बगरमा उकासेका ढुंगाहरू
हरेक वर्ष
साउने भेल आएर बगाइरह्यो
तर मेरो बाले कहिल्यै हिम्मत हार्नुभएन
खोलामा बाढी आइरह्यो
बाले ढुंगा उकासिरहनु भयो
खोला बासँग डराएन
बा खोलासँग डराउनुभएन
मेरो बाल्यपन
बा र खोलाको युद्ध हेर्दै बितिरह्यो
मेरा स्कुले दिनहरूमा
म मनमनै बाको परीक्षा लिन्थें
जहाँ बनाइदिन्थें
एउटा मनोकाल्पनिक मार्कशिट
जहाँ बा कहिल्यै पास हुँदैनथे
हरेक वर्ष
त्यही मार्कशिट आफैंभित्र बोकेर
म बा सँगसँगै हिँडें, बासँगसँगै डुलें
स्कुलको वार्षित्कोत्सव हुँदा
मेरा बा चप्पल लगाएरै कार्यक्रममा आउँदा
बाले नसुन्ने गरी
मैले मनमनै बालाई खुब गाली गरें
मलाई
मेरा बा र दोकाने साहुको लोभीपन
उस्तै-उस्तै लाग्यो
बजार हिँडेको दिन
वरिपरिका मानिसले समोसा खाँदा
मलाई निमकिन किनिदिएर
गाउँसम्म पुग्ने बस नचढी
मेरो हात समाएर
बगरैबगर डोहोराएर लैजाँदा
मलाई बाको हातले पोलेजस्तो भयो
निमोठेजस्तो भयो
यस्तो लाग्यो
खोलासँग रिसाएका बा
खोलालाई देखाउनकै लागि
मेरो दुःख नबुझेर
बगरैबगर हिँडिरहेका छन्
र मुस्कुराइरहेका छन् नक्कली हाँसोहरू
मलाई मेरा बा दुष्ट लाग्यो
सानो हुँदा
मलाई बा बाजस्तै लागेन
स्वार्थ, लोभीपना, दुष्टता भरिएजस्तो लाग्यो
एक कोसो केरा नपाएको दिन बाको बोली तितो लाग्यो
एउटा खेलौना नपाएको रात बाको स्पर्श खल्लो लाग्यो
मैले बाभित्र अभाव देखें, गरिबी देखें
मैले बाभित्र कमजोरी देखें, खराबी देखें
आज म बुझ्ने भएपछि
बाभित्र आफूलाई हैन
आफूभित्र बा राखेर हेर्छु
म हरेक दिन बाको हाँसो सक्कली लाग्छ
मलाई हरेक पल बाको प्रेम साँचो लाग्छ
आज
आफ्नो भोकसँग जुध्न नजान्दा
पटक-पटक मेरा बालाई सम्झिरहन्छु
कुन धैर्यताले
बा जिन्दगीसँग जुधिरहे होलान्?
म छक्क पर्दै सोचिरहन्छु
नढाँटी भन्ने हो भने
मलाई बा बाजस्तै लाग्न थालेका छन्
म मेरा बाभित्र गहिरिएर नियाल्छु
बाभित्र स्वार्थ भेटिँदैन, दुष्टता भेटिँदैन
लाग्छ, बा पहिले पनि आजजस्तै थिए
म मात्र पहिले पहिलेजस्तै थिएँ
अहिले म अहिलेजस्तै भएको छु
मलाई मेरा बा बाजस्तै लाग्न थालेको छ
बजार जाँदा
आफूलाई मनपरेको सामान किन्न नसकेको रात
म मेरो बाल्यपनको एक कोसो केरा सम्झिन्छु
र गहिरिएर स्मृतिमा नियाल्छु
केरा किन्न खल्ती छामिरहेका मेरा बाको अनुहार
मेरा बालाई
म आफूजस्तै विवश देख्छु, मायालाग्दो देख्छु
हो बा
आज मलाई तपाईं मेरो बाजस्तै लाग्छ
तपाईंभित्र म कुनै स्वार्थ भेट्दिनँ, लोभ भेट्दिनँ
भेट्छु त कैयौं विवशता र संघर्षका कथाहरू
बा, मैले बुझिरहेको छु
अभावभन्दा अवस्था दुष्ट हुँदोरहेछ
गरिबीभन्दा दुष्ट विवशता हुँदोरहेछ
हो बा, आज म तपाईंलाई निर्दोष देख्छु
आज म तपाईंभित्र अथाह प्रेम भेट्छु
म तपाईंलाई सम्झिँदा सम्झिँदै आफैंलाई बिर्सिन्छु
म तपाईंलाई सम्झिँदा सम्झिँदै आफैंलाई सम्झिन्छु
हो बा, आजकल तपाईं मलाई मेरा बाजस्तै लाग्छ।