सबैको जीवन होली जस्तै रंगिन कहाँ छ र? बाहिर अनुहारमा रङ पोतिए पनि भित्र यसै रुमलिएको छ। तैपनि समाजमा आफ्नो स्वाभिमान बचाउन फेसबुक, टिकटक, ट्विटरमा फोटाहरू पोस्ट गर्दै 'ह्यापी होली’ लेख्ने मजस्तै व्यक्ति धेरै नै होलान्, मेरो अनुभवले यति अनुमान गर्न सहजै सक्दछु।
मोबाइल स्क्रोल गर्दै जाँदा कैयौं आफन्त तथा मित्रको विविध पोस्ट र शुभकामनामा मेरो शुभकामना थपिनँ भने भोलिदेखि मलाई समाजले एकलकाटे सोच्नेछ।
अझै 'भर्खरै जागिर के खाको थियो, घमण्डले सगरमाथा टेक्न थालेछ’ लगायतका शब्दहरू मेरासामु नभने पनि उनका मुहारले सजिलोसँग बताउनेछ र कुनै दिन ब्याजसमेत असुल गर्ने सोचमा गौडा कुर्नेछन्।
तर यस्तो प्रतिशोध किन राख्नु छ र? आखिर आधुनिकता मात्रै जिन्दगी हो र? बरु दु:खमा साथ दिनेलाई कहिल्यै नछोड्नू, गन्तव्यमा पुगेपछि हात मिलाउने त कैयौं भेटिन्छन्।
देशमा नयाँ शासन आयो तर जनताको स्तरमा खासै नयाँ अनुभव गर्न पाइएन। सत्तामा विकेन्द्रीकरण भयो तर विद्यार्थीलाई ट्रान्सकृप्ट निकाल्न समेत राजधानी धाउनु पर्ने बाध्यता रहिरह्यो।
विरेन्द्र क्याम्पस चितवनबाट ब्याचलर सकेपछि ट्रान्सकृप्ट निकाल्न परीक्षा नियन्त्रण कार्यालय बल्खुतिरको बाटो तय गरें। त्यहाँ पुग्दा बिहानको ११ बजिसकेको थियो। देशभरिबाट ट्रान्सकृप्टको लागि भर्ने र रसिद लिनेको लाइन लामो थियो।
म पनि ३ घण्टा लाइनमा बसें, तर आफ्नो पालो आउने बेलामा कर्मचारीलाई खाजा खाने समय भएछ। फेरि एक घण्टा कुर्नुपर्ने अवस्था रह्यो। झोला बोकेर पेटीमा बसिरहें। एक घण्टा कुर्दा पनि काउन्टर नखुलेपछि आफैं अग्रसर भएर कर्मचारीलाई बोलाएँ।
लाइन लामो थियो जसमा धेरै युवाहरू गफिँदै थिए वैदेशिक यात्राको लागि नै। बल्लतल्ल रसिद काटेको थिएँ, फेरि फर्म भर्ने काउन्टर बन्द भैसकेको रहेछ। एकछिन तनाव भयो। भोलि गणतन्त्र दिवसको बिदा र पर्सि शनिबार भएकोले ३ दिनपछि मात्र खुल्ने जानकारी आयो।
म पनि बल्ल काठमाडौ छिरेको, साथी क्षितिजकोमा बस्ने योजना बनाउँदै फोन लगाएँ। उसको घर बर्दिया भए पनि काठमाडौं बसेर पढेको थियो, साथै सहयोगी भावनाले भरिएको खुलेर बोल्ने स्वभाव थियो। एकपटक उनीहरू चितवनको सौराहा भ्रमण जाँदा भरतपुरस्थित एक होटलमा परिचय भएको थियो। त्यसपछि फोनमा सम्पर्क हुने गर्थ्यो।
उनलाई कल गरेपछि दिएको दिशा निर्देश गर्दै पुरानो बसपार्कबाट नयाँ बानेश्वर हुँदै रातो पुलतिर जाने निधो गरें। सृष्टिको सहर काठमाडौं, एउटा सपनाको सहर काठमाडौं, सबै आआफ्नो ध्यानमा व्यस्त थिए।
पुरानो बसपार्कबाट बानेश्वरतिर लाग्दा धेरै युवाको हातमा लेखेको कपी तथा किताब देखिन्थे। केही त मनमनै पढ्दै हुन्थे। मैले मनमनै अनुमान गर्थें, सायदै उनीहरू लोक सेवा तयारीमा या विदेश यात्रा तय गर्दैछन्।
म अचेल अचम्मको भएको छु, आफैंसँग गफ गर्ने भएको छु। आफूलाई देखेर रमाउँछु। बिहान उठ्दा नि आफैंलाई बोलाउँदै 'उठ् कान्छा, हिजोको भन्दा लामो यात्रा गर्नुछ’ भन्दै फकाउँदै उठाउँछु। दिउँसो समयमै खाजा नखाँदा 'ओई मलाई माया मारेको?’ भन्दै ठुस्केर आफैंलाई गुनासो पोख्छु।
यो सबै गर्नुको मतलब म आफैंलाई खुसी हुन पनि हो; आफूलाई नै खुसी राखिनँ भने अरुलाई खुसी दिन सकुँला र?
सूर्यले विश्राम लिने बेला हुँदै थियो, सिमसिम पानी पर्न थालेको थियो। मलाई चाबहिल पुग्नुपर्ने भएकोले सानो माइक्रोबस समातेर त्यतै लागें। काठमाडौंको भिड अनि माइक्रोबस बसको यात्रा निकै सकसपूर्ण थियो, तर साँझ परिसकेको हुनाले जसै जानुपर्ने बाध्यता थियो। अन्तिम सिटमा एउटा सिट देखेर त्यही बसें।
मेरा अगाडि निलो कोट-पाइन्टमा करिब २२-२३ वर्षकी युवती उभिरहेकी थिइन्। मैले उठेर उनलाई बस्न आग्रह गरें तर उनले मतिर भिजेको छाता देखाउँदै मन्द मुस्कानसहित भनिन्- 'बरु छाता लिइदिनू न, म अलि अघि झर्ने हो।’
यतिकैमा मेरो आँखा उनले भिरेको कार्डमा पुगे। कृति गौतम, अफिसर- जिल्ला अदालत काठमाडौ।
भावी प्रधानन्यायाधीशसँग कुरा गरिरहेको छु। सोध्न मन थियो- कहाँ झर्नुहुन्छ, कहिलेबाट सेवा प्रवेश गर्नुभएको, भष्ट्राचार काण्डहरूमा कतिको दबाब आइरहेका छन्? तर हतार किन गर्नु र? मनमनै सोचेर केही बोलिनँ।
बसमा मान्छे ठेलामठेल भएकोले अरु संवाद गर्न सक्ने अवस्था थिएन। दिउँसोको गर्मी र थकानले गर्दा म बसमै निदाएछु। ब्युँझिँदा बस गौशाला कटिसकेको थियो, म झल्यास भएँ। मेरो हातमा छाता थियो तर मेरो अगाडि उभिने कृति थिइनन्।
म अक्क न बक्क भएँ। म पनि झर्ने बेला भैसकेको थियो। अब यो छाता बसमै छाडुँ या लैजाउँ? तर यसमा मेरो केही गल्ती थियो र? आफैंलाई फेरि सोधें- कृतिले छाता छोडेर गएको हुन् या सम्बन्ध जोडेर?
छाता समातेर चाबहिल ओर्लँदै पशुपति तिर फर्केर भनें-जीवनमा एक्लै हुँदा नजिकिएका सम्बन्ध पनि झरीपछि छाता छाडेझैं छाडेर नटाढिऊन्।
फेरि छातालाई हेरेर भनेँ- 'ओई! असल सम्बन्ध तिमीजस्तो हुनुपर्छ, जो आफू भिजेर अरुलाई जोगाउँछ।’
चोकमा मलाई कुरिरहेका क्षितिजसँग भेट भयो। तरकारी किनेर दुवैजना गफ गर्दै कोठातिर अघि बढियो। काठमाडौं बसेको भए पनि क्षितिज सरल स्वभावका थिए। कोठामा पुगेर चाबी खोल्नासाथ उनले थपे- 'छोरामान्छे बस्ने कोठा यस्तै हो यार, लथालिङ्ग छ।’
मैले जिस्काउँदै भनें- 'सम्हाल्ने मान्छे नभएर हो कि!’
एकछिन आराम गरेपश्चात् मेरो आँखा क्षितिजको भित्तामा राखिएको परिवारको फोटोमा गएर टक्क अडियो। अझै नजिक गएर एक-एक गरी हेरें। बीचमा रहेकी केटीलाई इंकित गर्दै सोधें, 'यो को हो क्षितिज?’
क्षितिज: मेरी बहिनी।
म: तिम्रो त दिदीहरू मात्रै छन् भनेको होइन?
क्षितिज: उम्, अंकलको छोरी हुन्। उनको आफ्नो दाजुभाइ नभएकोले तिहारमा हामीसँगै टीका लगाउँछिन्। पोहोर अफिसर पास गरेर अदालतमा जागिर गर्छिन्।
मेरो मुखबाट झट्ट नाम निस्कियो- 'कृति!’
क्षितिज: नाम नै याद रहेछ त।
'कृति! जसले अघि बसमा मलाई छाता छोडेर गएको थिइन्,' छातातिर देखाउँदै भनें- 'यो छाता उनकै हो।’
अघि बसमा घटेको घटना सबै क्षितिजलाई भनें। क्षितिजले जिस्काउँदै मतिर हेरेर भने- 'अर्काको नासो किन लिनुभएको त?’
भोलिपल्ट छाता क्षितिजको हातमा थमाउँदै उनलाई समयमै फिर्ता दिनू भनेर म बसपार्कतिर लागें। मनमा कौतूहलता रहिरह्यो, यो छाता कृतिको हातमा पुग्ला या गन्तव्य भुलेको यात्री जस्तै भएर अलपत्र कतै छाडिएला?
हुन त अप्ठ्यारोमा कसैले साथ दिदैंन क्यारे, छाता ओड्नेलाई पनि बाछिट्टाले रुझाएको हुन्छ। उनको हातमा छाता पुग्ने भरोसा मनमा थियो। पछि क्षितिजसँग सोधुँला सोच्दै अघि बढें।
अचेल जब वर्षातको समय आउँछ, त्यही यादले चिमोटेर जान्छ।