‘पापा, ह्वाट इज लभ?’
एकाबिहानै भर्खरै विद्यालय जान सुरु गरेकी मेरी ३ वर्षीय छोरीले सोधिन्। म एकछिन अक्क न बक्क भएँ। यताउता नजर घुमाई पुनः एकोहोरो छोरीको निर्दोष अनुहार हेरेर वाल्ल परें।
उत्तर नपाएपछि छोरीले विकल्प दिँदै पुनः प्रश्न गरिन्, ‘प्लिज! पापा, टेल मि ह्वाट इज लभ?’
मेरो मुटुको धड्कन बढ्न थाल्यो। घाँटीमा सास अड्केझैं भान हुन थाल्यो। के भनौं? के सुनाउँ? कसरी परिभाषित गरुँ सारा ब्रह्माण्ड छोपेको यो प्रेम शब्दलाई? आफ्ना विषयमा दखल राख्ने संसारका महान् हस्तिले त प्रेमको पूर्ण परिभाषा दिन सकेका छैनन् भने मैले ३ वर्षीय नाबालिगसामु प्रेमलाई कसरी परिभाषित गरुँ?
मेरो मौनता बढिरहेको थियो तर आँखा बोलिरहेका थिए। छोरीको नजिक गएँ, उसलाई अंगालोमा लिएँ। निधारमा चुम्बन गरेँ।
‘सानु, अहिले पापालाई हतार छ। साँझ फर्केपछि भन्छु ल। बाई लिटल च्यम्प्स।’
छोरीलाई दिलमायाको जिम्मा लगाएर म घरबाट बाहिरिएँ। एकपटक फर्केर हेर्न मन लाग्यो। बार्दलीबाट दिलमाया र छोरीका हातहरू मेरो बिदाइका खातिर हल्लिरहेका थिए। दिलमायाको मुहारमा गम्भीरता छाएको थियो। आँखा सोचमग्न भएका थिए। मानौं पूर्णेको पूर्ण चन्द्रमालाई ग्रहणले छोपेझैं। गाडी चढें, गाडीले विस्तारै बाटो नाप्न थाल्यो।
मनभरि कुरा खेल्न थाले। टाउको भारी, जीउ सिथिल भएझैं आभास भएको थियो। कसले सुनायो होला मेरो अबोध छोरीलाई प्रेम शब्द? उसको सरम्यामले? अहँ! होइन होला। कसले त दिलमायाले? भलेही उनले के आधारमा किन सुनाइन् होलिन् र? आखिर कसले त? कतै...? धत! यस्तो नि सोच्ने हो? मनमा प्याट थप्पड लाग्यो।
करिब आधा घडीको गुडाइपछि कोहलपुर अफिस पुगें। हाजिर लगाएँ। आज काम गर्नै मन लागेन। चमेना गृह गएँ। एक कफ चिया र बिस्कुट मगाएँ। बितेका दिनमा चियामा बिस्कुट डुबाएर खाँदा ८४ व्यञ्जन सेवन गरेझैं लाग्थ्यो। तर आज चियामा के-के नपुगेको अनि बिस्कुट तितो लाग्न थाल्यो।
फेरि त्यही सवाल दिलको कुनाकन्दारबाट हानिएर आयो। कानमा दोहोरिँदै तेहेरिँदै गुन्जन थाल्यो। मानौं कानै छेडेर बन्दुकको गोली गएझैं। त्यही छोरीको सवाल। चिन्ता उत्तर नजानेर थिएन, थियो त केवल उसलाई कसरी परिभाषित गरुँ प्रेम शब्दलाई? के बुझ्ली अबोध बालिकाले?
जबकि बुद्धले मानवताको प्रेम खोज्न दरबार त्यागे। इश्वरको प्रेम खोज्दै देवकोटा ढले। धनको प्रेम खोज्दै मदन लासा पसे। मुनाले मदनको प्रेम रोज्दै संसार छोडिन्। संसार जित्ने संकल्प राख्ने हिटलर प्रेमसँग हारे। देशको प्रेमले हजारौं युवालाई सहिद बनायो। अरु के भनुँ?
नभनुँ पनि कसरी? छोरीको कोमल मस्तिष्कमा मप्रति कस्तो छवि बन्ला? बाबा त नजान्ने हुनुहुँदो रहेछ या बाबा झुट बोल्नु हुँदोरहेछ।
यसरी नै आफ्नै मन र विचारसँग दोहोरी खेल्दै थिएँ। अचानक साहुनी दिदीले सोध्नुभयो- ‘हैन, सधैं हाँसिरहने भाइलाई आज के भयो? कतै... बुहारीले।’
‘हैन-हैन, त्यस्तो’ हडबडाउँदै उहाँको कुरा काटें।
उहाँको कुराले मुटु गरम बनायो। बाँकी केही नबोली अफिसतिर लागें।
‘बुहारी’ मतलब दिलमायाले। उनले के गरिन् र? आजसम्म नजर उठाएर त मसँग कुरा गरेकी छैनन् भने आज के गरिन् र? झन् मनमा काउकुती लाग्न थाल्यो।
आज काम गर्न मनै लागेको थिएन। सधैं हाँसोले गुन्जयमान हुने अफिस सन्नाटा छाएको थियो। सबै कर्मचारी मौनधारण गरेर काममा लिप्त भएका थिए। चारैतिर सुनसान थियो। त्यसो कारण कोही थियो त केवल म थिएँ। म आफैंलाई पनि आफैंसग घृणा बोध भएको थियो। आफैंसँग रिस उठिरहेको थियो।
एक्कासी मेरो मोबाइलको रिङटोन बज्यो। सबै कर्मचारीको ध्यान मैतिर तान्नियो। सबैजना आफ्नो ठाउँबाट जुरुक्क उठे र एकआपसमा कानेखुसी गर्न थाले। मैले विस्तारै मोबाइल उठाएँ। सेभ नगरिएको सम्पर्क नम्बरबाट म्यासेज आएको थियो।
मनमनै म्यासेज पढें। म्यासेजले मलाई स्तब्ध बनायो। मोबाइल हातबाट छुटेर भुइँमा बजारियो। मेरो आँखाबाट आँसु गाला हुँदै भुइँमा तपतप चुहिन थाले। अनुहारमा भ्रमताको बादल मडारिन थाल्यो। शिर झुक्यो। शरीर सिथिल भयो। टाउकोमा हजार किलो वजनले थिचेझैं भान भएको थियो।
सबै कर्मचारी ‘के भो? के भो सर?’ भन्दै मतिर दौडिएर आए।
रविले पानी पिलायो। म विस्तारै उठें। ‘म ठिक छु’ भन्दै मोबाइल टिपें। अरु केही बोल्न मन लागेन। सबैलाई छोडेर बाहिर बगैँचाको झुलुङ्गोमा गएर बसें। फेरि त्यही म्यासेज पढ्न मन लाग्यो।
‘हाई डियर डिसी, के छ खबर? सायद तिमीले मलाई भुल्यौ होला, म तिम्री स्यान्डी। सरी तिमीलाई इन्फर्म नै नगरी म युएसए गएको थिएँ। बिजी भएर कल/म्यासेज गर्न सकिनँ। म हिजो नेपाल फर्किएको। तिमीलाई थाहा छ आज हाम्रो फिप्त लभ एनिभर्सरी हो नि। म अहिले केएमसी होटलमा छु। आऊ, बिग सेलिब्रेसन गर्नपर्छ। म तिम्रो पर्खाइमा बसेको छु।’
मेरो गर्लफ्रेन्डको म्यासेज थियो। जसलाई म आफूभन्दा नि धेरै माया गर्थें। उसैसँग बिहेवारी गर्ने सपना बुनेको थिएँ। विगत तीन वर्षदेखि हाम्रो सम्पर्क टुटेको थियो। उनी अमेरिका गएकी रहेछिन्। यता मेरो घरमा आमाले बिहेको कुरा चलाइसक्नु भएको थियो।
दिलमायालाई आमाले रोज्नु भएको थियो। नरुचाउन पनि कसरी? उनको शालिन, भद्र, सुशील, सहनशील स्वभाव। पूर्णिमाको पूर्ण चन्द्रमा झैं धप्पक बलेको मुहार। मृगनयनी आँखा, चन्चल गुलाफी ओठ। मिलेको लामो केश। दैवले नि फुर्सदमै बनाएको झैं थिइन् उनी।
बिहेको अघिल्लो रातसम्म हामी अपरिचित थियौं। आमाले हाम्रो मागी विवाह गराइदिनु भएको थियो। नजाने आमाले आफ्नो जिन्दगीमा मेरो खुसीको लागि आफ्ना कयौं रहर मार्नुभयो। सन्तानको बिहे गरिदिने हरेक अभिभावकको कर्तव्य र रहर हुन्छ। त्यसैले यो चोटि मैले आमाको खुसी मारिनँ अनि कर्तव्य र रहरबाट पनि बिमुख गरिनँ।
एक वर्ष त एकअर्कालाई चिन्दैमा बित्यो। नामजस्तै मायाको खानी भएको दिल थियो उनको। कसैले क्या खुब भनेको छ- ‘यो जरुरी छैन कि जोसँग प्रेम होस्, उसैसँग बिहे होस्। तर यो शक्त जरुरी छ कि जोसँग बिहे होस्, ऊसँग चाहिँ प्रेम होस्।’
यो भनाइप्रति हामी दुवैको समान विचार थियो।
बिहे भएको प्रमाणका रूपमा छोरी थिइन्। अब बिहेको कुरा स्यान्डीलाई कसरी भनुँ? किनकि मैले त ऊसँग नै बिहे गर्छु भनेर कसम खाएको थिएँ। अनि यता पूर्व प्रेमिकालाई भेट्न जान्छु भनेर दिलमायालाई कसरी भनुँ? घाँटीमा अड्केको मासु झैं निल्नु न ओकल्नु भयो।
अपरान्हको ४ बजिसकेको थियो। अफिस बन्द भयो। म भने अझै रनभुल्लमा थिएँ। घर फर्कन मनै लागेको थिएन। घर नफर्के कता जाने? दिनभरि खुला आकाशमा जति भौतारिए पनि चरी त साँझ आफ्नै गुँडमा फर्कन्छ। यही सोचेर भारी मन लिएर घरतिर लागें।
दिलमाया र छोरी सधैंझैं मलाई पर्खेर बसेका थिए। मलाई देख्ने बित्तिकै दौडेर छोरी मकहाँ आइन्। सधैं छोरीलाई अंगालो हालेर गोजीभरि ल्याइदिएको मिठाई दिन्थें अनि मेरी उनीलाई निधारमा चुम्बनको साथमा केही न केही उपहार ल्याइदिन्थें।
अपसोच! तर आज आफ्नै होस हराएर आएको थिएँ। दुवैलाई बेवास्ता गर्दै, नित्यकर्मलाई तोड्दै म सरासर आफ्नो कोठामा गएँ। कपडा नै नखोली ओछ्यानमा रुख ढलेझैं गर्ल्याम ढलें।
घरमा जे-जस्तो घटना घटे पनि त्यसको प्रभाव अवोध छोरीको मस्तिष्कमा नपरोस् भन्ने हामी दुवैको समान सोच थियो। त्यसकारण घर बाहिर जे-जस्तो भए पनि घरभित्र हामी मर्यादित भएर बस्थ्यौं। तर आज मैले मर्यादा तोडें। आफूलाई सम्हाल्न सकिनँ।
केहीबेरमा छोरीलाई आफ्नो कोठामा छोडेर दिलमाया खाजासहित हतार-हतार मेरो कोठामा आइन्। खाजा टेबलमा राखिन्।
‘के भो तिमीलाई?’ मेरो नजिक आएर चिन्तित स्वरमा सोधिन्।
मैले जवाफ दिन जरुरी ठानिनँ। विस्तारै उठेर कपडा फेर्न थालें। कपडा फेर्न उनले पनि सहयोग गरिन्।
‘आऊ, खाजा खाऊ’ हात समाएर उनले सोफामा बसालिन्।
आज खाजामा मलाई मनपर्ने भुटेको मकै र मही बनाइदिएकी रैछिन्। आफ्नै हातले एक-एक दाना मकै खुवाउँदै, मही पनि पिलाइदिइन्। उनका आँखा आशालु भएर सोध्दै थिए- ‘खोइ त मलाई खुवाएको?’
मैले भने बेवास्ता गरिरहेँ। म त केवल त्यही एसएमएस भन्न खोजिरहेको थिएँ। कसरी भनुँ? आँट नै आएको थिएन। एकपटक उनको अनुहार एकटक भएर हेरेँ। अब त भन्छु भन्ने आँट आयो। लामो-लामो सास लिएँ। उनको कोमल गालामा चुम्बन गरेँ। बेसरी उनलाई अंगालोमा बेरें।
उनी झसंग झस्किन्। हातको प्लेट र गिलास भुइँमा बजारिए। खाजा कोठाभरि हुर्रिए। मही पोखिएर भुइँ सेताम्मे भयो। विस्तारै उनले पनि मेरो अंगालो स्वीकार गरिन्। उनका हातले मेरो ढाड स्पर्श गर्न थाले। आँखाहरू झुमिए। मनको डर हटेर आत्मबल बढ्यो। रिसाउन नपाउने सर्त राखेर मैले दिनभरिको कहानीको बेलिबिस्तार लगाएँ।
स्यान्डी र मेरो विगत सुनाउँदै गर्दा मेरा आँखा रसाए। कहानी सुन्दै गर्दा उनका आँखाले पनि धेरै बेरसम्म आँसु रोक्न सकेनन्। उनले मलाई आफूतिर तानेर बेस्सरी च्यापेर भक्कानिँदै रुन थालिन्। उनका आँसु मेरो कुमदेखि छातीतिर लम्किँदै नाभीको बाटो हुँदै नग्न पैतालामाथि तपतप झरेका थिए।
मेरा आँसु भने उनले लगाएको रातो सिंदुरमा झरेका थिए। उनका आँसु त मैले हातले पुछिदिएँ। तर विवाह मण्डपमा अग्नि साक्षी राखी सात फेरा लिएर कहिले पुछिन दिन्नँ भनी कसम खाएर यी नै हातले भरिदिएको सिन्दुर भने मेरै आँसुले धोइदियो।
सिन्दुर बगेर उनको अनुहारभरि लतपतिएको थियो भने मेरो हृदयभरि। विस्तारै उनी मबाट अलगिन् तर आँसु रोकिन मानेका थिएनन्। बाहिर गएर उनी फ्रेश भएर आइन् अनि आफ्नो सारीको फुर्कोले मेरा आँसु पुछिदिन्।
हामीबीच मौनता सकिएको थिएन। करिब रातिको 9 बजेतिर पुनः त्यही नम्बरबाट एसएमएस आयो- ‘प्लिज डिसी, बुझ न। हो गल्ती मेरो थियो, त्यसको लागि सरी। मैले हाम्रो माया भुलेकी छैन। म तिमीलाई त्यति नै माया गर्छु। आऊ न डिसी म कुरेर बसेको छु प्लिज।’
अब मैले भन्नु केही थिएन। सबै एसएमएस दिलमाया आफैंले पढेर मलाई सुनाएकी थिइन्। कस्तो अग्नि परीक्षा? जहाँ पास र फेल दुवैले दिलमायाकै क्षती निश्चित थियो।
उनी आफूलाई दासी बनाएर मलाई सुम्पन तयार थिइन्। तर मलाई कोही परस्त्रीलाई सुम्पन सक्दैन थिइन्। सायद यही सम्बन्धको राजलाई श्रीमती भनिँदो हो। त्रेता युगमा राम नभएको बेला रावणले सीतालाई हरण गरेका थिए। तर अहिले सीताकै अगाडि कुनै परस्त्रीले रामलाई हरणको प्रस्ताव गर्दै थियो।
लामो समयको मौनतालाई तोडेँ, उनको हात समाएँ।
‘हेर, स्यान्डी मेरो भूत हो। तिमी त मेरो वर्तमान र भविष्य हौ। उसलाई भुले मलाई फरक पर्दैन। तर तिमीबिना त म अनाथ हुन्छु। त्यसकारण...’
आफ्नो हात मेरो हातबाट छुटाएर मेरो दुवै गालामा पालैपालो प्याट-प्याट थप्पड हान्दै भनिन्- ‘त्यस्तो कुरा पनि गर्ने हो! तिमी त मेरो जीवन हौ। तिमीबिना त हाम्रो जीवन अधुरो र अपूरो छ।’
मेरो काखमा पल्टेर रुन थालिन्। म आफ्नो गाला सुम्सुमाएर बस्नु सिवाय केही गर्न सकिनँ। उनी आफैं उठिन् र भनिन्- ‘जाऊ, गएर उसलाई भेट। सबै कुरा भनिदेऊ ताकि उसले पनि आफ्नो नयाँ जिन्दगी सुरु गरोस्।’
म आकाशबाट खसेझैं भएँ। अचम्म परेँ। मैले केही बोल्नुअघि नै उनले थपिन्- ‘छिटो जाऊ, चाँडै फर्कनू हामी पर्खेर बस्नेछौं।’
म सोफाबाट उठें। कपडा लगाएर कोठा बाहिर निस्कें। फर्केर एकपटक उनलाई जोरले अंगालोमा च्यापें।
उनको मुहारमा कालो बादल मडारिएको थियो। अनुहारको कान्ति र शान्ति हराएको थियो। घरबाट निस्कँदै थिएँ छोरीलाई बिहानको प्रश्नको जवाफ दिन मन लाग्यो। छोरीलाई भेट्न ऊकहाँ गएँ। उनी पढिरहेकी थिइन्।
‘हाई लिटल च्याम्प्स्!’
‘हाई पापा।’
तिमीले बिहान मलाई के सोधेको रे।
‘ह्वाट इज लभ?’ उनले सहस्र भनिन्।
मैले सोच्न नपाउँदै मुखबाट फुत्त जवाफ आयो- ‘लभ इज एभ्रिथिङ।’
म आफैं छक्क परें। कहाँबाट आयो यो उत्तर? छोरीबाट बिदा लिएँ। सामुन्ने दिलमाया उभिएकी थिइन्। जानुपूर्व उनीसँग केही बोल्न चाहन्थें तर उनले नबोलेर जान इसारा गरिन्। म घरबाट बाहिरिएँ।
गाडी चढें। सधैं झैं फर्केर एकपटक बार्दली हेर्न मन लाग्यो। बार्दली आज निसम्म थियो। सधैं मेरो बिदाइका लागि हल्लिने दिलमाया र छोरीका हात थिएनन्। केवल एउटा सेतो तन्ना बेस्सरी हल्लिरहेको थियो। मानौं सधैंको लागि बिदाइ दिन खोजिरहेको थियो। मन भारी बनाएर बाटो लागें।
मनभरि सवालैसवाल थिए। सवाल, के म आज सही गर्दैछु या गलत? सवाल, घरमा श्रीमती हुँदाहुँदै राति-राति परस्त्री भेट्न जानु सही हो या गलत? आखिर प्रेमको सहि मतलब के हो?
सवाल, के प्रेम दुई विपरीत लिङ्गीले यौन आक्रमणको लागि गरिने सामीप्यता हो? प्रेम क्रान्तीपछिको शान्तिको आभास हो या शान्तिपछिको क्रान्तिको मिठास हो? के प्रेमको त्यागले मान्छेलाई मोक्ष प्राप्ती गराउँछ या प्रेमको संभोगले सन्तुष्टि दिलाउँछ?
यावत् सवालजावफसँग दोहोरी खेल्दै बाटो काट्दै थिएँ, मोबाइलको घन्टी बज्यो। गोजीबाट मोबाइल झिकें। त्यही नम्बरबाट कल आएको थियो। कल रिसिभ गरेर मोबाइल हेल्मेटभित्र घुसाउन लाग्दा मोटरसाइकल अनियन्त्रित हुनपुग्यो अनि एक्कासी अगाडिबाट आइरहेको ट्रकमा ठोकिन पुग्यो। केवल फोनबाट ‘हाई डियर डिसी...’ मात्र सुन्न पाएँ।
भोलिपल्ट अस्पतालको नोटिश बोर्डमा टाँसियो-
मिति २०८०/१/२१
बिहान १०:००
विसं २०८९/१/२० गतेका दिन सडक दुर्घटनामा परी राति ११:३० बजे बेड नम्बर १११ मा भर्ना हुनुभएका श्री दिनेश क्षेत्रीको अत्यधिक रगत बगेका कारणले हाम्रो अथक प्रयासका बाबजुद सल्यक्रिया अगावै दु:खद् निधन भएको छ।
मृत दिनेश क्षेत्रीको आत्म शान्ति कामना र परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौं।
-अस्पताल परिवार।