ठूला-ठूला अस्पतालहरू
ठूला-ठूला खर्चहरू
नानाथरी ओखतीहरू
अनेक-अनेक औजारहरू
प्रविधिका प्रयोगहरू
मानिसका ज्ञानहरू
थुप्रै-थुप्रै आफन्तका
दु:खहरू, कष्टहरू
सबै-सबै बोलाइरहेछन् यता
बाँच्नेहरूलाई।
अग्ला-अग्ला भिरहरू
बलिया-बलिया डोरीहरू
ठूल्ठूला खोलाहरू
जंगल अनि रुखहरू
आवेगपूर्ण रिसहरू
लोभ्याउने विषहरू
गोलीहरू धारहरू
पटक-पटक हारहरू
माया गर्छु भन्नेहरूका
झुटहरू, धोकाहरू
सबै-सबै बोलाइरहन्छन् उता
मर्नेहरूलाई।
म चिलले हेर्ने आकाशे नजरले
साक्षी भावमा उभिएर
माथिबाट हेरी हेर्दछु
तब देख्दछु
चलिरहेछ यो खेल तानातानको
कहिले यता पछारिन खोज्छ
कहिले उता पछारिन खोज्छ
हुत्तिनु र चिप्लिनु चलिरहेछ
बस् चलि नै रहेछ।