रात विस्तारै सकिँदैछ, अब सूर्य पनि कर्ममा जानुपर्छ भनेर नित्यकर्ममा निस्कने कोसिसमा छ। जूनले झिसमिसेमै आजको आफ्नो ड्युटी सकिएको घोषणा अघि नै सूर्यलाई पठाइसक्यो।
हिजो दिउँसोको बेमौसमीले सशंकित सूर्यले आजको दिनको पहिलो प्रहर आफ्नो ठाउँमा बादललाई पठाएर सुरुआत गर्ने कि भन्ने ठानेसँगै बादलहरू बिहानै आकाशका ड्युटीमा खटिएका छन्। बादलको स्वागतमा बिजुलीहरू बेलाबेला चम्किँदै छन्।
म भने अझै बिस्तरामै छु। झ्यालबाट चिसो हावा छिर्दैछ। म सिरकलाई शरीर छोपिने गरी सारेर यो मौसमको मजा लिने कोसिसमा छु।
सिरक पनि बडो बेइमानी छ भन्या, शरीर पूरै चिसै छ पैतला तातिसक्यो। हत्तेरिका! पैतला त सिरक बाहिर नै ठिक। घरका मान्छे अघि नै उठेर बाझ्नमा उत्रिसके।
उफ! यो घरमा शान्ति चाहिँ कहिले हुन्छ? बिहान उठ्यो सधैंका उस्तै कुरा, भजन गाएर बस्ने उमेरमा सवालजवाफ मात्र चल्छ। एकाबिहानै त नबाझ्नु नि हौ, लक्ष्मी आउने बेलामा त भगवानको भक्तिभावमा लिप्त हुनू, कति सम्झाउनू!
आफ्नो त आज शनिबार मज्जाले सुतौं भन्ने हुन्छ। बल्लतल्ल आउँछ यो एउटा दिन, त्यही पनि बिहानै आँखा खुल्दिन्छ। यो आखाँलाई पनि किन जान्ने भएर यति छिटो खुल्नुपर्ने हो? थपक्क निदाए हुन्छ त दश बजेसम्म।
पैताला बिघ्न तात्यो, पानीको लेप लगाउन पर्ने जस्तो। आ होस, जागे पनि बिस्तराबाट त उठ्दिनँ। बरु एकछिन सुत्छु। निदाइ पो हाल्छु कि।
टिङ्ग मोबाइल बज्छ।
कसले म्यासेज गर्यो फेरि? एकछिन मोबाइल नचलाई बस्न कति गाह्रो हुने हो। आँखा खुल्नासाथ मोबाइलको लक खोलिहाल्नु पर्ने, हुन त संसारका सबै मान्छे यस्तै होलान् नि।
छ्या! म्यासेजको नाममा फेरि ग्रुप म्यासेज बाहेक केही आउँदैन। ग्रुप पनि के-के हुन्, टोल सुधारदेखि देश सुधारौंसम्मका। घरको छुट्टै ग्रुप, परको छुट्टै ग्रुप, एसएलसी सँगै दिएका साथीदेखि काम गर्ने ठाउँका कर्मचारीसम्मका छन्। आधाआधी त स्पाममै लगेर राख्देको छु।
एकाबिहानै ग्रुपमा बोल्न मन कसलाई लाग्छ? सायद यिनीहरू वास्तविक जीवनमा साँच्चै एक्लो छन् होला। नभए त साथी भाइहरूलाई बोलाएर चोकमा चियाको चुस्कीसँगै उताका, यताका, देशका, नेताका सबैको चर्चा सकाएर यो देशमा केही गर्न सकिन्न भन्ने निष्कर्ष निकालेर हिँड्नुपर्ने।
हो, यी एकाबिहानै ग्रुपमा बोल्न आउनेहरू त साँच्चिकै एक्ला नै छन्। ग्रुपलाई चलायमान राख्ने अघोषित बेतलबी ड्युटी निभाइरहेका छन्।
मोबाइल त राख्छु, एकछिन सुत्छु। बाहिरबाट हल्लाखल्ला आएजस्तो सुनिन्छ।
ओहो! बालाई के भयो फेरि? यो घरको कुरा मैले कहिले बुझ्न सक्दिनँ। सामान्यभन्दा सामान्य कुरामा दुई अढाई घण्टा कसरी बहस गर्ने भन्ने कुरा कसैले यहाँ आएर सिकोस्।
मेरो त बासँग बन्दै बन्दैन। पुस्तान्तर भएर हो कि? या हामी दुई जनाले एकअर्काको ठाउँमा बसेर एकएर्कालाई बुझ्ने कोसिस नगरेर हो? कुरा प्रायः हुँदै हुँदैन, भयो भने सवालजवाफ मात्र। हुन त मान्छे बुढो भएपछि सानो-सानो कुरामा पनि निहुँ खोज्छन् भन्छन्। उमेर त हाम्रा बाको पनि पेन्सन पकाउने हुन लागिसक्यो नि।
हाम्रा बा साहसी त हुन्, आफूलाई भित्रभित्र के-के कुराले पिरोल्या होला, कत्ति देखाउँदैनन्। पीडा दबाउन कसैले आफ्नो बा'बाट सिकोस्।
ती बचपनका स्कुलका दिन क्या गज्जबका हुन्थे। स्कुलको छुट्टी घण्टीले कक्षा कोठाबाट जहाजै छुट्ला जस्तो गरी दौडिन्थ्यौं, मोटर नचल्ने तर भन्नको लागि मोटरबाटोको फेरो समाएर दौडिँदै आपको चौतारोमा पुगेर झोला बिसाइन्थ्यो र सुरु हुन्थ्यो कस्को बा कस्तो?
‘हाम्रो बाले मलाई यो किन्दिनु भयो,’ शिवे गज्जक्क हुँदै बोल्थ्यो।
शिवे मेरो बचपनको साथी थियो। नाम थियो शिव प्रसाद। तर गाउँमा काट्दा मिल्ने जतिको नाम काटेरै बोलाइन्थ्यो। शिव प्रसाद नामलाई काटेर बोलाउँदा शिवे रह्यो। शिवेसँगको बाको लडाइँमा म कहिल्यै हारिनँ।
‘मलाई झन् बाबा विदेशबाट आउँदा कार ल्याइदिने रे,’ म कारको इसारा देखाएर शिवेलाई फूर्ति लाउँथे।
‘मलाई पनि खेल्न देऊ है,’ शिवे आफू बाहरूको प्रतिष्पर्धामा हारिहाल्थ्यो। म खुसीले छाती फुलाउँथें।
‘तिमी र म मिलेर खेल्नपर्छ है,’ म उसलाई आफ्नो टिममा सामेल गर्थें। अनि हामी हाँस्दै अँगालो मारेर घर पुग्थ्यौं। मलाई जहिले बा विदेशबाट कहिले आउनु होला भन्ने लाग्थ्यो।
(मोबाइल हेर्दै मनमनै) ओहो उठ्न पर्छ क्या अब त। राति सुत्ने बेलामा क्या छिटो उठ्छु भनेर प्लान गर्यो, बिहान उहीँ ताल त हो मेरो पनि। उठेर योगा गरे पनि हुने नि। मन मस्तिष्क शान्त रहन्थ्यो, जीउ फूर्तिलो हुन्थ्यो। म साह्रै अल्छी भएँ। यसरी त कसरी होला र?
हिजो मेरो बासँग यहीँ कुरामा झगडा परेको थियो। बाको कुरा छिटो उठ्, दौडी, बिहानको ताजा हावा खा। मेरो कुरा अब त हजुर पनि छिटो उठ्नु पर्दैन आनन्दले आराम गर्दा हुने नि। यहीँ कुरामा लामो बहस भयो दुवै तर्फबाट बेतुकका तर्कहरू पेश भैरहे र अन्त्यमा आफूलाई जे मन छ त्यही गर्ने भन्ने कुरामा आएर बहस सकियो।
सानोमा म बासँगै सुत्थें। मलाई जता गए पनि जतिबेला पनि बा नै चाहिन्थ्यो। हुन त बाले मलाई निकै माया गर्नुहुन्थ्यो।
म सानो हुँदा एकपटक मामाले मलाई प्रश्न सोध्नु भयो- ‘बाबु, तिमीलाई बा प्यारो लाग्छ कि आमा?’
‘बा’ मलाई उत्तर दिनको लागि सोच्नै पर्दैनथ्यो।
‘ए दिदी, भान्जा त भिनाजुका पो प्यारा रहेछन्,’ मामा आमालाई सुनाउन पुग्नुहुन्थ्यो।
विदेशबाट फर्किँदा बाले मलाई काँधमा हालेर गाउँ डुलाउनुहुन्थ्यो। गाउँलेहरू मलाई हेरेर भन्थे- ‘हेर त बाको काँधमा चढेर कत्रो अग्लो भएछ यो सुदिप।’
‘हिहि...’ म हाँस्दिन्थें।
मलाई बाको काँध संसार लाग्थ्यो। मेरो बा मलाई हिरो लाग्थ्यो।
अहिले त्योबेला जस्तो माया नदेखाए पनि त बालाई म अझै उस्तै माया गर्छु। तर देखाउन नसकिने रहेछ। सानोमा काँधमा बोकेर मलाई डुलाए जस्तो म बुढेसकालमा काँध थाम्न सक्छु कि नाई कुन्नी?
बाको आवाज आउँछ- ‘शनिबारको दिन छिटो उठेर हिँडे हुँदैन एकछिन?’
‘अनि हजुर चाहिँ छिटो उठेर के गर्नुभयो? आनन्दले सुतेको भए हुन्थेन एकैछिन! सधैं यहीँ कुरा भनिरहन पर्ने हो?’
‘फेरि उठ्ने बित्तिकै सुरु भयो, शान्त बसे हुँदैन एकछिन?’ उताबाट आमाको आवाज आउँछ।
वातावरण एकछिन शान्त रहन्छ।