डडेल्धुरा सदरमुकामबाट १० किलोमिटरको दूरीमा तराई झर्ने बाटोमै पर्छ भात्काँडा बजार। मेरो घर दार्चुला भएता पनि फुपूको घरमा बसेर भात्काँडा बजार नजिकै सरस्वती माविमा पढिरहेको थिएँ।
फुपाजु दुग्ध व्यवसायमा हुनुहुन्थ्यो। बिहानै उठेर नजिकका गाउँहरूबाट आएको दूध संकलन तथा बिक्री गर्नुहुन्थ्यो। फुपाजुलाई सघाउन म पनि एकछिन भए नि डेरीमा बस्थें। दूध पुर्याउन तथा किन्न मेरै उमेरका स्कुले केटाकेटीहरू पनि आउने गर्दथे।
पुस महिनाको बिहानीको कुरा थियो, कालो टोपीसहितको ज्याकेट अनि रातो पछ्यौरीले मुख छोपेर हातमा दूधको बाल्टिन बोकी एउटी युवती आइरहेकी थिइन्। मैले टाढैबाट देखिसकेको थिएँ।
आफूले आफैंलाई सोधिरहेको थिएँ- के उनी नै हुन् जसलाई म स्कुलमा लुकेर हेरिरहन्थें? जसको मुहार देख्दा म हिउँझैं पग्लिन्छु? ती गाजलु आँखाको सामना मैले फेरि गर्नुपर्ने हो?
उनी आइपुगिन्, केही नबोली दूधको भाडो मेरो अगाडि राखिन् अनि मैले खाली गरेर फिर्ता दिई रजिस्टरमा चढाउन नपाउँदै हतारिँदै निस्किहालिन्।
हरेक बिहान उनी त्यही भेषमा आउने र दूध पुर्याएर जाने सिलसिला चलिरह्यो। म पनि बिहानै उसको मुहार हेर्न पाए आफूलाई धन्य सम्झिन्थें। अब त पुसको शीत छलेर फुपाजुभन्दा अगाडि नै पसल पुग्न थालें।
मेरो यो चाला देखेर मलाई मेहनतीको संज्ञा दिनुभन्दा पनि शंकाको घेरामा राखेको हुनुपर्छ घरका सबैले। किनकि फुपाजुले प्रायः मलाई काममा भन्दा पनि किताबमा ध्यान दे भन्नुहुन्थ्यो। स्कुलमा पनि पहिलो वा दोस्रोभन्दा तलको स्थान ल्याउनु दुर्लभ, अविश्वसनीय र अकल्पनीय नै थियो सबैको नजरमा।
कहिलेकाहीँ दूध ल्याएर उनको बुवा आउनुहुन्थ्यो, मनमा खिन्नता जाग्थ्यो। मनमनै सराप्थें- ‘जड्याहा! बिहान बिहानै बजार मुन्टिनु पर्ने? त्यही दूध बेचेर रक्सी खानलाई होला हैन?’ इत्यादि।
एकदिन मैले केही न केही निहुँमा उनीसँग बोल्ने विचार गरें। दूधको बाल्टिन समाउँदै मैले रातोपिरो हुँदै सोधिहालें- ‘केको दूध हो?’
मेरो यो प्रश्नको कुनै अर्थ थिएन। मैले गाई र भैंसीको दूध छुट्टाछुट्टै राख्नुपर्ने पनि थिएन। न त गाई र भैंसीको दूधको फरक मूल्य निर्धारण गरिएको नै। अलिअलि लजालु मुस्कान छरिन् तर केही उत्तर नदिई त्यहाँबाट सधैंझैं निस्किइन्।
अहो! मिसन पूरा नै भएन। मेरो मनमा यस्तै भाव आयो। फेरि अर्को दिन बिहान मैले त्यही अर्थहीन प्रश्न दोहोराउने निधो गरें। त्यो दिन त मैले दूधको बाल्टिन आफ्नै हातमा राखेर सोधें किनकि बाल्टिन हातमा पर्यो कि भागिहाल्थिन्।
‘के को दूध हो?’
उनी बोलिनन् बरु मेरो हातको बाल्टिन खोसेर लिइन् र फर्किनै लाग्दा नशालु मुस्कानसहित भनिन्- ‘बल्लको दूध!‘
स्थानीय भाषामा गोरुलाई बल्ल अथवा बल्लु भनिन्छ। त्यो दृष्य कुनै चलचित्रको भन्दा कम्ती थिएन, मात्र एक्सन र कट भन्ने निर्देशकको मात्र कमी थियो।
मेरो मनमा अनगिन्ती लड्डु फुटे। उनको त्यो बोलीले गाण्डीवबाट निस्किएका तिर सरी मेरो मुटु वारपार गर्यो। त्यो दिनदेखि मेरो मनमा उनको साम्राज्यले झन् डेरा जमाउन थाल्यो। आँखाभरि छाउन थाल्यो त्यो मन्द मुस्कान, साँझपख सुर्यले बिट मार्दा देखिने पारिको त्यो क्षितिज झैं आँखीभौहरू।
स्कुलमा मभन्दा दुई कक्षा पछाडि थिइन्। हाम्रो कक्षाकोठा आमनेसामने थियो। किताबभन्दा बढी ध्यान उनीतिर हुन्थ्यो। कतिबेला बाहिर आउलिन् भनेर झ्यालबाट हेरिरहेको हुन्थें। स्कुलमा भेटेर कुरा गरुँ लाग्थ्यो एक मनले तर हिम्मत जुटाउन सकिँदैन थियो।
मेरो मन अब किन पछि हटोस्? उनीप्रतिको चाहना झन् बढ्दै गयो। अर्को दिन बडो हिम्मत जुटाएर प्रेम पत्र लेखेर साथीमार्फत उनलाई दिने निधो गरियो। मेरो कलाले भ्याए जति रङ्गिन अनि कलात्मक तरिकाले पत्र लेखें। लालीगुराँसको फूलको रसले रातो मुटु तथा वनमाराको रसले हरियो रङको मुटु बनाइयो। अनि दुवैको नामको पहिलो अक्षर लेखेर पत्र टुङ्ग्याइयो र साथीमार्फत बुझाइयो।
त्यही दिन बेलुका स्कुलमा मलाई खोजिरहेकी छिन् भन्ने चाल पाएँ। तर पत्र लेखेको कुरा गएर सरलाई पो भन्ने हुन् कि भन्ने डर थियो र म छुट्टी हुनु अगावै भागिसकेको थिएँ। पछि साथीमार्फत पत्र पठाइन्, मेरो प्रेम पत्र स्वीकार गरेकी थिइन्।
समय न हो, वसन्तमा उडेर हावामा बिलाएका वनमाराका फूलहरू सरि बित्दै गयो हाँसेर, नजर जुधाएर। मेसो मिलाएर भेट भइरहन्थ्यो।
‘दूध पुर्याउन बुवालाई पठाए दूध अन्तै बेचेर रक्सी खाइदिनु हुन्छ। बुवाको यो बानीले घरमा अशान्ति छ। आमाले बेलुका दाउरा बेच्न पनि मलाई पठाउनु हुन्छ। घरमा काम सघाउनु पर्ने भएकाले पढ्न समय कम मिल्छ,’ उनी सुनाउँथिन्।
एसएलसीपछि म उच्च शिक्षाका लागि काठमाडौं लागें। अहिलेको जस्तो सामाजिक संजालको प्रचलन थिएन। हामी सञ्चार विहीन भयौं। बेलाबेलामा उनको मुहार आँखामा आइरहन्थ्यो। त्यो जहरिलो मुस्कान, आनिबानी, अनि चिठी लेखेर काफलको रुखमुनि छोडेको सबै याद आइरहन्थ्यो।
दुई वर्षपछि म गाउँ फर्किएँ। उनलाई भेट्न आँतुर थिएँ र भेट पनि भयो। तर त्यो भेट मुटु छियाछिया पार्ने खालको थियो। मलाई टाढैबाट देखेर उनी दगुर्दै मेरो छेउ आइन्। यसरी भेट्दा सधैं अङ्गालोमा बेरिने उनी आज मेरो अगाडि टक्क अडिइन्।
उनले आफूलाई यसरी रोकिन् जसरी कुनै पर्खालले बाँधको पानीलाई रोकेको हुन्छ। तर त्यो पर्खाल मर्यादाको थियो। हामीबीच उनको सिउँदोको सिन्दुर कुनै विशाल पर्खाल झैं उभियो। म झसङ्ग भएँ जब सिउँदो रङ्गिएको देखेँ।
उनी डराउँदै बोलिन्, ‘मलाइ माफ गर, घरमा....’ पूरा बोल्न नपाउँदै अडिइन्।
मैले बुझिसकेको थिएँ बुवा-आमाले उनका इच्छा चाहनाहरूको बली चडाई बिहे गरिदिएका थिए। किनकि घरमा ‘धेरै पढाउन सक्दिनँ, छोरी भनेको अरुको घर जाने धन हो जसलाई चाहिन्छ पढाउँछ’ भनेर बुवाले रक्सी खाको बेलामा भन्नुहुन्छ भनेर सुनाउने गर्थिन्।
मेरो मनमाघृणा को भावना पटक्कै आएन किनकि मैले उनको बाध्यता बुझेको थिएँ। सिउँदोको सिन्दुरमा अरुकै नाम थियो तर आँखामा मेरै नाम देख्न सकिन्थ्यो। गाजल अरुकै थियो तर आँखाबाट बगेका आँसु मेरा लागि थिए। अरुले नै दिएको फूलबुट्टे कुर्ताले आङ छोपेकी थिइन् तर हृदय मेरै नामले छोपिएको थियो।
मेरा आँखाहरू रसाउन थाले जब सुनाउन थालिन्- ‘राम्ररी पढ्न नपाई बिहे गरिदिनु भयो। माइतमा बुबाको रक्सी खाने बानीले जहिले घरमा झगडा हुन्थ्यो, अहिले भारतबाट फर्किएपछि श्रीमान पनि रक्सीले मात्तिने हुनुभएको छ। अस्ति झन्डै कुट्न आएका। पढाइलाई निरन्तरता दिन्छु भन्दा सासूआमा सुनाइहाल्नु हुन्छ, आफू स्कुल जान्छेस् अनि म तेरो नोकर्नी बनेर घरमा बस्नु?’
‘अहिले जान्छु ल फेरि घरमा...’ यति आदि वाक्य बोल्दै उनी लागिन्।