उनी मेरै पास छिन् जस्तो लाग्छ
मेरै समीप छिन् जस्तो लाग्छ
मेरै काखमा लुटुपुटु गरिरहेछिन्
जस्तो लाग्छ
आत्माको घुलनतामा
डुबिरहेछ जस्तो लाग्छ
सपनाको संसारमा रमाइरहेछ जस्तो लाग्छ
तर उनी मेरो पासमा छैनन्
मेरो वरिपरि छैनन्
सपनामा पनि छैनन्
आत्माको घुलन त झन् सुख्खा भैसकेछ
थाहा छैन उनी भेटिने ठाउँ
थाहा छैन उनी देखिने बिन्दु
अन्योल छु, त्यो ठाउँसम्म म पुग्छु पुग्दिनँ...
मनको भाव न हो
यथार्थतालाई जति टाढा राख्न
खोजे पनि मनको झंकारले वास्तविक
भावलाई नै स्विकार्दो रहेछ
कुनै दिन उनले भनेकी थिइन्
सायद हामी दुईको सम्बन्ध
हामी दुईको बुझाइ
हामी दुईको चञ्चलपन अनि
हामी दुईको स्वभाव
सम्पूर्ण कुराहरू समाहित गरेर
एउटा मुटुको दुई पाटा बन्न सके
दुइटा आँखाको एउटै नानी बन्न सके
फेर्ने सासका एउटै बहाब बन्न सके
जीवनका सुन्दर दृश्यहरू सायद
कापीका पन्नामा लेखिएका
बोर्डका भित्तामा टालिएका
कुनै पोस्टरमा सजाइएका
अनि कहीँकतै गुञ्जिएका
ती सुन्दर तप्काभन्दा अझ बढी सुन्दर
निकै फरक अनि निकै विशेष
हुने थियो होला
तर भावले सुसज्जित
मनले तरंगित
वास्तविकताले सुशोभित
तिम्रा ती वाणीहरूको मुलायम आवाजका
ती यावत पुञ्जहरू
कतै सिरेटोले उडाइ लग्यो
कतै पतझरले चुँडाइ लग्यो
कतै वर्षातको पानी भेलले बगाइ लग्यो
म रोक्न कोसिस गर्थें
म छेक्न कोसिस गर्थें
अनि म अंगालोमा बेर्न कोसिस गर्थें
ऊ झन् तीव्र गतिमा दौडिन्थ्यो
ऊ झन् हठात गायब हुन्थ्यो
म मलिन चेहराले नियालिरहन्थें
पानीले भिजेर माटोबाट आएको सुगन्धमा
उनीसँगको स्पर्शमा आएको खुस्बु
महसुस गर्थें
अनि कल्पना गर्थें
कास म पनि त्यही हावाको स्वरुप
त्यही वर्षातको रुझाइ अनि
त्यही भेलको बहाब बन्न सकेको भए
अनि त्यही माटोबाट आएको सुगन्ध
जस्तै खुस्बु छर्न सकेको भए
उनी मेरो बाहुमा हुने थिइन् होला
उनी मेरो अंगालोमा लुट्पुटिरहन्थिन् होला
तर त्यो त मेरो भागमै रहेनछ
म सुख्खापनको खडेरीमा
पत्ता झरेको पतझर
बिरुवाको स्वरुप बनिरहेछु
ऊ पर रुखका पत्ताहरू सुसाएको सुन्दा
कता-कताबाट उनले ‘ओई’ भनेको
आवाज आए जस्तो लाग्छ
पारिको हिमालको चुचुरोमा हिउँले
टलकदार चमक दिँदा
सेतो दन्तलहर देखाउँदै
उनले मलाई नियालिरहे जस्तो लाग्छ
अनि गुलाबका ती राता रंगिन सुन्दरतामा
उनले ओठमा लगाएको लालीको
बिम्ब झल्किए झैं लाग्छ
यति मात्र कहाँ हो र
आकाशको कुनै अंशमा कालो
बादलको ढिक्का देख्दा
त्यहाँ पनि उनले आँखामा लगाएको
त्यो कालो गाजलको धर्काले परेलीको
बेस बनाए जस्तै लाग्छ
राति आकाशमा ताराहरूको चमक देख्दा
उनले निधारमा लगाएको त्यो बिन्दी
म आफैंले स्पर्श गरिरहे जस्तै लाग्छ
अनि ती इन्द्रेणीका सात रङमा झुम्मिँदा
उनले सप्तरंगीमा सजिएको
सुन्दर चेहराको पुलकित आकर्षण
बाहिर आए जस्तै लाग्छ
खै के भैरहेछ, खै के हुने हो
त्यही खोजीको मूर्ततामा म टोलाइरहेछु
अनि आफैं मनमनै भनिरहेछु
उनी मेरो भागमै रहेनछिन्
जब तिमी मबाट अलप भयौ
जब प्रकृतिको बिम्ब झल्कने
तिम्रो स्वरुप अकस्मात कुनै
क्षितिजको एउटा कुनामा लुक्न पुग्यो
हेर न! म त ओइलाउँदै गएको एउटा
पत्ताको स्वरुप बनेछु
जब त्यही पत्ता हरियो, भरिलो, मुलायम,
मलमलाउँदो थियो तब सबै झुम्मिन्थे
सबैले प्रेमको दृष्टिले हेर्थे, चुम्न खोज्थे
त्यसमा पनि तिमी कल्पनाभन्दा
निकै माथि थियौ
जब म शक्तिहीन हुँदै गएँ
ममा सुख्खापनले कुनै तप्का छोडिदियो
म आफैं खोक्रिँदै गएँ
जुन खोक्राइको वास्तविकता
न म आफैंले बुझ्न सकें
न अरु कसैले बुझ्न सक्यो
न तिमीले महसुस गर्न सक्यौ
त्यसैले लाग्छ
ती वृक्षका पालुवाहरूले पनि
पहिलै बुझ्छन् होला, एकपटक
सुक्नै पर्छ अनि झर्नै पर्छ
र त केही नभनी कठोर मौनता साचेर बस्छन्
जब प्रेमका कोपिलाहरू
फक्रँदै थिए
भमराका जोडीहरू उडेर
रस चुस्न आउँथे
उनीहरूको चिरचिर आवाजले
आशीर्वाद दिए जस्तो लाग्थ्यो
आज त्यही भमराहरू सुख्खा पतझर
वृक्षाको हाँगामाथि बसेर चिच्चाइरहेछ
लाग्छ, यिनीहरूले पनि मलाई
गाली दिइरहेछ
म कसरी सम्बोधन गर्न सक्छु
यिनीहरूलाई कि
म नितान्त एक्लो छु
चामल जुनसुकै परिकार बनेर
जुनसुकै भान्सामा पुगोस्
चौलानीले चामलकै याद गरिरहन्छ
हो, म पनि त्यही चौलानीकै एउटा
स्वरुप बनेँ
जहाँ तिम्रा यादहरूलाई
चौलानीले चामलको याद गरे जस्तै
मेरो मन मस्तिष्कले याद गरिरहेछ
सासका बहाबले पातलिएको
आभास गरिरहेछ
जहाँ फोक्सोले प्रस्ट
असहजत झल्काइरहेछ
तिमी सोच्छौ होला
म नभएर के भो
विकल्प धेरै छन् नि
तर त्यो विकल्प मेरो लागि शून्य हो
यो संसार ठूलो छ
यहाँ तिमीजस्तै अरु पनि होलान्
तर के म एउटा हत्केलामा सम्पूर्ण
पृथ्वी अटाउन सकुँला र?
त्यो सामर्थ्य ममा बाँकी होला र?
प्रश्न तिमीले उब्जायौ
उत्तर मैले भेट्टाउन सकिनँ
बाटोहरू तिमीले बिरायौ
मैले पुनः पहिल्याउन सकिनँ
सम्बन्धहरू तिमीले टुटायौ
मैले फेरि गाँस्न सकिनँ
यादहरूलाई तिमीले पर्दा लगाइदियौ
मैले बन्द हुन दिनै सकिनँ
मैले पर्दाबाट निह्यालेर चिहाइरहें
र पनि खोजी सार्थक बन्न सकेन
मनको दियो बालेर चकमन्न रातमा
खुब भौतारिएँ
जब कतै ठक्कर खान्थें
अनि झसंग हुन्थें
तिमी पो आयौ कि?
तर होइन, तिमी आएनौ
आउँदै आएनौ
र फेरि निराशालाई स्वागत गर्दै
भन्न बाध्य भएँ
उनी मेरो भागमै रहेनछिन्
आजकल
तिम्रा शब्दहरूले मलाई पोल्छ
तिम्रा यादहरूले मलाई जलाउँछ
लाग्छ, तिम्रो नजरमा म खरानी बनिसकें
मात्र उड्न बाँकी छ
हावाको त्यो झोकसँगै
जसले खरानीको प्रत्येक कणलाई
क्षितिजको कुनै बिन्दुमा लगेर
विलीन गराइदियोस्
अनि सदा-सदाको लागि
हावाको स्वरुप बनेर पुन:
तिम्रो स्पर्श गर्न पठाइदियोस्।