कानमा मुन्द्री र नाकमा बुलाकी लाउने
चाउरी परेको गालामा थोते मुस्कान छर्ने
कतै देख्यौ भने सम्झिनू
उनी मेरी आमा हुन्
सपनामा बाँच्छिन्
म उनीलाई सोध्छु
अनि त्यसपछि के भयो आमा?
खुइयाऽऽ सुस्केरा लाउँदै उनी भन्छिन्-
घर मुन्तिरको आरुको बोट बुढो भयो
मजस्तै
ढुंगे धाराको मूल सुक्यो
मेरो जीउने आशाजस्तै
अब गाउँमा कोही पनि छैनन्
केही पनि छैनन्
छन् त केवल
सुकेका पँधेरा
बुढो चौतारो
बर बिनाको पिपल
मान्छे नबस्ने पाटी
भत्किएको टाँडे धर
बाँझो खेतबारी
पहिरो गएको पहाड
ग्राहक पर्खिरहेको पसल
र
छुटेका अनुहारहरू
मलाई अझै याद छ कुशु
त जन्मिएको त्यो रात
टुकीमा आएर छिछिमिरा सति गएका थिए
त्यहीछेउ पिपिलिकाको ताँती मलामी गएका थिए
ती अतीतका डोबहरू यथावत् छन्
सुनाखरी, पारिजात र मालतीका बोट
यथावत् छन्
गोधुली साँझमा न्याउली अझै कराउँछे
रेडियो नेपालले ५ बजे उही धुन बजाउँछ
तर
लालीगुराँस फुल्ने पाखामा आजकाल
गाडीको धुलो फुल्छ
पिपलबोटको सल्लाघारी नबुझिने भाषामा
गीत गाउँछ
तेरा बा पनि बुढो भएका छन्
फालेलुगं डाँडा काट्ने रहर मार्दै आएका छन्
सायद उनले धेरै कुरा बिर्सिँदै आएका छन्
दिनभर श्लोक पढ्छन् रातभर छुटेका अनुहार सम्झिन्छन्
कुशु, तेरा बालाई मर्नुअघि छुटेका अनुहार हेर्न मन छ
कहाँ भेटिन्छन् यी छुटेर बसाइँ सरेका अनुहार
तँलाई थाहा छ?
आमा,
यी छुटेर गएका अनुहार
सायद सम्झनामा भेटिन्छन्
त्यसैले आमा,
एकादेशको कथा जस्तो मेरो गाउँ
धमिलो स्मृतिको काबेली खोला
घर मुन्तिरको आरुको स्वाद
आमा
फेरि एकचोटि अनुभव गर्न मन छ
अन्तिम पल्ट
उही पुरानो गल्लीमा बालापनको याद लिएर
फर्किन मन छ
परदेशी भएर आफ्नै घरमा
आमा
एक रात बास बस्न मन छ।