‘पहिरो खस्न सक्छ, स्पीड बढा।’
हाम्रो बाटोको नियति। साथीले कारको स्पीड बढायो। तैपनि सोचे जस्तो भएन। पहिरो आयो। गाडीहरू रोकिए।
स्वभावतः हामी पनि रोकियौँ। समय बिताउनु थियो। साहुनीको पसल नजिकै थियो। त्यतै लागियो।
साहुनी किन खोजेको भन्न पनि मिल्छ। तर मान्छेले खोज्छ। तितो हो, तर सत्य पनि हो। बाटो खुल्ने ठेगान छैन। समय जो बिताउनु थियो। शंका त जे गरे पनि हुन्छ!
साहुनीलाई फुर्सद छैन। दूध, चाउचाउ, पानी सकिसकेको छ। साहुनी हिस्सी परेकी छे। सारीको सप्को चोली छोपेर टाउकोतिर राख्नु पर्ने। त्यसो गरेकी छैन। घुमाएर कम्मरमा घुसाएकी छे। त्यो बाहिर बसेर हेर्नेलाई मात्र मतलबको कुरा होला। साहुनीलाई छैन।
उसलाई भ्याइ नभ्याइ छ- कालो चिया, लोकल, बियर।
बाटो खुलेपछि फेरि शान्त हुन्छ त्यहाँ। बाटो बन्द भएकोले चाडबाड जस्तै छ। चिया दिने बेला ग्राहकलाई हेरेर आधा मुस्काउँछे। पूरै मुस्काउन त फुर्सद पनि हुनुपर्यो नि! बानी परेकी छे। स्वतः मुस्काउँछे, फेरि अर्कोतिर लाग्छे।
धेरैले उसलाई त्यस्तो ठाँउमा पसल नगर पनि भनेका रे। बियर लागेका बेला हो कि साँच्चै माया लागेर थाहा छैन, उसैले भनेकी। तर उसलाई त्यस्तो कुनै भाव भएजस्तो उसको शारीरिक हाउभाउले देखाउँदैन।
‘पहिरोले लाँदैन त साहुनी?’
नलान्जेल लाँदैन, लगेपछि लगिहाल्यो। सर पनि!’
ऊ बिछट्ट फरासिली छे। नेतृत्व विकासको तालिम पनि लिएकी छैन। आठ कक्षा पढेर मायासँग भागेकी। अहिले त उसको मायाले छाडेको पनि दशक भैसक्यो। तर कसैले चटक्क छोडेकी जस्ती देखिन्न। न अनुहारमा त्यो झल्कन्छ, न हाउभाउमा। उसको प्रतिरोध क्षमतालाई त मान्नै पर्छ।
मान्छेहरू ओशो जान्छन्, विपश्यना जान्छन्। तैपनि सोचेजति व्यक्तित्वमा त्यति निखार ल्याउन सक्दैनन्। जति बिना ध्यान साहुनीमा छ, निख्खर छे। कर्म नै पूजा छ उसका लागि। कहिलेकाहीँ मनकामना जान्छे रे।
‘के माग्यौ त?’
बोल्दिन। यसो अनुहार हेरेर मुस्काउँछे।
‘के माग्नु नि! रमाइलोको लागि जान्छु। मागेर पाइन्छ र?’
पढेकी आठ कक्षा, उत्तर त विश्वविद्यालयको प्रोफेसर जस्तो दिन्छे।
‘यस्ती भर्भराउँदी छ्यौ। किन घरबार नबसाको?’ साथीले जिज्ञासा राख्यो।
‘नबुझ्दै सानैमा बसाको। अब त उही मायाले आँखा रसाको,’ पद्यमै उत्तर दिई।
माया पुग्यो रे। अब सितिमिती कसैलाई विश्वास गर्दिन। ऊसँगै भागेका तीन जना कतै भारततिर बेचिए रे। उसले त्यो चाल पाएपछि भागेकी रे। अझै पनि उनीहरूको पत्तो छैन रे।
‘कसैको फेरि माया लागेन त?’
‘धेरैले माया गर्न खोज्छन्, बियर लागुन्जेल। बाटो खुल्छ, हराउँछन्। फेरि भेट हुन पहिरो खस्नु पर्छ। त्यस्तो माया पनि कसैले लगाउँछ? काम गर्यो, खायो। आफैंले आफैंलाई माया गर्यो, बस्यो,’ फिलोसफर जस्तो कुरा गर्छे।
‘यसपालि कति पटक पहिरो खस्यो त?’
‘त्यस्तै दर्जन पुग्यो होला। हिउँदमा त धुले पहिरो हो। आक्कलझुक्कल मात्र हो। बर्खामा यस्तै हो।’
कोही-कोही त पहिरो नझर्दा पनि पस्छन्। माया पनि जताउँछन् रे- ‘एकजना त साँच्चिकै माया गर्थ्यो कि जस्तो लागेको थियो। तर विश्वास गरिनँ, पुरानो सम्झेर। गुरुले सिकाएर परीक्षा लिन्छ। समयले परीक्षा लिएर सिकाउँछ। मलाई त समयले सिकाको। पछिल्लो दीगो हुँदो रहेछ।’
एक्लै बस्न डर लाग्दैन त?
‘डर त मन न हो! मनमा डर हराएपछि पहरा, छहराले तर्साँउदैन। अँध्यारोले थर्काँउदैन। टाढा जानु छ भने एक्लै हिँड्नु पर्छ। एक्लै हिँड्दा जस्तो मजा अरु केही हुदैन।’
आठ कक्षा पासले पनि यति धेरै कसरी जानेकी?
‘अघि नै भनेँ नि, समयले सिकाको भनेर। चाडै बिर्सनु हुँदोरहेछ। बुढो हुनु भयो कि क्या हो?’ घरीघरी जिस्कन पनि भ्याउँछे।
हैन, मेरी छोरी त घरभित्रै पनि एक्लै भए डराउँछे। तिमी त्यसो भन्छ्यौ?
‘तपाईंले डरमा हुर्काउनु भयो होला। त्यसैले त्यस्ती भएकी। हेर्नुस् न मलाई। न भिरदेखि डर लाग्छ, न तीरदेखि। माथि तारे भिर छ। तल मर्स्याङ्दीको तीर। कसैको पनि भरोसा छैन।
‘घर पनि छैन दाइ मेरो। डर पनि लाग्दैन कसैको’ गीत सुन्नु भएको छ? मलाई त्यो मनपर्छ। मैंलाई देखेर लेखे जस्तो लाग्छ। लेख्न पनि कत्ति जानेका है!’
मेरो सहमति खोज्छे। घर पुगेपछि भिरकी साहुनी सम्झेँ। उसलाई त खासै केही फरक परेको छैन। भिर सम्झेर मै सिरिंग भएँ।