यो समय पनि जानेछ
जसरी बग्छ नदीको पानी
छोड्नेछ एकथान यादहरू
यादका साना-ठूला डोबहरू
समय आउनेछ अर्को
जसरी आउँछ रातपछि दिन
लगाउनेछ मलम
पुर्नेछ पूरै घाउहरू!
कसैले प्रदेशबाट
लेखेर पठाएछ चिठी
बाँधेर परेवाको खुट्टामा
चिठी आँगनमा आइपुग्यो
हृदय फुलाएर खुसीले
आमा बार्दलीबाट झरिन्
सेतो धागोले बेरिएको चिठी
छातीमा च्यापेर ल्याइन् र भनिन्-
छोरा! पढ् त चिठीमा के लेखिएको रहेछ?
कसरी सुनाओस् छोराले आमालाई
रणभूमिमा बा बितेको कुरा
टक्क अडिएर एकछिन
लामो सुस्केरा तान्दै
भन्छ आमा चिठीमा यस्तो लेखिएको छ-
म फर्किउँला या नफर्किउँला
तिम्रा न्याना यादहरूलाई चिस्याउन नसकून कठ्याग्रिँदा रातहरूले
म तातो बारूदको रापले जलेर मर्न पनि सक्छु
तिम्रो हृदयको आगोलाई शीतल देओस् जुनेलीले
मेरो अन्तिम श्वासले विद्रोहको आगो निकाल्न पनि सक्छ
त्यो आगोमा सानेले जल्न चाहे नरोक्नू उसलाई
मेरो आत्मालाई शीतल दिन पनि ऊहरूले जल्न पर्छ
साने घर छोड्न अगाडि आमालाई चिठीको पहिलो अंश दोहोर्याउँछ
यो समय पनि जानेछ
जसरी बग्छ नदीको पानी
छोड्नेछ एकथान यादहरू
यादका साना-ठूला डोबहरू
समय आउनेछ अर्को
जसरी आउँछ रातपछि दिन
लगाउनेछ मलम
पुर्नेछ पूरै घाउहरू।