बेलुकाको खान खाएर ओछ्यानमा पल्टेको पटक्कै निन्द्रा लागेन।
मनमा अनेक कुराहरू खेल्न थाले। दिउँसो आमा र दाइले मेरो बिहेको कुरा गरेको सम्झें।
मनमा एकदम डर र छटपट भयो। दाइ भन्दै हुनुहुन्थ्यो, 'केटो राम्रै छ आमा, मेरै अफिसमा काम गर्ने, इन्जिनियर भइसकेको, उमेर पनि मिल्छ, घर परिवार सब ठिकै छ हाम्रोजस्तै। कान्छीलाई त्यो केटोसँग बिहे गराउन पाए सुख पाउँथी। भोलि शनिबार छ, बोलाऊँ त खाजा खान? तपाईंलाई नि ठिकै लागे मात्र कुरो अगाडि बढाउँला'।
आमा भन्न थाल्नुभो, 'तैंले हेरेको भनेसी राम्रै होला। तर कान्छीको पढाइ पूरा हुन अझै ३/४ महिना बाँकी छ। पढाइ नसकी त के बिहे गर्नु? छोरीको जात अर्काको घरमा गएर पढाउँछन् नै भन्ने नि छैन। बेकार यत्रो वर्षको हाम्रो मेहनत खेर गयो भने?'
दाइ हाँस्न थाल्नुभो, 'आमा पनि कस्तो कुरा नबुझ्नु भाको, मैले त कुरा गरम् मात्र पो भनेको, मन परे टीकाटालो गरौंला अनि पढाइ सकिएसी बिहे। केटाकेटीले नि एक अर्कालाई चिन्ने मौका पाउँछन्। मैले कहाँ बैनीलाई पन्छाउन खोजेको हो त? झन् राम्रो घर, केटा भएर कान्छीले सुख पाउली भनेर पो भनेको त। मैले भन्दा अप्ठ्यारो मान्ली, बैनीसँग तपाईं नै कुरा गर्नु ल!'
सधैं आफू घरकी कान्छी छोरी, बच्चै छु जस्तो लाग्थ्यो। आज बिहेको कुरो सुनेसी अचानक आफू ठूली पो भए जस्तो लाग्यो।
छेउमै सुतेकी भदैलाई हेर्दै सुम्सुमाए, 'नानी तँ र म सँगै सुत्न नि अब धेरै बाँकी छैन जस्तो छ। अब घरमा बिहेको बारेमा सोध्दा के भन्ने? गर्दिनँ पनि कसरी भन्ने?? स्नाकोत्तर पनि सकिनै लाग्यो। बुवा बित्नुभाको नि दस वर्ष भइसक्यो। आमाले अरूसँग भन्नुहुन्थ्यो, कान्छीको बिहे गर्न पाए मेरो जिम्मेवारी सकिन्थ्यो। अनि त कालै आए नि केही गुनासो छैन, म रोगी धेरै बचेर पनि के काम?'
एक्कासि रातको सन्नाटामा गुनगुन सुनियो। यसो कान थापेको त दाइ र भाउजू भनाभन गर्दै हुनुहुँदो रहेछ।
मैले प्रस्टै सुन्ने आवाजमा बोलेसी के सल्लाह भन्नु, त्यो हल्लै थियो।
भाउजू भन्दै हुनुहुन्थ्यो, 'यो चुरोट कति घिच्न सक्छौ? चुरोट सल्काएको हो कि आफ्नै फोक्सो? त्यत्रो बट्टामा क्यान्सर भर फोक्सो बिग्रेको फोटो देख्दा नि कसरी खान सकेको होला? अचम्मै छ? अलिकति नि वास्ता लाग्दैन हाम्रो? यस्तो चुरोट खान्छौ भन्ने थाहा भा'को भए बिहे गर्दिनँ थिएँ।
दाइ थप्न थाल्नुभो, 'धेरै थुतुनो नचला, खाए त मेरै पैसाको खाएँ। न तैंले कमाको हो, न तेरो माइतीले। चुरोटको नाममा सधैं कचकच नगर। कत्ति न दिनकै गाँजा, रक्सी खाएको जस्तो। काममा कैलेकाहीँ खाएको त हो नि? चौबिसै घण्टा काम नै नगरी चुरोट फुकेर बसेजस्तो।'
भाउजू रूँदै भन्न थाल्नुभयो, 'तिम्रो बाउलाई नि त्यै चुरोटले उमेर नपुगी लाग्यो। क्यान्सर भएर कति दुःख पाएर मारे, त्यत्रो सम्झाउँदा केही लागेन। हजुरबुबा नि हुक्का धेरै तानेर कम उमेरमै बित्नुभो रे। पैले दाउराको धुवाँपछि सधैं बुवाको चुरोटको धुँवाले, आमालाई नि दमले च्यापिसक्यो। कुन दिनबाट बुवाको जस्तै अक्सिजन लाउनपर्ने हो थाहा छैन।'
तिमीले छोरीकै अगाडि चुरोट खानाले, छोरीलाई सम्म दम भएर औषधि तानेको याद छ? धन्न अहिले निको भयो।
अझै पनि कहिलेकाहीँ बिरामी पर्दा दम बल्झिन्छ। म त अर्काकी छोरी, मेरो माया नलागे नि आफ्नी छोरी को त लाग्ला नि?बाउको जस्तै बेलैमा टुहुरो बनाएर जाने सोच छ हो? छोरा चाइयो रे! यस्तै चुरोट फुकेर जन्माउला छोरा? अस्ति डाक्टरले के भन्या? चुरोट धेरै खायसी पनि बच्चा हुन गाह्रो हुन्छ! बिर्सियौ?'
'मुखमा जे आयो त्यो नबोल है! मैले थाहा नभएर पो नानुको अगाडि खाएको, नानुको अगाडि नखाको पनि पाँच, छ वर्ष भइसक्यो। एउटै गल्तीलाई कत्ति कोटाउँछेस? अनि चुरोट खाँदैमा बच्चा हुँदैन कहाँ भन्या थियो त डाक्टरले? चुरोट पनि एउटा कारण पो हुनसक्छ भनेथे। त्यही चुरोट खाएरै मेरो बुवाले पाँच/पाँच जना बच्चा जन्माउनु भयो। बरू धेरै तनावले नि बच्चा हुँदै भनेथे, त बिनसित्ती मनमा कुरा खेलाउँछेस् अनि मेरो नि दिमाग तताउँछेस्। थपक्क यो कुरा सकेर सुत, आधा रात भइसक्यो,भोलिदेखि चुरोट खान्नँ। अब त भो?'
'केको कसम खान्छौ? यस्ता कसम कति पटक खायौं थाहा छ? छोरीलाई दम हुँदा, त्यो अवोध नानीको टाउकोको कसम खाएर चुरोट छोडछु भन्यौ! आखिर घरमा मात्र खाना छोड्यौ, अझै छोड्या छैन! बाउ क्यान्सर भएर तड्पिएर मर्दा छोड्छुु भन्थेउ, आखिर जुठो भित्रै घर पछाडि लुकेर खायौं! हरेक जन्मदिन, नयाँ वर्ष, जहिले भाका हाल्छौ, तर जबसम्म बाउको जस्तो दुःख पाउँदैनौ तबसम्म छोड दैनौं मलाई राम्ररी थाहा छ। सुतेका लागि ब्युँझाउन सकिन्छ तर सुतेको नाटक गर्नेलाई सकिन्न भन्थे हो रहेछ। यत्रो पढेर, देखेर पनि चेत नआउनेलाई के भन्नू? मूर्खको कुनै औषधि हुँदैन भन्थे। तिमीलाई सम्झाएर थाकिसकें। आजदेखि केही भन्दिनँ। आफ्नो जिन्दगी जसरी जिउन मन लाग्छ जिउनू।'
पिसाब लागेर शौचालय जान ढोका खोलेको त्यसको आवाज सुनेर दाइ-भाउजू अचानक चुपचाप भए।
विस्तारामा आएर पल्टिए, अनि झन् डर लाग्यो।
दाइले भनेको केटो नि कतै त्यस्तै त छैन? मलाई त आफ्नो दाइ एकदम मनपर्थ्यो अनि भाउजू सरै भाग्यमानी। के थाहा थियो त भाउजूको हँसिलो मुहारभित्र यति पीडा होला भनेर? निन्द्रा लाग्ने छाँटकाँट नै भएन। मनमा एउटा अठोट लिएँ। भोलि केटो आयो भने एउटा प्रश्न त पक्कै सोध्छु, 'चुरोट त खानु हुन्न नि?' चुरोट खाने अलिकति नि संकेत पाए भन्ने कुनै न कुनै बहाना गरेर उम्किन्छु।
आफ्नै खुट्टामा उभिएसी राम्रो जीवनसाथी कसो नपाइएला! हरेक दिन चुरोटको ठुटोलाई जलाएको भ्रममा आफ्नै फोक्सो जलाउने अनि धुवाँ उदाएको भ्रममा सपना उडाउनेसँग भविष्य के नै राम्रो होला र? यहाँ छ त कोही चुरोट नपिउने? कोही छ जिउँदै आफूलाई नजलाउने?