चार पाङ्ग्राको ढोका खोल्यो
र
फूल टाक्सिएको गमलामा चुरोट फ्याँक्दै
ऊ महल छिर्यो
छुस्से कालो चस्मासँग टाउको साट्दै
पोतिएको नक्कली अनुहार लगेर जुवाखालमा खन्यायो
कैयन् शिश्न (लिङ्ग) हरूसँग
जुठो रात सुतेकाहरूको भीडमा पोखियो
अनुहारजस्तासँग अनुहार मिसायो
अनैतिकहरूसँग नैतिकता किन्यो
मनलाई ढाँट्यो
तनलाई बाँड्यो
अत्तर छर्केर नाक झुक्यायो
हिँड्न बिर्सेर मुटु झुक्यायो
हातमा मेसिन थमायो
रातलाई धमिल्यायो
खोकिलामा यन्त्र च्यापेर
निद्रा बिच्क्यायो
यन्त्र जपेर
सम्बन्ध गलायो
बाँच्ने मन्त्र बिर्सेर
सास ढलायो
ऊ ट्रेड युनियन गयो
वर्ल्ड बिजनेस टावर पुग्यो
र सोझियो बारूदका बगैंचाहरूमा
तर
उसले रूखलाई कहिल्यै अँगालो हालेन
जसरी नक्कली छातीहरूसँग लहसियो
उसले माटोसँग कहिल्यै सहवास गरेन
जसरी बहुलिंगीहरूसँग टाँसियो
फगत पगालेर शरीर
स्खलित गर्यो बाँच्ने आयु
फगत सडकहरूमा नाच्यो र
नक्कली अनुहार बाँच्यो
ऊ घामको उज्यालोसँग टाँसिएन
अग्ला हिमालको चमकसँग गाँसिएन
अहिले
हाँस्न बिर्सेर ओठले
नाच्न बिर्सेर मनले
अनि
बाँच्न बिर्सेर मथिंगलले
एउटा हरूवा प्राणीजस्तो भएर
घाँटीमा रूखको डिभोर्सपत्र झुन्ड्याएर
रल्लिइरहेछ सडकहरूमा
जसरी हल्लिरहन्छन् रोब्लक्सियनहरू
नक्कली दृश्यभरिएको पर्दामा।
+
आऊ
आजै सम्बन्धपत्र लेखौं
++
र सुहागरातको एउटा नयाँ फूल टिपौं
+++
हावाको सुकिलो पछ्यौरी ओढौं
++++
र माटोसँग सहवास गरौं।