उम्!
म विदेश छु
ऊ विदेश छ
उनी विदेश छिन्
स्वदेशमा त उहीँ
पुरानो घर
त्यही पनि वर्षौंदेखि
छाउन नसकेको
खरको छानो
तप्प-तप्प पानी चुहिँदा
आमा लोहोटा थाप्नु हुन्छ।
हुनुहुन्छ बुढी हजुरआमा
अनि बा र आमा
भन्नुहुन्छ हरेक पटक फोन गर्दा
कहिले आउँछस् बाबु?
आमालाई थाहा छैन
साहुले दिन हिसाब गरेर छुट्टी दिन्छ
वर्ष वा दुई वर्ष सेवा गरेपछि
बल्ल केही महिना र दिन छुट्टी पाइन्छ
आमालाई के थाहा
त्यो साहु कालो छ या गोरो
होचो छ या अग्लो
कठोर छ या नरम
तर आमालाई
हरेक दिन छोरो आइदियोस् भन्ने मात्र लाग्छ।
म भन्छु
आमा यहाँ समय अलिक फरक छ
त्यहाँ घाम लागिरहँदा
यता अँध्यारो नै हुन्छ
त्यहाँ पानी पर्दा
यता खडेरी हुन्छ
त्यता तपाईंको चुलोमा
भात बुद्बुदाउँदा
यता हिजो बेलुकै पकाएर चिस्यानमा राखेको
राइसलाई तताउँदै
चिकेनलाई बफाउँदै हुन्छु म
तात्तातो खान त त्यस्तै हो आमा
बजारमा भेटिने पाउरोटी खाएर
कयौं दिन डुलेको छु।
आमा,
यताको समय अलिक कठोर नै छ
भालेको डाकोमा हैन यहाँ
मोबाइलमा बजेको घन्टीमा उठ्नुपर्छ
घाम हेरेर हिँड्ने हैन यहाँ
घडीको सुई हेरेर चल्नुपर्छ
अनि आमा
छोरोले स्वाभिमानलाई
त्यतै कतै बन्धकी बाँधेर आएको छ
यहाँ त मालिकले
सेतोलाई कालो हो भन्यो भने नि
उसको इसारामा उसको निर्देशनमा
मादरी झैं नाच्नुपर्छ।
आमा
अब फर्किन्छु छिट्टै
परदेशले मलाई
जीवन सिकायो
कर्म सिकायो
बाँच्न सिकायो
दु:ख सिकायो
सिकायो सबै कुरा
तर हाँस्न बिर्साइदियो
हाँसो र खुसी के हुन्
ती सबै बिर्साइदियो
तर अब देश फर्किएर
तपाईंको काख फर्किएर
खुसी फर्काउनु छ
हाँसो ल्याउनुछ
त्यो फेरि पक्कै आउने छ।