धेरै लगानी गरेर थोरै आर्जन गर्ने स्थान रहेछ विदेश भनेको।
मध्यम परिवारमा जन्मेर गाउँमा नै हुर्किएको ब्राह्मण म।
बाह्मणको रूपमा चिनिने हाम्रो खान्दान कान्छा बाहुनको नामले प्रख्यात थियो। हो त्यही, कान्छा बाहुनको छोरो कोन्छो म।
बाबाको हामी छोराछोरीहरूलाई हेरविचार गर्नदेखि हाम्रो सम्पूर्ण शिक्षादिक्षाको सम्पूर्ण व्यवस्थापन यही जजमानी पेशाबाट गर्नुहुन्थ्यो। राम्रैसँग हुर्काइ, बढाइ र पढाइ दिनु भएको थियो।
अहिले सम्झिँदा ताजुब लाग्छ कसरी बाबाले हामी ७ भाइ छोराहरूलाई आफ्नो सम्पूर्ण इच्छ, चाहना पूरा गरी सम्पूर्ण कर्तव्यहरू पूरा गर्नुभयो होला।
दिनहरू बित्दै गए। सबै दाजुभाइहरूको आफ्नो आफ्नो घरगृहस्थी सुरू भइसकेको थियो।
छोराको विवाह दान गर्न बाँकी रहेको म नै थिएँ कान्छो छोरा।
वृद्ध भएका बाबाआमाको इच्छा थियो कान्छाको विवाह गररेर ल्याएकी कान्छी बुहारी असल आउँछे र आफ्नो प्राण कान्छाकान्छी सँगै फाल्ने चाहना।
दिनैदिन विवाहको कुरा चल्दै जाँदा केटी खोज्न सबैलाई आग्रह गरेपश्चात आफन्तकै मार्फत् मेरी जीवन संगिनीको रूपमा एक जना निकै सुशील युवतीसँग लगनगाँठो कस्न म तत्पर भएँ। र अन्त्यमा हामीले विवाह गर्यौं।
तर वास्तविक जीवन त मैले विवाह गरेपछि थाहा पाएँ।
श्रीमानको जिम्मेवारी र कर्तव्यले कति थिच्ने रहेछ भनेर।
आफ्नो जिम्मेवारी बहन गर्नका लागि नेपालका धेरै स्थानहरूमा रोजगारी खोज्न थालें।
कतै लगानी गरेका पैसा उकास्न सकिनँ, त कतै लामो समय काम गर्दा अधिकतम आवश्यकता पूरा गर्ने पारिश्रमिक पाइनँ।
जब म व्यवहारको दलदलमा फसें तब मलाई जिन्दगीभर सुख दुःखमा साथ दिन्छु भनेको श्रीमतीले पनि साथ दिन सकिन।
मेरो सन्तानको रूपमा जन्मिएका जुम्लिया २ छोरा थिए। तिनीहरूका आधारभूत आवश्यकता पूरा गर्ने पनि सामर्थ्य मसँग हुन छोडिसकेको थियो।
व्यवहार गर्न जानिनँ कि भाग्यको लेखान्त भनौं। कही गएर केही गर्दा पनि मैले कमाउन सकिनँ। जहाँ जान्छु दलदलको भूमरीमा विलिन हुन पुग्छु।
हिउँदमा तुवालो र वर्षामा असिना छिर्ने भइसकेको थियो। बुवाले आफ्नो पाखुरी चल्दा हाम्रो परिवारका लागि बनाइएको नयाँ घर। एउटा जजमानी गरेर त बुवाले सम्पूर्ण बाालबालिकाको आवश्यकता पूरा गर्दै जिम्मेवारी समेत बहन गरेका हरेक कुराले मनमा बेचैन हुन थाल्यो।
आफ्नो जिम्मेवारीले जिस्काउन थाले, त्यसपछि अन्तिम निर्णय आफ्नो परिवार, सन्तान र आमाबाबुको अनुहार हेरेर भए पनि वैदेशिक रोजगारीमा जाने निष्कर्षमा पुगें।
वैदेशिक रोजगारीको लागि सम्पूर्ण प्रक्रिया पूरा गर्नका लागि विभिन्न स्थान धाउन थालें।
कसैले २ लाख त कसै ४ लाख दिएदेखि भोलि नै उडाउने आश्वासन दिए। ४ लाख खर्च गररेर ८, १० दिनको भाकामा उड्नका लागि म तयार थिएँ।
१ दिन २ दिन गर्दागर्दै महिनौं बित्यो जसलाई मैले लगानी गरें उसले न मेरो फोनको प्रतिक्रिया जनायो, न कुनै खोज खबर नै।
साहुसँग लिएको ४ लाखको व्याज दिनानुदिन साँवामा गाभिएर ऋणको भारीले टाउको किच्न त आँटेको नै थियो, त्यसको ब्याज बुझाउने धाउन्न उतिकै नै।
यति हुँदाहुँदै खर्च गररेर पनि जान सकिनस् भनेर श्रीमतीले गर्ने व्यवहार पनि उतिकै तीतो र नमिठो हुँदै गएको थियो।
न लगानी गरेको रकम फिर्ता पाएँ न वैदेशिने अवसर नै।
केही गर्दा कहीँ कतै अवसर नै पाउन सकिनँ, हरेक चोटी कसरत गर्दा नभएपछि कहीँ कतै नहुँदा मानिसलाई भगवानको आश लाग्ने रहेछ। अन्तिम पटक भगवान् भरोसा भनेर बाबाले अंशमा दिएको १ कठ्ठा जमिन काजी साहेबसँग बेचेर वैदेशिक रोजगारीमा जाने निर्णय गरें।
रोजगारीको अवसरका लागि एक देशमा पसिना बगाउने उद्देश्य र परिवारका सम्पूर्ण आवश्यकता पूराका साथै बाबाआमाको टाउकोमा पानी नपर्ने छानो लगाउने सपना, बालबालिकालाई शिक्षादिक्षा दिने र श्रीमतीलाई मिठो निन्द्रा दिनका लागि सबै रहर थाती राखेर विदेशमा पसिना बगाउन थालें।
एउटा कम्पनीले ठूला ठूला महलहरू बनाउनका लागि कामदारको रूपमा छनोट गरेको थियो। जेनतेन सम्पूर्ण कुराहरू बन्दोबस्तीले नै चलिरहेको थियो।
घरमा पनि पहिलो दोस्रो गरेर पैसा पठाउन थालेको थिएँ।
१ दिन मेरो श्रीमतीको अन्यत्रै सम्बन्ध रहेको मेरो आफन्तले फोनमार्फत् जानकारी गराएका थिए।
त्यस बखतदेखि मेरो मनमा चैन आउन छाडेको र कामप्रतिको लगाव पनि घट्दै गएको थियो।
फोनमा बारबार सम्झाउन खोजें तर जति नजिक हुँदा सम्झाउन सक्ने त्यति टाढाबाट सम्झाउन धेरै नै गाह्रो हुने रहेछ। जसका लागि सम्पूर्ण इच्छा, आकांक्षा त्यागेर अर्काको मुलुकमा कामको शिलशिलामा आए उसले नै आकांक्षामा लात्ती हानेपछि न मनले मान्ने, न जिद्दी दिमाखले बुझ्ने रहेछ।
हरेक तवरले मनलाई बुझाउने कोसिस त गरें तर सकिनँ। सोचेजस्तो जिन्दगी हुने भए म दिनभर सोचेरै मात्र बसिदिन्थें होला।
तर भएन तनावै तनावका बाबजुत काममा गएँ।
१ अन्तिम पटक श्रीमतीलाई सम्झाउने कोसिस गरें। कहिलेकाहीँ बिथोलिएको सारा जिन्दगीलाई एक मुस्कानले पनि समेटिदिने गर्दछ भनेर हजारौं आशा मनमा राखेर फोन गरें।
परदेशको पीडा र सम्पूर्ण जिन्दगी जसका लागि स्वीकार्य आएको हुन्छ उसले दिएको पीडा एकदमै हृदयविधारक हुने रहेछ।
मेलै २८ तलामाथि काम गर्दैगर्दा मेरो नेपाललाई सम्झिएँ, ‘ए मेरो धर्तीमाता तिमीले नेपालमा नै बसेर हामी जस्ता युवालाई रोजगारी दिने र काम गर्ने वातावरण सृजना गरिदिएको भए पक्कै पनि हामी जस्ता होनाहार युवाले देश छोडेर परदेशमा पसिना बगाउन आउनु पर्ने बाध्यता पनि हुने थिएन।’