आमाले छोरो बेचिन्
श्रीमतीले श्रीमान् बेचिन्
ऊ आफैंले राष्ट्रियता बेच्यो
देशले नैतिकता बेच्यो
अनि बल्ल किनिएको हो
डेढ लाखको आइफोन
अनि बल्ल खिचिएको हो
ह्वाइटहाउस अगाडि क्यान्डिड सेल्फी
अनि बल्ल जोडिएको हो
पोखराको मुटुमै घडेरी
अहिले हाइसुखै छ सबैमा
बेचेर आत्मसम्मान
भित्राएकै छ छोराले पैसा
पाएकै छ देशले रेमिट्यान्स
काढेरै साहुसँग ऋण
लागेकै छन् छोरी अस्ट्रेलियातिर
कोही मेक्सिकोको जंगलमा हिँड्दा हिँड्दै
रातमै बेचिए
कोही शरणार्थी बन्न पाउने आशमै बेचिए
कोही कोरियाका कृषि फार्महरूमा बेचिए
कोही जापान र सिड्नीमा
क्लिनिङको कामहरूमा बेचिए
घर-घरमा उत्पादन भएकै छन्
विदेशीलाई योग्य कामदार
देशनै रित्तिने गरी
बढेकै छ वैदेशिक पलायन
जब देशमा मान्छे नै सकिन्छन्
बाबुलाई खाडीमा बेचेर किनेको आइफोनले
छोरीहरू कोसँग फोटो खिचाउलान्?
श्रीमानलाई लण्डनमा बेचेर किनेको गहनाहरू
श्रीमतीले कसकसलाई देखाउलान्?
हरेक दसैंमा घर सम्झेर फर्किने छोराले
म त आउदिनँ भनेर
परिवार नै उतै बोलाए भने
हरेक तीजमा हाँस्दै माइत आउने छोरीले
म त भ्याउदिनँ भनेर
विदेशमै हराए भने
हाम्रो संस्कृति रहला कि नरहला
हाम्रो परम्परा रहला कि नरहला
माझिगाउँको ठूलो चौरमा
मेला लाउला कि नलाउला
चचहुइ गर्दै पिङ खेल्न
पाउला कि नपाउला
अहिले पो सन्तान छन्
बेचौला उनैलाई
युरोप र अमेरिकाको सपना देखाउँदै
कुनै दिन सन्तान सकिएलान्
भएकाहरूमा पनि बल सकिएला
बेच्नलाई सन्तान सकिएको दिन
ए सरकार,
मुखमा गाँस रहला कि नरहला
बस्ने बास रहला कि नरहला
बाच्ने आश रहला कि नरहला
अझ भनौं यो देश रहला कि नरहला?