बा! मलाई माफ गरिदिनुस् न है
मैले आज एउटा कविता लेख्दैछु नि सहरमा
सहरको एउटा गल्ली-गल्ली बीचको
अँध्यारो कोठामा एउटा कविता फुर्दैछ
जहाँ घाम आत्तिँदै छिर्छ
मैले गाउँ छोडेपछि देखेको विकराल
अँध्यारा सपनाहरूलाई त्यही उज्यालो बनाउन
त्यो गल्लीमा हावा निस्सासिएर छिर्छ
गाउँबाट आएका सपनाको कोपिलाहरू छन् नि
गल्लीमा भएका स-साना पानीको पोखरीहरूमा राखेको
ढुंगाकोको फट्केहरूमा फट्कँदै मेरो कोठामा आइपुग्छन्
बा, हजुरलाई याद छ मैले गाउँ छोडेको कति भयो?
कुन्नी बिर्सनु भयो होला है!
बरु यसरी हिसाब गरौं न
हाम्रो घरको माली गाईले कति पटक बहर साँडे जन्मायो
कति पटक बाच्छी पायो?
बारीको डिलमा रहेको त्यो कोइरालोको फूल कति पटक फुल्यो?
आमाले कति पटक त्यसको अचार बनाउनु भयो?
सुनेको थिएँ सन्ते काकाको खुट्टा भाँच्चिएको थियो रे
बा अहिले खुट्टा टेक्छन् त काकाले?
जेठा बाले त उहिलै परलोक रोजेका हुन् रे
कति पटक पिण्ड खाए?
मसँगै तीन कक्षा पढेकी उजेली पनि पोइल गई रे नि
साँच्चै त्यसले कति केटाकेटी जन्माई?
बा, गाउँमा त बिजुली पनि बल्यो रे
हाम्रो त्यो घरमा कति वटा चिम राख्नुभयो?
आमालाई एउटा कुरा सोध्न मन छ
मैले घर छाडेपछि मलाई मिठो लाग्ने
कोदोको च्वाइँरोटी कति पटक पाक्यो?
कि पाक्दै पाकेन, मेरो घर फर्कने सोच नफर्केको जसरी
कि पाकिराख्यो, आमाको कहिल्यै नरोकिने आँखाको आँसु जसरी
बा यो पटक म गाउँ फर्किन्छु कि
मलाई गाउँले चिन्ला त?
धमिलो आँखा देख्ने जि-बाले ठम्याउँलान् त?
मैले चलाउने हँसियाहरू फेरि मेरो हात लाग्लान् त?
वर्षौंदेखि हजुरसँगै मेलो लागेको हल गोरुले
मैले हलोको अनो समाउँदा मसँगै मेलो लाग्लान् त
बा, यो पटक सहरका सपनालाई गाउँमा गाउँले बनाउन ल्याउँदैछु
गाउँले मलाई स्वीकार्ला त?
बा, म गाउँ आउँदै छु नि।