बा! तपाईं भन्नुहुन्छ
छोरी, यति धेरै पढेर तैंले के गरिस्?
रिसलाई डेबिटमा राख्न सिकें
मुस्कानलाई क्रेडिटमा
दु:खलाई करेन्ट एसेट्स बनाइदिएँ
अनि सुखलाई फिक्स्ड एसेट्स
जे गरें मैले बा, पढेर राम्रै गरें।
कसले सक्छन् होला र यहाँ
कपाल नभएको टाउकोमा काइयो बेच्न
मार्केटिङ पढेर मैले यही काम गर्ने परें
नेपालका बिजेनसम्यानहरूलाई नि
खासै थाहा छैन होला
व्यावसायिक सम्बन्धी नियम र कानुन पनि
म बिजनेस नगर्ने भए पनि
रातभरि बिजनेस ल रट्टा मारें
जे गरें मैले बा, पढेर राम्रै गरें।
नेपालका उच्च तहका सरकारी कर्मचारीहरूलाई नि
थाहा छैन होला सायद
तपाईंलाई थाहा छ बा?
हजुरले पठएको स्यालरीको
मैले पाउने सेवा, सुविधा र ट्याक्स अमाउन्ट हिसाब गरेर
राख्या छु नि
समय आएपछि तिर्ने सर्त आफैंसँग राखेर
त्यसैले
जे गरें मैले बा, पढेर राम्रै गरें।
तिमीसँग सम्पत्ति बढेसँगै तिम्रा
आफन्त पनि बढ्छन् भन्न नसकेर
अर्थशास्त्रको नियमले पनि
पूर्ति बढेसँगै मूल्य बढ्छ भनेको रैछ
उमेर बढेसँगै खुसी घट्छ भन्न नसकेर
माग बढेसँगै मूल्य घट्छ भनेको हो
यस्ता जीवन नै परिवर्तन गर्ने किताब पढ्न पाएँ
जे गरें मैले बा, पढेर राम्रै गरें।