घडीमा बिहानीको ७ बजेको थियो। घामको किरण झ्यालको सिसासँग युद्धमा जितेर मेरो आँखासम्म आइपुगेको थियो। म उठेर फ्रेस भै बाहिर निस्किने बित्तिकै अनिल सरको फोन आयो।
उहाँले भनेअनुसार आज बुटवल आउने भन्नुभएको क्लाइन्ट १२ तारिकमा अस्ट्रेलिया फर्किहाल्नु पर्ने भयो रे। त्यसैले मिटिङ काठमाडौंमै गर्ने निर्णय लिनु भएको रहेछ उहाँले। म आजै काठमाडौं जानुपर्ने भयो।
अनिल सरले फोन राख्नुअघि अन्तिममा भन्दै हुनुहुन्थ्यो- ‘१० बजेको टिकट काट्दिएको छु, तिमी रेडी भएर बस। म तिमीलाई भैरहवासम्म पुर्याएर फर्किन्छु।’
विनम्रता तेर्साए जसरी अर्डर दिइहाल्नु भयो, हुन्छ भन्नै पर्यो। ९ बजे उहाँ मलाई पिकअप गर्न आउनुभयो। हामी भैरहवा एयरपोर्ट तिर लम्कियौं। बुटवलको हस्पिटल लाइनदेखि जैकुटीभन्दा मुनिको बाटो चौपटै राम्रो तर शंकरनगरदेखि भैरहवासम्मको धुलाम्बेसँगै उतारचडावको बाटो, बाफ्रे निकै कठिनाइँ खपेर एयरपोर्ट पुगियो।
तर आज किन-किन मलाई प्लेन चढ्ने भन्ने सम्झिँदै भित्रै-भित्रै डरले खाइरहेको थियो। फेरि योभन्दा अघि १५-१६ पटक चढिसकेको हो। तर आज अचम्मै भैरहेको थियो। सायद पनि विगतमा घटेका घटनाका खबरहरूले चिसो पसेको हुँदो हो भन्ने पनि लाग्यो।
एयर-होस्टेस दिदीको स्वागतसँगै प्लेन चढियो। सिट बेल्ट र इमर्जेन्सी एक्जिट बताएसँगै हाम्रो यात्रा अघि बढ्यो। भैरहवाको दृश्य हेर्दाहेर्दै बादलभित्रको दृश्य हेर्न चौपट्टै माथि पुगियो। आङ सिरिंग भयो तर पनि राम्रैसँग पुगियो राजधानी।
अझै राम्रो कुरा त मिटिङ पनि सोचेको भन्दा दामी भयो। मिटिङ नयाँ बानेश्वरमा भएको थियो भने एयरपोर्ट नजिकैको ५ स्टार लजमा रूम थियो। मिटिङ सक्काएर दिउँसो ४ बजे म बानेश्वरदेखि निस्किएँ र हिँड्दै पुरानो बानेश्वरको बाटो हुँदै जान्छु सोचेर निस्किएँ।
सबै आफ्नै धुनमा मस्त थिए। चिनेको मानिस भेटिए पनि बोल्न फुर्सद नहुने। जुन बाटो पनि उत्तिकै भिड। बाइकदेखि लिएर माइक्रोसम्म, माइक्रोदेखि लिएर टयाम्पोसम्म र हिँड्दै पैदल गर्नेहरूको सर्लक्कै भिड देखेर म अचम्म परेको थिएँ।
लाग्दै थियो कि नेपालभरिका जनसंख्या यहीँ राजधानीमा पो थुप्रिएका छन् त बा। बाँकी सहरहरू शून्य छन्, भिड त यहीँ मात्रै पो छ। सोँच्दा सोँच्दै पुरानो बानेश्वर आइपुगे र दायाँतर्फ मोडिएँ। पसलहरू चियाउँदै हिँडिरहेको थिएँ।
जताततै उस्तै भिड थियो तर एकजना पनि ग्राहक नभएको पसल थियो क्यानल हाउस। मै गएर भोर्दिनु पर्छ क्या, किन्ने त केही हैन तर मित्र बनाएर फर्किए भने पनि, भोलि-भोलि राजधानी आउँदालाई साथी त हुन्छन् भनेर तिक्डम लगाएँ।
भित्र जानेबित्तिकै सानो कालो-सेतो टाटा परेको कुकुरले पुच्छर हल्लाउँदै हेरेको हेर्यै जो गर्यो। लपक्कै आएर मेरो आडैमा बस्यो। बाँकी पनि धेरै कुकुरहरू थिएँ तर उनीहरू र राजधानीका मानिसमा केही भिन्नता थिएन। सबै आफ्नै धुनमा मस्त थिए।
त्यो कुकुरले गरेको स्नेह र त्यसको प्रकृतिक बनावटीले मलाई धेरै नै लोभ्याएको थियो। तर के गर्नु मन भएर मात्र साहुजीले नदिँदा रहेछन्, पैसै चाहिने।
‘हजुरलाई त आफ्नै घरको परिवार झैँ गरेको छ त’ भन्दै दाजुले मोह बाँड हानिहाले। उनको शब्दमा घाइते हुँदै मैले पनि ‘दाइ कति पर्छ यसलाई?’ भनेर सोधिहालेँ।
उनले पनि विचरा लिग्नै आए झैँ गरेर १२ हजार भन्दिहाले। अब कुकुरले त्यति धेरै माया देखाएपछि साहुजीले मोहको बाँडले बेस्मारी जो हिर्काउन थाले। नाई भन्न सकिनँ र पर्स छामें। जम्मा ७ हजार ३२० मात्रै थियो।
दाजु यति छ मिलाएर दिनुहुन्छ भने लैजाने भनेको ‘हुँदैन भाइ, ११ सम्म मिलाउन सक्छु त्यहाँभन्दा त एक रुपैयाँ पनि घटाउन सक्दिनँ। फेरि यो कुकुर सानोतिनो कुकुर नै हैन के भाइ। हेर्दै बाघजस्तो, उस्तै जागरिलो पनि। त्यसैले यो रेटमा अन्त पाउनु भयो भने मैले पसल जो बन्द गरेर बस्ने भएँ लु।’
साहुजीले फुस्किनै नमिल्ने गरी शब्दले घेरा लगाइदिइ हाले तर गोजीमा दाम नभएपछि एकैछिन सोचेर किनेरै जित्ने ढिपी गरियो आफैसँग। किनेपछि किन्यो-किन्यो।
घरमा मम्मीले ‘दिउँसभर म एक्लै हुन्छु, मसँग गफ गर्न भए पनि बिहे गरेर बुहारी भित्राइहाल्’ भनेर दिनहुँ कराउने गर्नुहुन्थ्यो। अब आमालाई गफ गर्नलाई भनेर मात्र बुहारी त किन पो भित्राइदिनु र? अनि मैले रमेश सरलाई फोन गरें र सापटी स्वरूप ७ हजार मागेँ। अनलाइन पैसा ट्रान्सफर गरिदिनु भयो र म त्यहाँबाट कुकुर लिएर होटलतर्फ लागें।
त्यसको अर्को दिन म बुटवल पुगेँ। घरमा नपुग्दै चोकबाट ‘घरमा कसैलाई भित्राउन लागेको छु, गेटमा टीका-अक्षता तयार गरेर बस्नु होला है’ भनेर मम्मीलाई फोन हानेँ।
मम्मीले हाँस्दै भन्नुभयो- ‘के भन्छ यो, कहाँ आइपुगिस्?’
मैले पनि हाँस्दै भनें, ‘हामी यहीँ चोकमा आइपुग्यौं मम्मी।’
फोन राख्नुभयो। घरअगाडि पुग्दा मम्मी, बाबा, माथितिर भाडामा बस्ने दिनेश दाइ, उर्मिला भाउजू, भुइँ तलामा भाडामा बस्ने शिव अंकल, कल्पना अन्टी सबै आउनु भएको थियो। ट्याक्सी आँगनमा टक्क रोकियो।
गाडीबाट मभन्दा अगाडि प्लुटो झर्यो। ए, सरी है! भन्नै बिर्सेको, मैले कुकुरको नाम प्लुटो राख्देको थिएँ बाटोमा आउँदा।
झर्ने बित्तिकै प्लुटोले सबैलाई सुँघ्न थाल्यो। गल्लीका केटाकेटीहरू पनि भिड भएको देखेर हेर्न आएका थिए। प्लुटो सुँघ्दै आएको देखेर डराउँदै भागे, मम्मी तर्किनु भयो र मछेउ आउनु भयो। ट्याक्सीभित्र हेर्नुभयो। मानौं कि अझै कोही आउँन बाँकी नै छ।
‘खै त? अर्को को आएको छ भन्थिस् त!’
मैले पनि हाँसेर ‘ऊ के त प्लुटो, हाम्रो घरको नयाँ सदस्य’ भन्दै मम्मीलाई गिजाउँदै अँगालो हालें।
मम्मी पनि ढुक्कको सास फेरेझैँ मुसुक्क हाँस्नु भयो।
मैले कुरा थपें, ‘अब यतिन्जेल दुःख दिएकै हो, यो चाहियो त्यो चाइयो भनेर। बुहारी खोज्ने दुःख पनि हजुरहरूलाई जो दिने हुँ के, नआत्तिनू।’
प्लुटोको पहिलो दिन भएर पनि धेरै खुसी देखिन्थ्यो। हामीले एकअर्काको फोटो खिच्यौँ। मम्मी खासै खुसी देखिनु भएको थिएन आज, आफूले घरमा जनावर पाल्न रुचाउनु हुँदैनथ्यो। किनकी एक्लै भयो भने रुन्छन् भन्नुहुन्थ्यो अनि जनावर रोए भने अलक्षिणा लाग्छ रे।
समयसँगै प्लुटो हाम्रो घरको प्यारो भएको थियो। मम्मीको त झन् सबैभन्दा मिल्ने साथी। कुर्सीमा बसेर तरकारी काट्दा मम्मीलाई एकोहोरो हेरेर त्यही नजिकै बस्थ्यो अनि मम्मी तरकारी पकाउन बिजी हुनु भएपछि बाहिर आएर बस्थ्यो।
आफू एक्लो बस्न नरुचाउने ऊ, अरू एक्लो बसेको पनि देख्न रुचाउँदैन थियो। उसको प्रवृत्तिले सबैलाई मोहित जो बनाएको थियो। बाबासँग सधैं मर्निङवाक जान्थ्यो। सबैले उसैलाई हेर्थे रे अझै त चिनेका मानिसले बिस्कुट किनेर दिन्थेँ, मक्ख पर्दै खान्थ्यो भन्नुहुन्थ्यो बाबा।
अलि अस्तीकै घटना, बिहान ७ बजेको हुँदो हो म कोठामा सुतिरहेको थिएँ। ऊ विस्तारै आयो र मेरो अगाडि एकछिन उभियो। मैले सानो आँखा बनाएर हेर्दै थिएँ, बिस्तरामाथि आयो र मलाई खुट्टाले हान्न थाल्यो। मैले पनि रमाइलो मान्दै नचली सुतेजस्तै गरें।
ऊ भुक्यो तर पनि म उठिनँ। ऊ विस्तारै झर्यो र मम्मीछेउ गएर भुक्न थाल्यो। मम्मीको कपडा तानेर लेरायो र मछेउ आएर फेरि खुट्टाले हान्न थाल्यो, भुक्यो तर पनि म उठिनँ। मम्मीलाई हेर्दै भुक्यो। मम्मीले ‘दाइ उठेन भनेर पीर मानेछ चाँडो उठ्’ भन्नुभयो।
म विस्तारै उठे जस्तो गरें। त्योपछि त ऊ मलाई झम्टिँदै बेस्मारी भुक्न थाल्यो। उसका आँखामा प्रेमका आँसु थिए तर मेरो ओठमा उसको व्यवहार देखेर सन्तुष्टको मुस्कान। यदि हाम्रो भाषा बोल्न सक्थ्यो भने रिसाउँदै ‘सधैं यस्तै गर्छ यसले मम्मी’ भन्दै कुरा लगाउन जान्थ्यो होला बच्चाले झैँ। उसलाई अँगालोमा राखेँ र गिजाउँदै काउबुडी लगाइदिन थालेँ।
समय बित्दै गयो, प्लुटोलाई घरमा लेराएको पनि १० वर्ष पूरा भएछ। मसँगै प्लुटो पनि बुढो हुँदै गयो। खाना खान कम गर्दै गएको थियो। मम्मी आत्तिनु भयो र उसलाई जँचाउन लैजानु भयो। उसलाई गम्भीर रोग लागेको रहेछ।
मम्मीले उसलाई नखुवाई आफू पनि भोकै बस्ने गर्न थाल्नुभयो। दुवैजनाको त्यो अवस्थाले मलाई पीर परिरहेको थियो। तर केही गर्दा नि उसको रोग सन्चो भएन र आफू हाँस्दै अरुलाई रुवाएर सदाका लागि परमधाम गयो प्लुटो।
घरमा त्यसको शोक सबैलाई भयो। अझै धेरै मम्मीलाई भयो। घर कुरुवा, मम्मीको गाली सुन्ने, माया पाउने, तरकारीमा नुन लागेको छ वा छैन भनेर मुन्टो हल्लाएर इसारा गर्ने मम्मीको सानो छोरो प्लुटो मम्मीलाई छोडेर गयो।
बाबाको मर्निङ वाल्क जाने साथी गयो। बाबाले टिभिको रिमोट नभेटाउँदा रिमोट खोजेर दिने अनि सँगै बाबाको काखमा बसेर फिल्म हेर्दै फाइट सिन आउँदा बाबाको काखमा मुन्टो लुकाउने प्यारो मित्र छोडेर गयो।
ऊबेला जनावर एक्लै भयो भने रुन्छ, पाल्न हुन्न भन्ने मम्मी आज उसको शोकमा आफू एक्लो भएको महसुस गरेर रुनु भएको छ। उसको याद एक-एक गर्दै मेरो चारैतर्फ दौडिएको छ। सोफा, बेड, च्यानल गेट, किचन कोठाहरूमा। यादका लागि उसका भुत्लाहरू मात्रै थिएँ तर ऊ थिएन।
रातिको ११:३९ भएछ तर पनि मलाई निन्द्रा लागेको छैन। रातको सन्नाटासँगै बाहिर डुल्ने कुकुरहरूले ऊ यहाँ नभए पनि हामी सबैसँग छ भन्ने प्रमाण दिइरहेका थिए।