सुख दिन्छु भनेर आमालाई
पर–देश हिँडेको म
भरदिन भररात आमाकै आँखामा
आँसु देख्छु
सोच्थें
पैसाले सबैथोक दिन्छ
पैसाले सबैथोक किन्छ
पैसाले सबै भोक मेट्छ
अनि सुखी बन्छु
अनि खुसी बन्छु
निस्पट्ट यी अँध्यारा रातलाई
सधैं झलमल झलमल जूनले सजाउँछु
ओइलिएका सप्पै सपना
ढकमक फुलाउँछु
सुकिसकेको सुखको मुहान
अब मूलै फुटाउँछु
के छैन अहिले?
सबै छ
महल छ
धनको अम्वार छ
खोजेकै जस्तो ज्ञान छ
तर यही महल ओडार लाग्छ
जहाँ आमाको ममता छैन
यो धन माटो लाग्छ
जसको कुनै मूल्य छैन
यो ज्ञान खोक्रो लाग्छ
जहाँ जीवन गहिराइको चेत छैन
देख्छु
डलर छ
एन छ
दिराम छ
पर-पर जाने बाटो छ
तर पुग्ने गन्तव्य छैन
गन्तव्य बिनाको यात्रा हिँड्नु वा नहिँड्नुमा के फरक पर्छ र?
हेर्छु
सबै-सबै छ तर म, म छैन
सबै भएर म, म नहुनुको के अर्थ?
बेचेर सपना
तौली-तौली समयलाई
जवानी सकाएको छु
तागत बिनाको जवानी देखर
मुर्दा लाग्छ आफैंलाई
लक्ष्यबिना घिसारिरहेको यो शरीर
जिउँदो लास हो
संसार जित्न हिँडेको म
जोडेको छु करोडौं अर्बौं
तर मेरो धनले
गाउँमा
घिट्घिटो मात्रै बाँकी रहेका बा’लाई
एक मुठ्ठी तातो पानी दिन सक्दैन
संसारै सन्तान भनेर आफैंलाई बिर्सिएकी आमालाई
छोराको एक झल्को मात्रै देख्दा स्वर्ग लाग्दो हो
मलाई त दौडा दौड छ यहाँ
मलाई त भागा भाग छ यहाँ
तर थाहा छैन
थाहा छैन यसरी
के पाउनेछु
के गुमाउनेछु
देश बनाउँछु भनेर परदेश झरेकाहरू
आफैं रसातलमा भासिएको देख्छु
हिजो
देश फेर्न चाहने आफैं फेरिए
उम्लिएको रगत पोखिएर
कता हो कता सकिए
देख्छु
देशलाई खास माया गर्नेहरू त लाटा छन्
बहिरा छन्
अन्धा छन्
तर भरोसा टुटेको छैन
लाटा जागेको दिन देश जाग्नेछ
बहिराले सुनेको दिन देश जाग्नेछ
अन्धाले देखेको दिन देश जाग्नेछ
सायद
म पनि ब्युँझेर भनूँला आफ्नै अन्तस् चेतनाबाट
मभित्रै छ उद्धारको द्वार
मभित्रै बलिरहेछ उज्वल ज्योति
मभित्र छ परम शान्ति
जहाँ म नकुदी पुग्न सकूँ
जहाँ म आफ्नै सपना देख्न सकूँ
जहाँ म आनन्द खोज्न सकूँ
जहाँ म आमाको न्यानो काखमा निदाउन सकूँ।