कम्युनिस्ट नै थिएँ म
खै कसले मेरो सालिकमा
फूलमाला लगाएछ
मेरै नाममा प्रतिष्ठान खोलेर
राज्यको ढुकुटी रित्याएर
ठूलो महल बनाएछ
त्यही महलमा प्रत्येक दिन
म नभएको खुसियाली मनाएछ
ऊ मेरै पाइला बेचेर उचाइमा पुग्यो
मैले छाडेका डोबहरू नपछ्याइ
आत्मरतिमा उडेर सहर पस्यो
त्यो सपना, लडाइँ, गोलीका छर्रा
उसलाई बचाउन छातीमा तातो गोली थापेको
आज उसैले भुसुक्क बिर्सियो
क्रान्ति गर्छऽ देश बन्छ भनेर जीवन सुम्पेको थिएँ
ऊ बन्छ उसैले खान्छ भनेर हैन
सामन्तीको गोलीबाट पलपल उसलाई जोगाएँ
आज मृत्यु जितेर आएको घमण्डमा बार्दलीबाट पुलुक्क हेर्छ
सन्तानलाई टुहुरा बनाएर
प्यारीको सिउँदो रित्याएर
आमाबुवालाई पुत्र वियोगमा छाडेर
म नभए पनि ऊ छ भनेर
नेपाल आमाको छोरा बन्छ भनेर
मेरो आयु उसैलाई जिम्मा लगाएर
सिद्धान्त भुल्नु धनी बन्नु भनेर हैन
सहादत प्राप्त गरेको दिन
आफ्नै मृत्युमा गर्व गरेको थिए
आज ती बाढिएका सपनाहरूको हत्या गरेर
मेरो रगतको टीका लगाएर
ऊ निर्लज्ज हिँडिरहेको देख्दा
मेरो आत्मा त्यसै भड्किरहेको छ
मेरो आत्मा त्यसै भड्किरहेको छ।