयो। मैले सम्झें अब रोएर केही हुँदैन। सम्हालिनुको विकल्प छैन। रातिमा आकाशबाट तारा देखाउँदै बुवाले भनेको सम्झिएँ – एउटा तारा झर्दैमा आकाश शून्य कहाँ हुन्छ। रात रहे अग्राख पलाउँछ धैर्यता गर्न सक्नु पर्छ।
उनी रोइरहँदा म मौन बसें। कतिखेर आँसु रसाए थाहा भएन। उनैले आँसु पुछिदिइन्। अब मलाई फोन नगरिसेला। म अर्काकी दासी भइसकें। अवस्था हेरी म आफैं फोन गरूँला।
उनले दुबै हात जोड्दै काँपेका ओठहरूले बोलेकी थिइन् – मैले धोका दिन खोजेकी होइन। पितृसत्तात्मक समाजमा मेरो केही उपाय चलेन। प्लिज नेभर फर्गेट मी।
गंगालाई निश्चिन्त हुन विश्वास दिलाएँ। यत्ति भनें – ‘म अलप हुँदा तिमी जित्छौ भने कसम म रेशम कीरा बन्न तयार छु।’
म उनको निधारमा अन्तिम पटक चुम्बन गर्दै निस्किएँ।
उनी घोप्टो परी रोइरहेकी थिइन्।
बाटोमा सिनेमा हलबाट भर्खरै मानिसहरू निस्किएका थिएँ। बाटोभर मानिसहरूको घुइँचो थियो। तर मैले आफूलाई एक्लो अनुभव गरें। निराश मन घर जान पनि मानेन। उनीसँग पहिलो पटक भेटेको कलेज पुगें। हामी घुमेका अन्य जम्मै ठाउँहरू एक्लै फन्को लगाएँ। चिडिया खाना पुगे। त्यहाँ पिँजडा भित्रको एक्ला बाघका पीडा नियालें। जसको पीडा मभन्दा झनै भयंकर पीडायुक्त थियो। मन बुझाउन प्रयास गरें।
निस्केर पार्किङ सुविधा भएको एउटा पार्टी प्यालेस छिरें।
मन के गरूँ नगरूँ भन्ने अवस्थामा थियो। त्यही रेष्टुराँमा छिरेर क्याबिनमा एक्लै बसें। बियर मागें। त्यही दिन थियो मैले पहिलो पटक मदिरा मुखमा राखेको। छातीमा जलन भइरहेको थियो। चुरोट पनि तानिदिएँ। दुई बियर खाइसक्दा म साह्रै मातें।
घरबाट मम्मी बुवाको तारन्तार फोन आइरहेको थियो। मैले साथीसँग रहेको र एक घन्टाभित्र फर्किने वाचा गरें।
मम्मीले ‘किन आज बोली फरक छ ?’ भनेर सोध्नु भएको थियो।
मैले उहाँलाई छल्न सुने नसुझेझैं गर्दै फोन काटेको थिएँ।
म धङमंगिँदै बाहिर निस्किएको देखेर कसैले बोलायो।
‘तपाईं घर पुर्याइ दिनुपर्छ?’ ती रेष्टुराँका साहुजी रहेछन्। ‘पर्दैन’, भन्दै निस्कँदै थिएँ।
त्यतिकैमा चिनेजस्तो आवाज आयो –‘जति बत्तीको उज्यालो भए पनि सहर बजारमा मान्छे चिन्न कठिन हुँदा रहेछ।’
फर्केर हेरे ठम्याउन सकिनँ।
गोधुली साँझमा बलेका रंगीबिरङ्गी बत्तीका उज्यालोले पनि मलाई झुक्यायो। त्यो मध्यमाघ थियो। बिहेको सिजन।
उनै रबिना दिदी – भाइ क्या हो पारा, पिउँदिनँ भन्ने मातेर गोडा फट गरी हिँड्ने?
उहाँले सोध्नु भो – तिमी कोसँग छौं ?
म बोलें ‘एक्लै छु दिदी’।
‘किन खाएको यति धेरै’।
‘दिदी पहिलो पटक हो। मेरो गर्लफ्रेन्डले अर्कैसँग बिहे गरिन्।’
‘ह्वाट?’ उहाँले सोध्नुभयो।
सोही कुरा दोहोर्याएँ।
‘कार कसले ड्राइभ गर्छ?’ फेरि सोध्नुभो।
‘कोही छैन।’
उहाँले चाबी माग्नुभो।
छिमेकका दिदी-बहिनीसँग बिदा मागेर दिदीले मलाई डोर्याउँदै कारसम्म जसोतसो हुल्नु भो।
दिदीले मलाई केहीबेरमै घर पुर्याइ सक्नुभएको रहेछ। ‘घर आयो’ भन्दै उठाउनु भएपछि डर लाग्यो।
गेट खोल्न मम्मी आउनु भएको थियो। ढोका खोलेर दिदी रबिनाले मलाई निकाल्न खोज्दा म सम्हालिन सकिनँ। उहाँलाई झन्डै लडाइन्। लाज लागिरहेको थियो। मम्मी र दिदीले मलाई कोठामा पुर्याए। त्यहीबाट रबिना दिदीले आफ्नो श्रीमानलाई फोन गरी लिन बोलाउनु भएछ।
त्यसैदिन मेरो मम्मी बुवा र दिदीका श्रीमानको चिनजान भएको थियो। अर्कौ दिन मैले सबैसँग माफी मागेको थिएँ। उहाँहरू सबैले मलाई निराश नहुन बरू हौसलाले काम गर्न आग्रह गर्नु भएको थियो। आफ्नो सपना पूरा गर्न अनवरत लागि पर्न बुवा मम्मीले सम्झाइ रहनुहुन्थ्यो। म पनि आफूलाई सम्हाल्दै आफ्नो लक्ष्य भेदन गर्न तल्लीन थिएँ।
गोजी वजनदार हुनेहरूको बकमफुसे कुराहरूलाई पनि समाजले वजनदार ठान्दै ध्यानपूर्वक सुन्ने गर्छन् भन्ने कुरा मलाई बुवाले सम्झाइरहनु हुन्थ्यो। मैले मेरो विषयमा विशेषज्ञता हासिल गर्नु थियो। जागिर छोडेर विदेश पढ्न जाऊँ कि भनेर सोचिरहेको थिएँ। मम्मी बुवाले बिहेका लागि बारम्बार भन्दै आउनु भएको थियो।
पछि उहाँहरूले नै रोजेको केटी मैले स्वीकार गरें। सबै ठिकठाक चल्दै छ। हामी आपसमा खुसी छौं। मैले पनि श्रीमतीको विगत खोतलिनँ र उनले पनि मलाई उत्खनन् गर्न प्रयास गरिनन्।
यो बीचमा गंगाले हाम्रा फोटोहरूमा लभका इमोजी रियाक्टहरू पठाइ रहेकी भए पनि कहिल्यै फोन गरिनन्। डेढ वर्षपछि नयाँ नम्बरबाट आएको फोनमा गंगा बोलिन्। शनिबारको दिन थियो।
‘यो कहाँ पर्यो हजुर’– उनले सोधिन्।
मैले लोकेसन भनिदिएँ। थप कुरा गरूँ कि नगरूँ। दोधार मन भयो। उनले आफू अप्ठ्यारो परेको र जसरी हुन्छ भेट्न आउन आग्रह गरिन्। मैले ‘हुन्छ’ भन्दै फोन काटें।
‘अब जाऊँ कि नजाऊँ ? के भयो होला ?’ खुलदुली भइरह्यो। पहिलो प्रेम जो थिइन्। मनले मानेन।
घरमा अफिसमा काम पर्यो भनेर चिटिङ गरें। उनीकहाँ पुगें। स्वागत गर्न उनी गेटमै आएकी थिइन्। त्यो दिन घरधनी अर्थात् उनका आफन्त पहाड घर गएका रहेछन्। मलाई कोठामा पुर्याउना साथ उनले पहिले भन्दा झनै उग्ररूपमा पागल प्रेमीको व्यवहार गर्न थालिन्। मैले अनेक तरहले सम्झाउन खोजें। माने पो। पहिले जे भयो अब त्यसो गर्नु गलत थियो।
अति गरेपछि थप्पड हान्न तम्सिएँ। परस्त्रीमाथि हात उठाउनु हुन्न भन्ने सम्झेर म रोकिएँ।
मैले सम्झाउने प्रयास गरिरहँदा उनी बोलिन् – यति राम्री र जवान श्रीमतीलाई एक्लै छोडेर धनको लागि विदेश छिर्ने श्रीमान मूर्ख हो कि होइनन्? मैले नजाऊ भनेर कति बिन्ति गरेकी थिएँ। उनका श्रीमान अमेरिका पुगेको डेढ वर्ष भइसकेको रहेछ। के मलाई बुवाआमाको घरमा सम्पत्तिको अभाव थियो र? जवान श्रीमतीलाई पैसा मात्रै पठाएर पुग्छ? हजुर मेरो पहिलो प्रेम होइसिन्छ, यदि हजुरले साथ नदिए म मेरो आवश्यकता पूरा गर्न अरू खोज्न बाध्य हुनेछु। त्यसो गर्दा मेरो जीवन नै बर्बाद हुन सक्छ। त्यसैले बुझिस्यो, हजुरलाई म कहिल्यै कुनै खाले हानी नोक्सानी गर्न सक्दिनँ र हजुर पनि मलाई कहिल्यै त्यस्तो गर्सिन्न भन्ने मलाई बिश्वास छ।
यो मेरो लागि कुनै अपराध होइन बरू पुन्य कर्म हो। यति ठानी बक्स्यो – यो मेरो लागि हजुरले गरेको ठूलो समाज सेवा समान हो। जसलाई जे कुराको चाहा हुन्छ त्यो कुरा पूरा गरिदिने जति ठूलो दानी कोही होइन। प्राण प्यारा, बुझिबक्स्यो न।
अनि म उनको खुसीका लागि हार्न राजी भएँ। पहिला आवश्यकता पर्दा उनी मसँग पैसा माग्थिन्। तर यो पटक पत्रिकाले बेरेको बण्डल लैजान जिद्दी गर्दै कर्जा चुकाएको कुरा गरिन्। एउटा मेरो नासो आफूलाई मनपर्ने डिजाइनको औंठी बनाएर लगाइसेला। त्यतिखेरै मैले पाइते औंलीको श्रीमतीले लगाइदिएको औंठीका दोबहरू हेरिरहें। तर गंगालाई कुनै प्रतिक्रिया जनाइनँ। मनमनै यत्ति प्रण गरें – माफ गर मेरी श्रीमती म योभन्दा बढी धोका कहिल्यै दिने छैन।
यो बीचमा रबिना दिदीको श्रीमानको हृदयघातका कारण मृत्यु भइ सकेको थियो। दिदी र हामी बीचमा त्यसपछि पनि आउजाउ भइरहन्थ्यो। कुनै स्वार्थरहित सम्बन्ध जो थियो। मैले गंगा सँगको पछिल्लो घटनाक्रम उहाँलाई छिपाउन सकिनँ।
त्यसपछि उहाँले मेरो कान तान्दै भन्नुभयो– तिमी पागल प्रेमी। यथार्थमा जीवन रहँदासम्म माया कहिल्यै मर्दैन। स्वार्थ पूरा भएपछि मात्रै मानिस टाढिएको बहाना गरिरहेको हुन्छ। तर, उसलाई पनि यादहरूले बाँच्दासम्म लखेटी रहन्छ। ऊ पनि उत्तिकै तड्पिरहेको हुन्छ।
एकदिन म गंगालाई उहाँकै घरमा लगेर गएँ। त्यतिखेर दिदीले भन्नुभाथ्यो – बुहारीले यो कुराको सुइँको पनि नपाओस्। त्यसो गरे तिमीहरू कोही खुसी रहने छैनौ। गंगा लज्जाबती झारजस्तै खुम्चिइन्। केटो मान्छेले पैसा मात्रै कमाउन जानेर हुँदैन श्रीमतीलाई समय पनि दिन जान्नुपर्छ।
गंगाले ‘हस दिज्यू’ भन्दै लजाइन्।
तिमीहरू दुबैले कहिल्यै आ–आफ्ना सीमारेखाहरू पार नगर्नू, दिदीले सम्झाउनु भएको थियो।