अन्जलिका र दर्पण प्रेम सम्बन्धमा गाँसिएको पनि पाँच वर्ष भैसकेको थियो। यसै खुसीमा उनीहरूले गएको वैशाख ७ गते नजिकका साथीसंगीलाई बोलाएका थिए। म पनि त्यही बहानामा उनीहरूलाई भेट्न गएँ। एकछिनको बसाइँ निकै रमाइलो भएको थियो।
खोटाङबाट आएकी अन्जलिका र कैलालीबाट आएको दर्पणको मायाप्रेम गजबको थियो। दुवै जनाको भेट लोक सेवाको परीक्षा केन्द्रमा भएको थियो।
दुवै जनाको परिवार हरेक हिसाबले सम्पन्न थियो। साथीको सल्लाह र परिवारको आग्रहलाई नकार्न नसकेर परीक्षा केन्द्र पुगेकी अन्जलिकाको भित्री आशय भने अमेरिकामा सिफ्ट हुने र परिवारलाई पनि उतै लाने थियो।
दर्पणको सोच भने भिन्न थियो। नेपाल राष्ट्र बैंकमा जागिर खाने, देशमा नै बस्ने र आमाबुबा सँगसँगै राष्ट्रको सेवा गर्ने। सोच जुसुकै होस् उनीहरू भेट चाहिँ परीक्षाको माध्यमबाट भएको थियो।
त्यही परीक्षा केन्द्र हुँदै म्यासेज, कल र भेटघाटबाट उनीहरूबीच माया झाँगिएको थियो। फरक-फरक सम्प्रदाय, भेषभुषा, संस्कृति, भौगोलिक क्षेत्र भए पनि उनीहरूबीच मायाको टुँसा पलाउन केही बाधा आएन र समय पनि लागेन झाँगिन।
त्यसको केही वर्षपछि दर्पणले नेपाल राष्ट्र बैंकमा नाम निकाल्यो। उनीहरूले पहिलो चोटि यही खुसीयालीमा परिवारलाई समेत जानकारी दिए। त्यो दिन दुवै परिवारमा खुसीको रौनक देखिएको थियो।
बारम्बारको असफलतापछि पनि अमेरिका जाने सोच नबदलिएको र बिहे गर्ने उमेर पुग्दा पनि खासै जिम्मेवार नबनेको भन्दै परिवारबाट गाली खाइराख्नु पर्थ्यो अन्जलिकाले। तर पनि न उसले हार मानेकी थिइन, न दर्पणले साथ दिन छोडेको थियो।
लाग्न सक्ला नेपाल नै बस्ने सपना देखेको, नेपाल राष्ट्र बैंकको जागिरे केटाले कसरी आफ्नी प्रेमिकालाई बाहिर पठाउन सहयोग गरिरहेको होला? किन विवाहको प्रस्ताव नगरेको होला? तर दर्पणको फरक थियो। ऊ आफ्नो हुनेवाली जीवनसंगिनी स्वावलम्बी भएको देख्न चाहन्थ्यो।
अन्जलिकाको अमेरिका जाने सपना भएको हुनाले ऊ उसको सपनाको कदर गर्थ्यो। चाहेको कुरा सबै कहाँबाट पाउन सकिन्छ र? अन्जलिकाको सपना पनि आकाशको फल आँखा तरी मर भने जस्तो भएको थियो।
यहीबीच उनीहरू सम्बन्धमा गाँसिएको ५ वर्ष भएको थियो। यो समयमा उनीहरूबीच मनमुटाव भयो, झगडा भयो, बोलचाल पनि भएन तर पनि माया भने कहिले घटेको थिएन।
हुन त मायाको परिभाषा मलाई संस्कृतको मन्त्रभन्दा बढी कठिन लाग्छ। तर पनि यिनीहरूको संगतले केही सिकेको र बुझेको थिएँ। यही बुझेको आधार र उनीहरूबीचको सम्पूर्ण गतिविधि नजिकैबाट नियालेको भएर नै मैले छिटोभन्दा छिटो विवाह गर्ने सल्लाह दिएको थिएँ।
घनिष्ठ मित्रको आग्रहलाई मध्यनजर गरेर नै उनीहरूले सुरुमा कानुनी विवाह गर्ने र लगन जुराएर धुमधामसँग विवाह गर्ने सल्लाह गरेका थिए। त्यही सल्लाहअनुरुप म, लक्ष्मी, सुजाता, प्रविना, सगुन र सार्थक साक्षी बसेर कानुनी रुपमा तथा बुबाआमा, समाज र भगवान साक्षी राखेर वैवाहिक सम्बन्धनमा बाँधिएका थिए, दुई चखेवा-चखेवी।
खुसी आएपछि खुसी नै खुसी भन्थे बुढापाका, त्यो कुरा अन्जलिकालाई विवाहको भोलिपल्टै आएको डिभी नतिजाले सिद्ध गर्यो। फेरि सम्पूर्ण परिवार खुसी भएको थियो, नजिकका आफन्त, इष्टमित्र खुसी थिए। आफ्नो सपना पूरा भएकोमा अन्जलिका यसै खुसी।
यसबीच सबैभन्दा बढी खुसी दर्पण थियो। विवाह सम्पन्न भएको एक हप्तापछि उनीहरू हनिमुनको लागि बाली गएका थिए। १२ दिने बालीको बसाइ सकिसकेपछि अन्जलिका डकुमेन्टका लागि जुट्न थालिन् र दर्पण आफ्नो काममा।
असार मसान्त चलिरहेको थियो, कामले दर्पण व्यस्त भएको थियो। समय चल्दै गएको थियो, अन्जलिका विदेश जाने दिनहरू आउँदै गएको पनि हेक्का राख्न भुलेको थियो दर्पणले।
अन्जलिकाको विदेश जाने दिन पनि आयो। केही समयको लागि चखेवा-चखेवी छुट्टिँदै थिए। छुट्नुअघि अन्जलिकालाई दर्पणले अंगालोमा बेरेको थियो। फ्लाइटको समय भएको जानकारी मैले दिएसँगै मन दह्रो गरेर निधारमा चुम्मन गर्यो र राम्रोसँग जाऊ भनेर उसले आँखाबाट आँसु तपक्क खसाल्यो।
कहिले नरुने दर्पण आज रोएको देखेर सबै भावविह्वल भएका थिए। अन्जलिकाले मन अमिलो पार्दै टर्मिनलभित्र छिरिन्। आज मेरो सपना भंग भए पनि हुने भन्ने भाव अन्जलिकाको मुहारमा झल्केको थियो।
जे-जे भए नि प्लेन आयो, अन्जलिका अमेरिकाको लागि उडिन्। दर्पण नेपाल बैंक जान दौडियो। अंकलअन्टी घरतर्फ लाग्नु भयो। र, म नि सगरमाथा चढ्ने वर्षौंदेखिको सपना पूरा गर्न आन्तरिक प्लेनबाट नाम्चे बजारको लागि प्रस्थान गरें।
महिनौंदेखिको तयारी, लाखौं खर्च, वर्षौंको सपना पूरा गर्न म तन, मन र धनले एकचित्त भएर लागेको थिएँ। नाम्चे झरेपछि घरमा एकपटक कुराकानी भएको थियो। त्यसपछि म गुमनाम भएको थिएँ।
सगरमाथा चढ्ने पालिकाको सर्वप्रथम भएकाले हौसला दिन केही दिन अघिदेखि घरमा आफन्तको उपस्थिति बाक्लो थियो। त्यसैलाई मध्यनजर गरेर सगरमाथा सफलसँग चढेर बेस-क्याम्प झरेको दिन घरमा कल गरें।
फोन लाउड स्पिकरकारमा रहेछ। म बोलेको सुन्ने बित्तिकै सबैले खुसी साटासाट गरेको फोनबाट सुनिन्थ्यो। सुजाता, प्रविना, लक्ष्मी, सगुन र सार्थकको आवाज पनि सुनें। त्यसपछि म पनि खुसी भएँ किनकि मैले हिराजस्ता मित्रहरू पाएकोमा। मलाई १० वटा सगरमाथा चढेको जस्तो महसुस भयो।
‘काठमाडौं आएपछि कुरा गरौंला राम्रोसँग आइज, धेरै कुरा सुनाउन बाँकी छ,’ यति भनेर बाबाले कल राखिदिनु भयो।
एयरपोर्टमा सम्मान गर्न परिवार, आफन्त, इष्टमित्र र म भनेर चिन्ने सम्पूर्णको बाक्लो उपस्थिति थियो तर दर्पणको परिवार आएको थिएन। त्यत्रो सगरमाथा चढेर आएर खुसी भएको मेरो मन केही क्षणमा अमिलो भयो।
खैर केही छैन भेटेर कुरा गर्छु भन्ने उदेश्यका साथ सम्मान कार्यक्रम सकेर म सिधैं घरतर्फ मोडिएँ। तीन महिनादेखि बिमारी भएकी मेरी प्राण प्यारी छोडेर सगरमाथाको यात्रामा निस्केको म उनलाई भेट्न धेरै नै आँतुर थिएँ, एयरपोर्टदेखि नै।
मेरो पाइलाको आवाज र हावाको प्रभावले पनि चिन्ने उनले आज भने मेसो पाउन सकिनन्। म विस्तारै उनको नजिकै गएँ, विस्तारै खाटबाट उठाएँ, अंगालोमा बेरें, एकचोटि गालामा चुम्बन गरें र सोधेँ- ‘अहिले कस्तो छ तिमीलाई?’
उनले मुसुक्क हाँसिन् तर मन अमिलो पारिन्। मैले जान्ने कोसिस गरेँ। उनले भनिन्- ‘दिदीभिनाजुको आज डिभोर्स भयो।’
अर्को झट्का लाग्यो मलाई। फेरि त्यत्रो साक्षी बसेर कानुनी विवाह गरेको, लगन जुराएर गरेको विवाह, उनीहरूकै सल्लाहमा पर्वतनन्दिनीसँग मागी विवाह गरेको, साथीबाट साइनोमा जोडिन सिकाएको, मायाको परिभाषा दिन सिकाएको चखेवा दर्पण र चखेवी अन्जलिका छुटि्एको कुरा मैले पत्याउन सकिनँ, त्यही पनि यति छिट्टै।
यो त जसले शान्तिको पाठ सिकायो उसैले हत्या गरे सरह भएन र? मैले मेरी पर्वतनन्दिनीलाई प्रश्न गरेँ।
उनले भनिन्, ‘धेरै राम्रो कुरा धेरै समय टिक्दैन, त्यही भयो। माया प्रेम यस्तै हो। मलाई पनि धेरै माया नगर्नू’ भनेर चेतावनी दिइन्।
त्यसपछि मैले आफूले आफूलाई प्रश्न गरेँ। गल्ती कसको मतलब भएन तर छुट्टिनु नै थियो त किन विवाह गरेको? माया छोड्नु नै थियो त माया किन गरेको? मुख्य कारण के थियो छुट्टिनुको? किन घरपरिवारले केही नभनेको?
अन्जलिकालाई किन डिभी परेको? दर्पण र अन्जलिकाको बेकारमा किन भेट भएको? किन त्यति माया गरेको? यो माया प्रेम कसले बनाएको? ती दुई मेरा नजिकका नातेदार, अझ बढी मित्र दर्पण र अन्जलिकाले सिकाएको मायाको परिभाषा गलत थियो र?
यी र यस्तै लाखौं प्रश्न मनमा खेलाइरहें। मसँग कुनैको उत्तर थिएन। अझ बढी त मलाई मेसो नभएको कुरा चाहिँ- ‘आखिर यो माया के हो?’