यी न्यायलय औ प्रशासन मिले धोती भए कानुन ।
भ्रष्टाचार विकार विकृति मिली निल्दैछ सारा जन ॥
चोरी व्याप्तछ भूमिको र सुनको द्यौता दया दानको ।
लुट्छन् किन यो अहो ? हृदयको सद्भाव यो भूमिको |
छोरीको जिउ ज्यान खै ? मुलुकमा मर्दैगयो गौरव ।
खेस्रा कानुनको नकोर न भयो निर्धा निचोर्ने रथ ॥
दोषी छन् किन मन्त्रिमण्डल यहाँ दोषी छ यो सांसद ।
भ्रष्टभ्रष्ट छ ओहदा जति सबै को हेर्छ यो उत्सव ? |
टिक्तैनन् किन योजना सड़क यो भत्केर खाल्डो किन ? ।
सारा प्राज्ञ र विज्ञका लहरमा छन् भ्रष्टचारी किन ? ||
मेलाम्चीसँग सोध खोज जलमा गोही बसेको किन ? |
हाम्रा यान- विमानघाटघरमा बेचिन्छ नेता किन ? |
बिक्तैछन् किन भित्र-भित्र दलका यी कार्यकर्ताहरू ।
देख्तैनन् किन इन्द्रका नयनले काला गड्यौलाहरू ||
यो गोदाम बजारका तिहुनमा हट्दैन औंसा किन ? ।
यौटै उत्तर भ्रष्टछन् मुलुकका सम्पूर्ण नेता गण ॥
शिक्षा भ्रष्ट बनाइयो मुलुकका यी प्राज्ञका हातले ।
रोगी उठ्न सकेन वैद्यगुरूको धुत्ने महाजालले ||
मान्छेको घर छैन प्राविधिकका झोला भरिन्नन् यहाँ ।
अत्याचार छ यो प्रशासन सधैं कुर्दैछ गोजी यहाँ ||
भ्रष्टाचार टिपेर फाल शिरमै धुम्दैछ त्यो चातक ।
पीडाको दहमा डुबेर जनता हेर्दैन यो नाटक ||
भ्रष्टचार निमोठ्न यो मुलुकमा उठ्छन् सबै मानिस ।
भ्रष्टचार गरेर बाँच्न कहिल्यै सक्तैन कोही अब ||