म पच्चिसौं वर्षभन्दा बढी हुर्केको, खेलेको,
बढेको, खाएको अनि पढेको
मेरो बालापन, युवापन जम्मै बिताएर
यो ठाउँसम्म आइपुगेको
कुना-कुना भित्ता-भित्ता स्याहारेको
रंगिचंगी फूलबारीले शृंगारेको
यत्रतत्र सर्वत्र सेरोफेरोमा रमाएको
मलाई जन्म दिने बुवाआमा बस्ने मेरो घरलाई
कसैले मेरो माइती घर भनेर सम्बोधन नगर
नसोध तिम्रो माइती घर कहाँ हो भनेर
किन-किन मेरो रगत उम्लिन्छ
कन्पारो तातेर आउँछ
कपाल दुखेर आउँछ
आँखा चिम्लेर रिसाउन मन लाग्छ
र अर्कोतिर मेरो हृदय नराम्ररी रसाउँछ पनि
मलाई कसैले मेरो घरलाई माइतीघर भनिदिंदा
मैले पच्चिसौं वर्षभन्दा बढी जुन घरलाई मेरो घर भनी
मेरा साथीभाइ, इष्टमित्रलाई चिनाएँ
जुन घरलाई मेरो घर भनी रमाएँ
आज त्यही घरलाई माइतीघर भनी चिनाउनु पर्दा
मलाई अत्यन्तै पीडा बोध हुन्छ
मलाई घर भनेको आफ्नो जस्तो लाग्छ
माइतीघर भनेको पराई जस्तो लाग्छ
जुन घरको इँटा-इँटामा, ढुंगा-ढुंगामा,
बालुवाका प्रत्येक कण-कणमा
अनि माटोका हरेक चिम्टी-चिम्टीमा मेरो मुटु अडेको छ
मेरो दिल गढेको छ
जुन बनाउन बालापनका कयौं गाँसहरू काटिएका छन्
जहाँ मेरा भगवानरुपी बुवाआमा बस्नुहुन्छ
त्यो घरलाई कसरी म पराई घर ठानुँ?
कसरी म बुवाआमा पराई भनी मानुँ?
त्यसैले सिउँदोमा सिन्दुर भरेकी मलाई
सोध्नेहरूले तिम्रो माइतीघर कहाँ हो भनेर नसोधी दिनुहोला
माइतीघर त मेरो शब्दकोशमै छैन
मेरो माइतीघर ‘माइतीघर’ होइन केबल घर मात्रै हो।