चेतना शून्य भई पछाडि झुन्डिएको
कुनै सुझबिना उँधोमुन्टो लगाएको
मात्र एक निर्देशनमा
हल्लिन तयार त्यो-
छ्यापिरहन्छ हिलो
धपाइरहन्छ माखो
भगाइरहन्छ मच्छड
त्यो अर्थात् सुरक्षा कवच।
कहिले
लप्लपाएको जिब्रो लिएर
आशाको थालमा चुहाएर रेबिजको लहरो
हल्लिएको टेढो पुच्छर
बोल्छ त
मात्र बफादारीको भाषा
चिल्लो घसेर घुस्रिएको
पतित अर्थात् त्यो
बोल्छ त मिठो चाप्लुसीको भाषा।
सामान्य नै लाग्छन् पशुका पुच्छरहरू
असामान्य त मदारीले हल्लाउने हुन्छन् पुच्छरहरू
त्यतिबेला मात्र कुरूप बन्दो रहेछ पुच्छरको स्वरूप
अनेक-अनेक इसारामा
विचित्र तरहका लिप्सामा
जब-जब
उसलाई मालिकले हल्लाउन थाल्दछ
उसलाई मालिकले खटाउन थाल्दछ
उसलाई मालिकले ठटाउन थाल्दछ
उसलाई मालिकले हटाउन थाल्दछ
र पनि चुपचाप हल्लिरहन्छ
'त्यो' अर्थात् 'त्यही'
न लौरो जस्तो
न हतियार जस्तो
न बनाउने
न बन्न दिने
पुछारतिर रहने
पुच् छर् अर्थात् पुच्छर।