‘कस्तो राम्रो पो लेख्दिरहेछौ त तिमी, लेख्न कहिल्यै नछोड है!’
मैले लेखेको एउटा ब्लग पढेर तिमीले यही भनेका थियौँ।
उसो त म प्रायः लेख्दिनँ, तर कहिलेकाहीँ कल्पिएका कुरा शब्दमा उतार्न प्रयत्न गर्छु। तर सानोमा भने डायरी भरेको याद छ। मसँग डायरीको स-सानो कलेक्सन नै थियो तर एकदिन मामुले मेरो डायरी पढ्नु भयो अनि के लेखेको भनेर च्यातिदिनु भयो।
धेरै रोएकी थिएँ म त्यो दिन, मेरा थुप्रै सपना च्यातिएका थिए। डायरीको अस्तित्व मात्रै होइन, मेरो लेख्ने रहर पनि सकियो त्यो दिनबाट। अचेल कहिलेकसो लेख्ने गर्छु म तर पूरा गर्दिनँ; लेखेर आधामै च्यातेर फालिदिन्छु। कि त मोबाइलमा टाइप गरेका शब्द मेटिदिन्छु।
आजभोलि म लेखेँ नै भने नि मनको शान्ति होस् भनेर लेख्छु, आफ्नो मनलाई रित्तै पार्न लेख्छु।
सायद यी थुप्रै कुरा तिमीलाई थाहा नहोला, उसो त तिमीलाई धेरै कुरा थाहा छैन। तिमी जहिल्यै हतारमा हुने भएको कारण मैले मेरा कति कुरा मनमै गुम्साएकी छु। भन्न धेरै कुरा मन थियो तिमीलाई तर मैले पनि ‘हस् छोड्दिनँ’ मात्रै भनेकी थिएँ।
तिमीलाई हस् भनिरहँदा मलाई विगतमा मेरो त्यो ब्लग प्रकाशित भएपछि म्यासेजमै आएको प्रतिक्रियाहरूको याद आयो। एउटा ब्लगबाटै मलाई थुप्रै जनाले म्यासेज गरेर 'म्याम म हजुरको फ्यान भएँ, अर्को कहिले लेख्नु हुन्छ लिंक पठाइदिनू है' भन्नु भएको थियो।
मैले कमाएका ती मान्छेहरू मलाई आजसम्म पनि प्यारो लाग्छन् तर मैले उनीहरूको त्यो प्रतिक्रियाको कदर गरिनँ कि समय मिलेन, त्यसपछिका दिनमा मैले कहिल्यै लेखिनँ। आज फेरि तिमीले राम्रो लख्दिरहेछौ भनेपछि मन हौसियो केही लेख्नको लागि। तर के लेखौँ?
तिमीले लेखिराख भनेको कुरा मनसम्म नै परेछ। त्यसैले मलाई तिम्रो नै बारे केही लेखेर तिमीलाई नै पठाउन मन लाग्यो। म कथाको खोजिमा थिएँ, तर बारम्बार मलाई तिम्रो त्यो राम्रो लेख्दिरहेछौ भन्ने कुरा मात्रै याद आयो। तिमीलाई नै बारम्बार सम्झिएँ, लाग्यो तिमीले दिएको उर्जा तिम्रै बारेमा लेखेर सकिदिउँ। मेरो र तिम्रो बारेमा लेखौँ अनि तिमीलाई नै उपहार दिउँ।
यो सब लेखिरहँदा मलाई डर लागिरहेको छ। तिम्रो बारेमा लेख्दा तिमीले आफूलाई जोड्न सकेनौ भने मेरो उपहारको महत्त्व नहुन सक्छ। त्यसैले डर नै डरमा तिम्रो लागि उपहारस्वरूप शब्दहरू जोड्न जाँदैछु।
तिमीलाई सम्बोधन गर्न मसँग सम्बोधनको शब्द नै छैन रहेछ भनेर बल्ल थाहा पाएँ। अझै यो लेखनको दौरानमा अरु के-के कुरा थाहा पाउँछु, मलाई पत्तो छैन। यति धेरै सोचिरहेको मान्छेको सम्बन्ध के हो त्यो पनि मलाई थाहा छैन।
तर सम्बन्ध नै नभए पनि तिमी मेरो उत्साह हो, उर्जा हो, उत्सव हो।
तिम्रो र मेरो, हाम्रो मिठो सम्बन्धको नाम नै छैन। पत्तो नपाई वसन्तको हरियाली झैं मनमा छाएको विशेष मान्छेसँगको सम्बन्ध के हो भन्ने बारे कहिलेकाहीँ अन्जान नै बन्नुपर्दो रहेछ। यसरी अन्जान सम्बन्ध निभाउन मजै हुँदोरहेछ।
हामीसँग हाम्रो सम्बन्धको नाम के हो भन्ने प्रश्नको उत्तर समेत छैन तर परिवारको कुनै सदस्यभन्दा हामी एकअर्काको लागि कम पनि छैनौं।
सम्बन्ध खास बनाउन न नामको जरुरत पर्दो रहेछ न त अनुहारको। बिना नाम, नभेटी अनि नदेखी केही भावना साटिएकै भरमा कोही-कोही मान्छे एकदमै नजिकका अनि प्यारा लाग्ने रहेछन्। यी सब कुरा थाहा पाउन मैले तिमीलाई नै भेट्नु पर्यो। त्यही प्यारो मध्येको प्यारो हौ मेरो लागि तिमी।
यसो त मान्छे एक्लै नै यो धर्तीमा जन्मछ र एक्लै नै यो धर्ती छोड्ने गर्दछ। तर ऊ नजन्मिँदै उसको धेरै सम्बन्धहरू जन्मिएका हुन्छन्। ऊ मर्दा पनि उसले अनेकन सम्बन्ध मारेर गएको हुन्छ। समाजमा भोग्नुपर्ने अनेकौं समस्यासँग ऊ एक्लै जुध्छ अनेकौं अप्ठ्यारो परिस्थितिमा ऊ जेलिन्छ तर एक्लै निस्किन्छ।
समाजका धेरै नाता अनि सम्बन्धमा जसमा ऊ जेलिएको हुन्छ, ऊ नमरुन्जेल त्यो नाता अनि सम्बन्धबाट निस्किन सक्दैन। जन्मजात आमा-बाबाको सम्बन्धमा जेलिन पुगेको मान्छे। त्यसपछि आफन्त इष्टमित्रको सम्बन्धको दरिलो घेरामा गाँसिन पुग्छ जुन सम्बन्ध दीर्घकालीन हुन्छ।
जिन्दगी व्यतित गर्ने क्रममा यी बाहेकका थुप्रै सम्बन्ध गाँसिन्छन्। त्यही सम्बन्ध मध्ये कुनै सम्बन्ध अल्पकालीन हुन्छ त कुनै दीर्घकालीन। धेरै भेटिएको मान्छे मध्ये सम्बन्ध कायम हुने मान्छे कम हुन्छन्। सबै सम्बन्ध आफू खुसी जोडिएको हुन्छ भन्ने पनि हुँदैन। जिन्दगीमा भाग्यले भेटिएको मान्छे समेट्नलाई अनि जिन्दगी अलिक सहज बनाउनलाई बन्ने सम्बन्धहरू खास हुन्छन्।
केही मान्छेहरू भाग्यले भेटिन्छन् अनि केही चाहनाले। बहानाले भेट भएकाहरूलाई चाहनाले आफ्नो जिन्दगीमा राख्नको लागि सम्बन्ध गाँसिने गर्दछन्। मानिस नमरुन्जल आफूले इच्छाएको व्यक्तिलाई एउटा सम्बन्धको मालामा जोड्दै जान्छ। तिमी पनि मेरो लागि त्यही इच्छाले जोडिएको मालाको एउटा अनमोल मोती हौँ जुन मोतीलाई म मालाका अन्य मोतीसँग तुलना गर्न सक्दिनँ।
एउटा नामबिना सम्बन्धको अर्थ मुस्किल हुँदो रहेछ। त्यसो त बेनामका सम्बन्ध झनै खास हुँदो हो, अर्थ राखेर सम्बन्ध निभाउनेको जमातमै हो, तिमी र म बेअर्थ जोडिएको।
केलाउँदै नै जाने हो भने तिम्रो र मेरो सम्बन्धको अनेकौं नाम हुन्छन् होला। म सानी तिमीभन्दा, बहिनी भन्ने उपमा दिन तिमीलाई सजिलो नै होला तर बहिनी भनेपछि बहिनी उपमा सँगसँगै जोडिएको जिम्मेवारी तिमीले पूरा गर्न सक्दैनौं अनि तिमीलाई अप्ठ्यारो हुनसक्छ। त्यसैले बहिनी म बन्न सक्दिनँ।
तिमीलाई मात्रै भन्न खोजिकी भने होइन, म पनि दाइ भनेसँगै आउने जिम्मेवारी निभाउन नसक्न सक्छु।
साथी भन्ने उपनाम दिन हाम्रो समाजले उठाउने प्रश्नको तिमीले उत्तर दिन नसकौला। सम्बन्ध जोड्नु भनेको एउटा बन्धनले बाधिनु मात्रै हैन, त्यो बन्धनको जिम्मेवारीले पनि बाँधिनु हो।
तिमी भनौला सम्बन्धले पनि बाध्छ र हामीलाई? तर तिमीलाई के थाहा सम्बन्धले नबाँधे तापनि हामी आफैं सम्बन्धको नाममा बाँधिन्छौँ।
हामीले बुझेको सम्बन्ध र हामीलाई भोगेको सम्बन्ध फरक छ। सम्बन्ध भनेको त साहस र उर्जा दिने, प्रेरणा र हौसला दिने हुनपर्छ। तर सम्बन्धले डर सृजना गरेको हामी आफैंलाई थाहा छ। सम्बन्ध गाँस्नु भनेको जोडिनु हो।
जोडिनु आफैंमा सुन्दर कुरा हो। जोडिएको सम्बन्धमा सम्बन्ध मात्रै हैन हरेक पक्ष जोडिएको हुन्छ, मान्छे सम्बन्धमा झन् दरिलो बन्छ। तर वास्तवमा त्यस्तो हुँदैन। सम्बन्धले हामीलाई झन् कमजोर बनाइराखेको छ, गुम्छ कि भन्ने डरले हामीलाई टाढा बनाएको छ।
जिन्दगीको उतारचढावमा जोडिने सबै सम्बन्धहरू आफ्ना हुन्छन् भन्ने हुँदैन तर मानिस जोडिएको सम्पूर्ण सम्बन्ध सबै आफ्नै हो भन्ने भ्रममा बाँचिरहेको हुन्छ। सायद सम्बन्धको परिधिभित्र पनि स्वतन्त्रताको आभास दिने सम्बन्ध वास्तवमा नै दिगो सम्बन्धको रुपमा रहिरहन्छ।
सम्बन्धले दुई मुटु मात्र होइन दुई इच्छाशक्ति समेत जोड्ने काम गर्दछ। त्यसैले भनिन्छ सम्बन्धमा ठूलो शक्ति हुन्छ। साइनो अनि सम्बन्ध जोडिएको आधारमा कोही मान्छे आफ्नो जिन्दगीको अभिन्न अंग बनिदिन्छ।
तिमी मेरो लागि त्यही अभिन्न अंग हौ, नाम दिइएको सम्बन्धले आश दिनेहरूको जमातमा तिमीले मलाई बेनाम साथ दिने मान्छे बनिदिनू ल!
सम्बन्धमा भएको बेलाका याद अनि सम्झनाहरू निकै मिठा हुन्छन् रे। किनकि सम्बन्धमा रहेका व्यक्ति सधैं साथै हुँदैनन् रे। तिमी त सम्बन्ध भएर नि सम्बन्धको नाम नभएको व्यक्ति तिमी र म साथै बसेर त्यो मिठा पल याद गर्ने ल?