दुर्गममा फुल्छ लालीगुँरास
फुल्छन् निला आकाशहरू
कहिले बादलहरू पनि आउँछन्
अन्धकार लिएर पहाडसँग मिसिनलाई
दुर्गममा फुल्छन् सुनगाभा अनि
वन-केराका साना-साना अंकुराहरू
त्यही दुर्गमतासँगै फुल्छन्
साँघुरा शिक्षा र उत्पीडनका कथाहरू।
लालीमाया भर्खर बाह्रकी लागी
उसको जवानी फुलिसक्यो
प्रजननका धर्साहरूसँग
अशिक्षाको डोलीले उसलाई
एक दशक कटिसक्दैमा
विवाहको खाडलमा हुत्याइसक्यो।
त्यस्तै दैलेखको बादी रे सानुकान्छा
ऊ पनि त्यही दारीको रेसाको कलिलो दागसँगै
कामको हुटहुटीमा
भारतमा पुगिसकेछ।
यस्ता-यस्ता पीडाका कथाहरू फुल्छन्
दुर्गममा लालीगुँराससँगै
अनि कति सपना लालीगुँराससँगै ओइलाउँछन् पनि
तै-तै लालीगुँरास ऋतु छलेर
अर्को वर्ष फेरि फुल्नसक्छ
तर दुर्गमका सपनाहरू त
त्यही गाडेको चिहान खोतल्दा पनि
अवशेषसम्म भेटिन्न।
यी सबै व्यथाहरू फल्छन् गाउँमा
महोदय,
फुल्छन् अनि फक्रन्छन्
भोकका कथा
रोगका कथा
वियोगका कथा
भन्नुस् न तपाईंका सहरमा के फुलिरहेका छन्
यी दुर्गमताका आँसुहरूका सिँचाइ गरेर?