पुतलीसडक, बागबजार, माइतीघर
जहाँ पनि पुगुँ अचेल
हर एक सटर नाघेर
प्रत्येक घरहरूमा लेखिएका छन्-
युरोप जाने बाटो
कन्नेडा जाने बाटो
औँरिका जाने बाटो
प्रदेश नम्बर ८ जाने बाटो
तर म भौँतारिरहेछु यही गल्ली महोल्लामा
मेरा सपनाहरू पनि अचेल
आकाशमाथि नै हेरिरहन्छ
चील, गिद्ध अनि हवाईजहाज
देखेर उडिरहन्छ बादलहरूमा
मैले टेकेको पैतालाले
कतिखेर छोडुँ भन्छ यो भुइँहरू
अनायाश किन दौडिरहन्छ यो भागदौडमा
कहिले-कहिले त
थकाइ मार्दिउँ जस्तो नि लाग्छ
सपना सेलाइदिउँ जस्तो नि लाग्छ
भयो म यहीँ सीमित रहन्छु
रुखोसुखोमै जीवित रहन्छु
जसोतसो बाँचिरहन्छु एकसरो जिन्दगी
ए कोही यसो देखाइदेऊ त मलाई
नेपाल जाने बाटो
ए कोही यसो देखाइदेऊ त मलाई
नेपाल जाने बाटो।