तिमीले राणा विरुद्ध लड्न भन्यौ
म लडें
तिमीले पञ्चायत विरुद्ध लड्न भन्यौ
म लडें
तिमीले राजा विरुद्ध लड्न भन्यौ
म लडें
तिमीले लडायौ, म लडें
साँच्चिकै भन्नुपर्दा, उठ्नै नसक्ने गरी लडें।
तिमीले विकासको नारा लगायौ
मैले पत्याएँ
तिमीले गरिवी विरूद्ध नारा लगायौ
मैले पत्याएँ
तिमीले जेल खान भन्यौ
मैले जेल-नेल खाएँ
तिमीले जंगल पस्न भन्यौ
म जंगल पसें
तिमीले छातीमा गोली खान भन्यौ
मैले गोली खाएँ
तिमीले मेरो नाममा सहर खाँदा, देश खाँदा
मैले विश्वासघातको आँसु खाएँ।
तिमीले मलाई नसोधी गणतन्त्र ल्यायौ
मैले स्वीकारें
तिमीले मलाई नसोधी संघीयता थप्यौ
मैले सकारें
तिमीले मलाई नसोधी धर्म निरपेक्षता लाद्यौ
त्यो पनि मैले थापें
आस्था, विश्वास र भरोसा थियो र पो थापें।
तिमी मेरो लागि भन्दै
मेरो जस्तै हवाई चप्पलसहित सहर पस्यौ
म गाउँमै बसें
तिमी मेरो लागि भन्दै सत्तासँग जोडियौ
म यता गरिबीसँग जोडिएँ
तिमीले अथाह सम्पत्ति जोड्यौ
मैले जसोतसो हातमुख जोडें।
तिमीले सहरमा कैयौं दरबार जोड्दा
मैले भएको घरबार गुमाएँ
तिमीले विदेशी साडी र गाडी आयात गर्दा
मैले मेरा लालाबाला खाडीमा निर्यात गरें
उता तिमीले विदेशी बैंक ब्यालेन्स जोड्यौ
यता मेरो आस्था, भरोसा र विश्वास टुट्यो।
अब त अति भयो
जसोतसो खुट्टा तङ्ग्राउँछु
तिमीले पूर्व भने म पश्चिमको बाटो समाउँछु
तिमीले पश्चिम भने म पूर्वको बाटो समाउँछु
यो देशलाई साक्षी राख्दै
एक मुठी माटो समाउँछु
देशको माटोले जे भन्छ
मन मस्तिस्कमा त्यही सजाउँछु।
अब त अति भयो-
मेरो बज्यैले भन्नु भएको-
‘अति भए खती हुन्छ’
अब तिम्रो खतीमा सती गइन्न।