उनी प्राची, खस सभ्यताको मुहान कर्णाली सिंजादेखि सपना खोज्न काठमाडौं झरेकी।
आफन्तको साथदेखि निकै टाढाको नयाँ सहरमा खोज्दै गरेको नयाँ-नयाँ सपनाहरू। सपनाहरूसँग लतारिँदै आएको अनगिन्ती तितो-मिठो यथार्थहरू।
सबका सब परिवेशहरूलाई स्विकार्दै, सम्झौता गर्दै अपरिचित सहरमा विस्तारै-विस्तारै परिचित हुँदै थिइन् प्राची।
नयाँ ठाउँको नयाँ-नयाँ मान्छेहरू भेट्ने क्रममा मसँग ठोकिन पुगिन्। उनको दैनिकी बिहान कलेज, दिउँसो एउटा प्राइभेट कम्पनीको जागिर।
पढ्ने ठाउँमा भएको थियो हाम्रो भेट। हाम्रो भेट कक्षा कोठाको साथीमा सीमित रह्यो केही समय।
साथीभन्दा माथिको सम्बन्ध कायम गर्न साथ दिएको थियो उनको र मेरो उमेरले। उमेरसँगै परिपक्व भएको हामी दुईलाई भौगोलिक दूरीले केही अप्ठ्यारो पारेको थिएन। हामीबीचको सम्बन्धलाई मान्छे-मान्छेले बनाएको जातीयताको पर्खालले केही बिगो गर्ने दुस्साहस गरेको थिएन।
उनी खसान राज्यको खस क्षेत्रीको सन्तान थिइन्। म याम्बु, काठमाडौं वरिपरि पर्ने ताम्सालिङको आदिम जनजातिको नासो। हामी दुईबीच भिन्नता पहाडजस्तै अग्लो थियो। बोल्ने भाषादेखि मनाउने संस्कृति। तर हाम्रो शरीरमा बग्ने रगत रातो थियो उस्तै-उस्तै।
उनले र मैले फेर्ने हावा उस्तै थियो। उनले र मैले ताप्ने घाम एउटै थियो। उनले र मैले बाँचेको जिन्दगी उस्तै-उस्तै थियो। यावत कुराहरूलाई साक्षी राखेर हामी दुईले प्रेमको बारीमा जीवनको सपनाहरू फुलाउने कोसिस गर्दैथियौं।
केही वर्ष पहिलेको कुरा।
हाम्रो पहिलो डेटिङ। मैले जाने ठाउँ छनोट गरेको थिएँ भने उनले तिथिमिति। दुवैको सहमतिमा जाने भयो काठमाडौं नजिकैको रमणीय ठाउँ धुलिखेल।
फागुन महिनाको पहिलो शनिबार हामी दुवै बिहान सात बजे चाबहिल चोकमा भेटियौं। चक्रपथ परिक्रमा गरेर आएको मयुर यातायातको बस हाम्रो नजिक आएर टक्क रोकियो। हामी दुई जना बस चढेर लाग्यौं धुलिखेलतर्फ। जीवनको पहिलो प्रेमसँग पहिलो डेटिङको मिठो अनुभूति संगालेर।
बस अरनिको राजमार्ग हुँदै गन्तव्य ताकेर कुँदिरहेको थियो। बस आफ्नै रफ्तारमा हुइँकिरहेको थियो- भक्तपुर नलिन्चोक, पलासे, सागा भञ्ज्याङ हुँदै।
सोचेको निश्चित समयमा बस पुग्यो धुलिखेल बसपार्क। बसबाट उत्रेर तय गरी यात्रा रमणीय धुलिखेल पार्कको। सुन्दर थियो ठाउँ। वसन्त ऋतु लालीगुराँसको रुप धारण गरेर फुलिरहेको थियो वनभरि ढकमक्क।
उत्तरी मोहडामा उभिएर बसिरहेका गौरीशंकर र गणेश हिमाल नजिकै जस्तो देखिन्थ्यो। सफा थियो मौसम। हामी दुई जनाको मनजस्तै।
पूर्वतिर थुप्रै अज्ञात पहाडहरू गजधुम्म भएर उभिएको थियो। म परिचित नै थिएँ त्यो ठाउँबारे। मैले बताइरहेँ प्राचीलाई त्यो ठाउँबारे। उनी सोध्ने क्रमलाई जारी राख्थिन्। मैले उनको जिज्ञासाको हल गरिदिन्थेँ।
हजार सिँढी चढेर बुद्धको मूर्ती छेउमा पुगेर बसियो, थकाइलाई आराम दिँदै। थकाइ मात्तेर सुस्केरा हाल्दै डाँडाभरि फुलेको लालिगुराँस चुम्न गए।
मन चंगा भएको थियो। पानी परेपछि खुलेको आकाशजस्तै। खुलेको आकाशमुनि सुन्दर प्रकृतिको काखमा लुटुपुटु हुँदै क्रमश: खोल्दै थियो मनको ढोका। मनदेखि मनसम्म मनको कुरा साटासाट गर्नको लागि।
दुई मनको वार्तालाप जीवनको बारेमा थियो। भविष्यमा तय हुने सपनाहरूको बारेमा थियो। उनको विगतको बारेमा थियो। मेरो विगतको बारेमा थियो। काल्पनिक आदर्शभन्दा वास्तविक यथार्थबारे थियो।
उनले आकाशको जून-तारा टिपिदिनू भनेर भनेकी थिइनन्। मैले पनि ठूलो सपनाको महलमा पुर्याएर थोत्रो जीवन दर्शनको कुरा गरेको थिइनँ। जे-जति कुराहरू हुँदैथियो हामी दुईबीच, ती सब हामीले भोगेको अनुभव र देखेको सत्यतामा आधारित कुराहरू नै थियो।
कुरैकुरामा समयले घामलाई पश्चिम क्षितिजको डाँडातर्फ पुर्याएको पत्तै भएन। भोक-प्यासको मूल्यांकन गर्न समेत भुलेर हामी दुई यति धेरै लीन हुन पुगिएछ कि प्रेम र जीवनको बारेमा, त्यो एकदिनको केही बेरको बसाइँ दशक-दशक भएर बाँचिरहेको छ।
हामी फर्कियौं, फिक्का सम्बन्धमा मायाको इन्द्रेणी रङ पोतेर। प्रेमको बारीमा पिरतीको सुवास छर्केर।
यात्रा धेरै टाढाको थिएन। काठमाडौंदेखि जम्माजम्मी तीस किलोमिटरको हो। जाँदै गर्दा तन्नेरी सूर्यसँग गएका हामी फर्कंदा घाम बूढो हुँदै गरेको थियो। त्यहीँ बूढो घामसँगै, बसको रफ्तारसँगै बनेपा, सागा हुँदै भित्रिएको थियो उपत्यका। अर्थात् देशको राजधानी।
साँझापखको काठमाडौं देखिन्थ्यो सुन्दर। नागर्जुन डाडाँमाथि लागेको पातलो तुवाँलोको धर्सो आकाश पुग्ने भर्याङजस्तै लाग्दथ्यो। साधनको गतिसँगै आइपुग्यो गन्तव्यमा। गन्तव्यमा आइपुग्दा कतै-कतै बत्ती बल्न थालेको थियो।
उनीलाई बस्ने ठाउँसम्म पुर्याएँ। आफू नि फर्किएँ आफ्नै डेरामा, फेरि-फेरि भेट्ने बाचा राखेर।
सहजै चलिरहेको थियो हामी दुईको जिन्दगी। बाँच्दै गरेको अर्बौं जिन्दगी जस्तै। उनले सानोदेखि ठूलो कुराहरू शेयर गर्थिन् मसँग। म पनि हरेक कुरा शेयर गर्थें उनीसँग। हामी दुवैको जिन्दगी संघर्षमय अवस्थामा थियो। भावी योजनाको साथ तयार गर्दै गरेको अध्ययन अनि वर्तमानमा आफू बाँच्नको लागि गर्दै गरेको कर्म। निकै व्यस्त थियो हाम्रो जिन्दगी।
हाम्रो सम्बन्ध बारे उनको परिवार अनि मेरो परिवारलाई थाहा थियो। हामी दुईबीचको सम्बन्धमा न स्वीकार थियो, न अस्वीकार नै। दुवै परिवारको एउटै कुरा थियो। पढेलेखेका छौं, जे मन लाग्छ त्यहीँ गर भन्ने छोटो निर्णय दिइएको थियो।
परिवारको मध्यमार्गी कुरालाई आत्मसाथ गरेर उहाँहरूको मन नटुटोस् भन्ने हेतुले खुब मेहनत साथ अघि बढाउँदै थियौं जिन्दगीको यात्रालाई, सुखदु:ख साटासाट गरेर।
वर्षात् ऋतु अस्ताएर शरद ऋतु उदाउँदै थियो। आकाश खुलेको थियो। वन, पाखा, पखेरी स्नान गरेर ताजा भएर सजिँदै गरेको तन्नेरी जस्तै देखिन्थ्यो।
केही वर्षअघिको कुरा। दसैं-तिहार गाउँघरको कोठेबारीमा सयपत्री, मखमली, गोदावरी बन्दै फुल्ने तर्खरमा थियो।
प्राचीले त्यो वर्षको दसैं-तिहार मनाउन घर जाने कुरा केही महिनाअघि नै मसँग गरेकी थिइन्। मैले उनीको कुरामा असहमत जनाउने कुरा भएन। म उनीसँगै उनको घर जान सम्भव थिएन। उनीसँग मेरो तन जान नपाए पनि मन पठाउने पक्का थियो। त्यसैले म दुखी थिइनँ। उनी घर जाने दिन क्रमशः नजिक-नजिक हुँदैथियो।
केही-केही सपिङ गरिन् उनले। चाहिने सामानहरू विशेष उनीलाई मर्ने रंगको कुर्था-सुरवाल, बा-आमालाई केही उपहार। उनीलाई चाहिने केही कस्मेटिक सामानलगायत।
मन बेस्सरी दुखेको थियो। चोट बिना नै। नाइटबस चढेर उनी जानेछिन् मलाई एक्लो छोडेर।
उनी जाने दिन त्यसै-त्यसै बिरहको साथ बिताएँ। साँझ हुनुअघि उनलाई पुर्याउन सँगै गएँ बसपार्कसम्म। बाटोभरि खासै कुरा गरिएन। दुवै जनाको मौनता नै काफी थियो। फेरि भेटिने वचनको साथ छुट्टियो।
बस चढेर उनी गइन्। म केही बेरपछि मात्र फर्किएँ, उनको मिठो स्पर्श कल्पनाको अंगालोभरि सम्हालेर।
उनी घर गएपछि म पनि आफ्नो जन्मथलो दसैं-तिहार मनाउन अलिकति उनीको याद बोकेर गएँ। परिवारमा सबै खुसी थिए। तर म त्यति धेरै खुसी हुन सकिनँ। प्राची साथमा भएको भए कति राम्रो हुने थियो! तर त्यस्तो हुन सकेन।
हामीसँग प्रतीक्षा गर्नु सिवाय अर्को विकल्प थिएन। भौगोलिक दूरीले टाढा भए पनि आइटीको दुनियाँले हामी दुईलाई नजिक बनाएको थियो।
मजस्तै उता उनी पनि दुखी भएको कुरा सुनाउने गर्थिन्। पीडादायी क्षणलाई छिट्टै भेटिने कुराले खुसी तुल्याउने गर्थ्यो।
दसैं-तिहार सक्कियो। उनी आउने दिन तय भयो। यो दिन यति बजे बसपार्कमा मलाई लिन आउनू है भनेर लेखी पठाएको म्यासेजले म खुब खुसी भएँ।
उनी आउनुभन्दा अगाडि नै म काठमाडौं फर्किएँ। पुनः आफ्नो दैनिकीसँग चल्न थालेँ। एक साँझ मेरो मोबाइलमा म्यासेज आयो। म्यासेज प्राचीको थियो।
'म घरबाट भोलि नेपालगन्जमा आइपुग्छु। अनि पर्सि बिहान काठमाडौं।’
म खुसी भएँ। सायद उनी पनि खुसी भएकी होलिन्। म पर्खिन थालेँ त्यो पर्सि बिहानलाई। जुन बिहानले मलाई मेरो जीवनको सबैभन्द प्रिय मान्छे लिएर आउँदैछ।
फोन गरिरहेँ पटक-पटक कहाँ आइपुग्यो, कस्तो हुँदैछ यात्रा भन्ने जानकारी लिन।
जुन दिन उनी काठमाडौं आइपुग्छु भनेकी थिइन्, लगभग त्यो रात म देखेर निद्रा भागेको थियो टाढा। मैले पटक-पटक कल गर्दा कहिले त उनी रिसाउँथिन्- 'कति कल गरेको! म थानकोट आइपुगेपछि कल गर्छु नि।’
उनको कुराले के छुन्थ्यो र मलाई, म फेरि-फेरि गरिरहन्थे फोन।
अन्तिम पटक म मुग्लिन आइपुगेँ भनेकी थिइन्। त्यसपछि पनि फोन गर्दै थिएँ मैले। तर फोन अचानक स्विच अफ भन्न थाल्यो। सोचें मोबाइलको ब्याट्री सक्कियो होला।
त्यसपछि पनि फोन गर्ने कोसिस गरिरहेको थिएँ, कतिबेला निदाएछु।
अलिकति सपना देखेँ। सपना ज्यादै भयंकर थियो। त्यहीँ भयंकर सपनाको कारण म बिउँझें।
बिहान हुँदै थियो। उठीवरि चिया बनाएर पिएँ। अनि पुनः उनलाई फोन ट्राई गरें। फोन अझै अफ थियो।
मनमा के-के कुरा खेल्न थाल्यो। त्यस्तै मन बोकेर म बसपार्कतर्फ लागें। बाटोभरि भेट हुने मन्दिरको देउतासँग सकारात्मक कुराको आशा राख्दै।
बसपार्क पुगें। काठमाडौंबाट बाहिर जानेभन्दा काठमाडौं आउने यात्रीको भिड खचाखच थियो। तर त्यति धेरै खचाखच भिडमा मेरो एकजना प्रिय मान्छे थिइनन्।
सुदूरपश्चिम यातायात व्यवसाय बोर्ड लेखेको काउन्टर तिर गएर सोधेँ- 'नेपालगन्जबाट आएको बस आइपुगेन दाइ?’
केही बोल्दैनन्। बोल्न पनि पैसा पर्लाझैं गरेर परिचय दियो यातायात व्यवसायको कर्मचारीले।
म कुरिरहें लिन आउनु भनेको मान्छेलाई। चिया खान मन लागेर एउटा होटलमा गएर बसें। आँखा होटेलको भित्तामा अडाएको भित्ते टेलिभिजनमा पुग्यो। बिहानको समाचार प्रसारण हुँदै थियो।
एकाएक यस्तो समाचार आयो जुन समाचारले मेरो ढुकढुकी बढेर साबिकभन्दा दोब्बर हुँदै थियो- नेपालगन्जबाट काठमाडौंको लागि आएको यात्रुबाहक रात्री बस धादिङमा दुर्घटना भएर त्रिशूली खोलामा झर्यो। केही यात्रीबाहेक अधिकांश यात्री खोलामा परेकोले उद्दारको लागि कठिन भएको छ।
समाचारले मेरो चिया पिउने तिर्खाको हत्या गर्यो। एकाएक म थरथर काप्न थालेँ। उनको बहिनीको नम्बरमा फोन लगाएँ। उल्टै उनीहरू मलाई सोध्दैछन्- दिदी आइपुग्नुभयो?
मभन्दा नि उनीहरू झन् बेखबर रहेछन्। मैले आइपुगेको छैन भनेर म्यासेर गरें।
काउन्टर गएर सोधपुछ गरें। बल्ल थाहा भयो, प्राची चढेको बस दुर्घटनामा परेको रहेछ। खबर गरें उनको परिवारलाई। म पनि दुर्घटना स्थलतर्फ लागें।
पुग्दा सुरक्षा निकाय, गोत्ताखोर खोजीमा जुट्दै गरेको पाएँ। घाइते यात्रीलाई उपचारको लागि अस्पताल पुर्याइसकेको रहेछ। सनाखत भएको पार्थिव शरीरहरू बुझिसकेको रहेछ। केही शरीर त्यहीँ थियो। केही अझै त्रिशूलीको गर्भबाट निकाल्न सकिरेहेको थिएन।
प्रत्यक्ष नभेटेको प्राचीका बा, बहिनी र दाइसँग भेट भयो। आमा आउनु भएको थिएन। खोजी जारी थियो। बसमा यात्रा गरेको तीनजना बाहेक सबै यात्रीलाई भेटियो। कोही जीवित, कोही मृत। खै के भनौं! त्यहीँ तीन जनाको नम्बरमा परिन् मेरी प्राची। दुई-चार दिनसम्म खोजी कार्य भयो। तर भेट्न सकिएन। खोजी नगरेर नभेटेको होइन, खोजी गर्दागर्दै नभेटेको।
प्राचीका बा, बहिनी र दाइ फर्किए। मनमा कति चोट लिएर फर्किए उनीहरूलाई नै थाहा होला।
म पनि फर्किएँ, खोजेर नभेटेको प्राचीको पार्थिव शरीर त्रिशूलीलाई जिम्मा लगाएर। खै कस्तो मजाक बनाउँछ परमात्माले कतिपय जिन्दगीहरूलाई! फुल्नै नदिएर कोपिलामै मार्नु छ भने किन जन्म गर्यौ फूलको?
आशा राखेर धाएको मन्दिरको देउताले नि सक्दैनन् रहेछ मान्छेले चाहेको जस्तो जिन्दगी दिलाउन।
असरल्ल छन् थुप्रै योजनाको खाकाहरू। मेरो जिन्दगीमा अवस्थित योजना आयोगको प्रमुख त्रिशूलीको प्रिय छोरी बनेदेखि जीवन यात्रा गर्ने बाटो भत्किएको छ।
झुक्याएर आउने सपनाहरूको प्रहारले पटक-पटक मृत्यु करार गर्दैछ। म मरेर बाँचेको छु। उनी मसँगै बाँचेर मरेका छौं। चोटा कोठा, छिँडी, पिँडी, मट्टान, बार्दली बिहीन खण्डहर भग्नावशेष मात्रै बाँकी रहेको थोत्रो घरको मौनता हुँ म।
उनी जिउँदो हुँदा म बाठो थिएँ। मेरो र उनको बठ्याइँमा फुलेको थियो प्रेमको फूल। जीवनको फूल। फूल आशा अनि भरोसाको। उनी गएदेखि म मौन छु। उनको याद मेटाउन धुलाएर राखेको उनको नबोल्ने तस्बिरजस्तै।