जेठको महिना भए तापनि रातिदेखि नै सिमसिम पानी परिरहेकाले बिहानपख अलि चिसो महसुस भएको थियो। त्यसैले खाटमै पट्याएर राखेको सिरक तानेर मुखसम्मै छोपेर सुतें।
एकैछिनमा श्वास फेर्न अप्ठ्यारो भएपछि सिरकलाई मुखदेखि तल झारें र मोबाइल उठाएर हल्का आवाजमा गीत बजाएँ। मम्मीले ‘कान्छा! कान्छा! चिया पाक्यो उठ्’ भनेपछि मात्र आँखा खुले। गीतको तालमा कति बेला निदाएछु पत्तै भएन।
हातमुख धोई चियाको गिलास र मोबाइल बोकी आँगनको डिलमा बसेर चियाको चुस्की लिँदै गर्दा बहिनीले सोधी- ‘अनि दाइ के छ त जापानवाली भाउजूको खबर?’
मैले मुसुक्क मुस्कुराउँदै भनें- ‘को जापानवाली अनि कसको भाउजूको कुरा गर्दै छेस्?’
‘तपाईंकी जापानवाली, मेरी हुनेवाला भाउजू,’ ऊ मुख बङ्ग्याउँदै भन्न थाली।
उसले अझै थपी- ‘भो-भो! धेरै नाटक पार्नु पर्दैन, हामीले तपाईंको साथीहरूले फेसबुकमा कमेन्ट गर्या नदेख्या हो र!’
अँ साँच्चै! मेरो फेसबुकका पोस्टको कमेन्ट बक्सहरूमा प्रायः सधैं जापानवालीको लागि होला यो पोस्ट, जापानवालीले छाडेर एक्लै गैहाली, जापान वालीको यादमा तड्पिएको छस् यस्तै-यस्तैले मात्र भरिएका हुन्थे।
तर वास्तवमा उनीहरू कुन जापानवालीको कुरा गर्दै थिए, त्यो विषयमा भने म बेखबर नै थिएँ। एक अन्जान जापानवाली मेरो साथी माझ मात्र नभएर परिवार र आफन्तहरूमाझ पनि छाउन सफल थिइन्।
खासमा म अहिलेसम्म सिंगल हुनुमा पनि उसैको हात छ। किनकि मेरो फेसबुकको कमेन्ट बक्स उसैको नामले भरिएको हुन्थ्यो त अरु कसैले मसँग बोल्ने साहस कसरी गर्न सक्थे?
तर वास्तवमा मलाई एक अन्जान व्यक्तिसँग कसरी प्रेम हुनसक्छ? प्रेम शब्द आफैमा एक शक्तिशाली शब्द हो जुन त्यति सजिलै कहाँ पाउन सकिन्छ र!
प्रेम कसैको लागि आन्तरिक शान्तिको अवस्था होला भने कसैका लागि घोर तनाव। प्रेम कसैको लागि रोमान्स मात्र हो भने कसैको लागि यौन तृप्तीको साधन। प्रेम कसैको लागि मौन अभिव्यक्ति होला भने कसैको लागि मुखर अभिव्यक्ति। तर मेरो लागि प्रेम कल्पनामा मात्र मिठो भयो।
म अनि मेरो भाग्य, हामी एकअर्कासंग न रिसाउन सक्छौं न त गुनासो गर्न नै। अब मसँग न सपना छ, न कहीँ पुग्ने गन्तव्य नै। कहाँ छु, कस्तो छु, मलाई के चाहिएको छ, को चाहिएको छ केही थाहा छैन। बस् जताततै अन्योल मात्रै छ। खासमा एक्लै हुनुमा पनि बेग्लै मज्जा हुन्छ, जतिबेला जसलाई देखे पनि आफ्नो सोच्न त पाइन्छ।
तर प्रेम गर्ने मन भने मलाई पनि नभएको चाहिँ होइन। मायामा परेपछि यस्तो हुन्छ, त्यस्तो हुन्छ भन्ने सबैकुरा मैले मेरा केही साथीहरूबाट थाहा पाएको छु। आफैंले अनुभव गर्न नपाएको मात्रै हो।
म कहिलेकाहीं आफ्नो कल्पनाकी राजकुमारीसँग मनमनै कुरा गर्दै भन्नेगर्छु- ‘प्रिय, अहिलेसम्म अनभिज्ञ नै छु तिम्रो बारेमा। कस्ती छ्यौ, कस्तो छ बानी व्यवहार?'
कहिलेकाहीं त लाग्छ अब त बेला भयो कोही त आउनु पर्ने मेरो जिन्दगीको त्यो ठाउँ भर्न भनेर। हरेक कुराको समय आउँछ भन्छन्, म पनि व्यग्र प्रतीक्षामा छु त्यसको।’
कहिलेकाहीं सम्झन्छु म तिमीलाई, कल्पना गर्छु, यस्तो उस्तो, यहाँ जाने यो गर्ने, त्यो गर्ने, यसरी प्रस्तुत हुने यो समयमा भनेर। खैर! कल्पनाको सागरमा हराएरै भए पनि खुसी भएको छु धेरै पटक तिमीलाई सम्झेर।
म मान्छे अलि लजालु र खासै धेरै नबोल्ने स्वभावको छु। हत्तपत्त नजिक हुन नसकुँला, खुल्न नसकुँला राम्रोसँग। फेरि अन्यथा चाहिँ नसोच्नू नि तिमीले! तिम्रो आफ्नोपन, तिम्रो प्रेम र तिम्रो साथले लजाउनेबाट दिक्क हुने बनाउने छु पक्कै म।
पर्खिरहेका छन् यी अंगालो तिमीलाई, कतैबाट फर्किएपछि हरेक पटक बाध्न! आँतुर छन् यी हातहरू, निर्धक्क भएर तिम्रो हात समाएर तिमीसँग हिँडडुल गर्न।
यस्तै-यस्तै कुरा सम्झेर रात कहिले बित्छ समेत पत्ता हुन्न छाड्यो आजकाल। सायद मलाई कल्पनासँगै प्रेम भयो जस्तो छ।
तर म मेरा यी सम्पूर्ण कथाव्यथा ती मेरा कोठाका चार भित्तालाई बताउन बाध्य थिएँ। किनकि म न त तिमीसँग बोल्थें, न कसैलाई बोलाउँथे नै।
अहो! मेरी कल्पनाकी राजकुमारीलाई सम्झने क्रममा मैले जापानवालीलाई त भुलि नै पो सकेछु। उनी अन्जान भएर पनि सबैमाझ लोकप्रिय भइन्। उसैका कारण मेरा साथीभाइहरूले मलाई जिस्काउने बाटो पाएका थिए।
मैले पनि त कुनै बेला कल्पनामा भात्र भए पनि प्रेमको त्यो मिठो अनुभूति प्राप्त गर्ने मौका पाएँ, त्यसका लागि भने उनलाई विषेश धन्यवाद।