म स्वघोषित साहित्यकार
घोत्लिएर कलम घोट्दा घोट्दै
राम्रै लेख्न थालेछु जस्तो लाग्न थाल्छ
मेरा केही रचनाहरू छापिन थाल्छ
मलाई वरिपरिकाले चिन्न थाल्छन्
म प्वाँक्किन्छु, मेरो दम्भ बढ्न थाल्छ
आफूलाई म देवकोटाकै हाराहारीको ठान्न पुग्छु
म कागज र कलम लिएर घोत्लिन थाल्छु
अनि देवकोटाको कुन्जिनी र मुनामदन
बराबरीको कृति कथ्ने कोसिस गर्छु
तर अफसोच, मेरा प्रयासहरू व्यर्थ हुन्छन्
अनि मेरो रचना रंग न ढंगको पुङ्गमाङ्गे बन्छ
कुथुन्ग्री कोरल्न खोज्दा कोरलिन सक्दैन
कविता कोर्न खोज्दा कोरिन मान्दैन
लेख लेख्न खोज्दा लेखिन खोज्दैन
मनको अँगेनोमाथि रन्किएको हाँडीबाट
काव्यका मकै दानाहरू
ठेट्निएर भुइँभरि छरिन थाल्छन्
आधा भरिएको दिमागी घ्याम्पोबाट
आख्यानका जलबिन्दुहरू
छचल्किएर यत्रतत्र पोखिन थाल्छन्
मथिंगल मन्थनको उफानी टोलङ्गबाट
साहित्यका दही छिटाहरू
छिचिमिरा झैं उड्न थाल्छन्
विविध देवकोटीय कृतिका रसस्वादन गर्दै जाँदा
अहमतावश मद्वारा नगण्य दरिएका
असाधारण देवकोटाको प्रतिभालाई ज्ञात गर्न पुग्छु
उनका काव्यिक शैली र प्रतिभा देखेर
म नमस्तक हुन्छु देवकोटाप्रति
अनि म एउटा भुइँको थुम्कोले आफूलाई
सगरमाथा झैं प्रतापी देवकोटासँग
दाँज्ने दुस्साहस गर्न पुगेछु
के आँक्न सक्थें र म छुसीले
उनको साहित्यिक उचाइलाई
के नाप्न सक्थें र म तुच्छले
उनका कल्पनाका गहिराइलाई
के छेक्न सक्थें म नाथेले
उनका तेजस्वी भावगंगालाई
के बुझ्न सक्थें र म अभिमानीले
ती नवयुगका प्रणेतालाई
के खन्न सक्थेंम निर्बलले
ती कल्पशक्तिका खानीलाई
डुब्दै जाँदा काव्यसागरमा
भेटें काव्यशृङ्गी देवकोटालाई
रसको कुण्डमा डुबुल्की मार्दा
चिनें मैले शब्दभण्डारीलाई
ती बहु-विधाका ज्ञाता पहिल्याउँदा
मानें मैले ती भावनाका भकारीलाई
देवकोटीय कृतिहरूको गुदीपान गर्दा मलाई
चिरनिन्द्राबाट ब्युझिएको झैं आभास हुन्छ
देवकोटे गोलीरुपी शब्दका बौछार लागेर
उनकै पागल कविताको पात्र हुन मन लाग्छ
महाकविको मुनामदन र कुन्जिनी पढ्दा
आनन्दको महासागरमा तैरिए झैं लाग्छ
ती अद्भुत छन्दशिल्पीका काव्यपान गर्दा
सुलोचना र सकुन्तलासँग लुकामारी खेल्न मन लाग्छ
उनका चम्पा र भिखारी कृतिसँग रम्दा
देवकोटासित कल्पनाशक्तिको भिख माग्न मन लाग्छ
ती साहित्यिक आकाशका चम्किला तारालाई
धर्तीबाट उफ्रिएर छुन मन लाग्छ
ती अनुपम युगपुरुष महाकवि देवकोटालाई
शब्दाञ्जलीले सुशोभित गर्न मन लाग्छ।