प्रेम अनुपम आनन्द हो। यो नि:स्वार्थ हुन्छ, निर्बाध हुन्छ र निसङ्कोच हुन्छ। कोही बिछट्टै गाढा आँखामा छापिन्छ, मन यसैयसै मगमगाउन थाल्छ।
प्रेमलाई सम्झेर मुस्कानले माझेर समयको माझमा सुकाउनु मधुर मादकता हो। सबैकुरा बिर्सेर कसैलाई सम्झन नबिर्सनु, आँतको कस्तो लत! रित्तिएर आफू भरिभराउ हुनु, आँटको कत्रो मत! लाग्छ प्रेमको सुवासले आत्मा सजीव राख्छ।
मैले उसलाई पहिलोपटक पहिलो वर्षको पहिलो कक्षामा देखेको। ब्याचलर पढ्न भर्खर सुरु भएको थियो। यसअघि कतिसँग नजर जुध्यो, मन जुधेन। कतिसँग मन जुध्यो तर नजर जुधिरहन भ्याएन।
उसलाई त देख्नेबित्तिकै आँखाबाट साभार गरेर मनले मन खोलेर उतार्यो। सासले सहर्ष स्वीकार्यो। ढुकढुकी छिटोछिटो छलाङ मार्न थाल्यो, पलपलमा बढेर अब्बल भइरह्यो। भावनाको डोरीले राप बाँधियो बेस्सरी।
बाँधेर राखौँ कि साँचेर राखौँ? जागेर निद्रामा लुट्पुटाइदिउँ कि निदाएर जागा राखिदिउँ? नसा-नसामा रगत खित्का छाडेर सञ्चार भइरहेछ। अत्यासको बतास फिरफिर नाचिरहेछ। समेटर जोहो गरौं कि पोखाएर पोको पारौँ? यो त नौलो झंकार हो। स्मृतिको आँचलमा टिलपिल यादहरू समेट्दै यो अवधि झल्मलाइरहनेछ।
पहिलो कुराहरू बराबर लाग्दैनन्, अलग्गै सबल लाग्छन्। कक्षामा उसको ताप खास लाग्छ। हाम्रो परिधि साँघुरिएर मलाई उसकै वरपर डोर्याइरहन्छ। मैले उसका लागि जे अनुभव गर्छु, त्यो उसले गर्दैन। मेरो माया एकतर्फी हो।
धक फुकाएर मन नअघाउन्जेल म माया गरिरहनेछु। एकाउन्टको डेबिट र क्रेडिट हो र दुवैतर्फ बराबर हुनुपर्ने? मेरो लगाव त पर्खाइको लक्ष्मणरेखा लतारेर सर्लकसर्लक सप्रिरहनेछ।
उसलाई भेटेको पनि करिब-करिब एक वर्ष पूरा हुन लाग्यो। गुजुल्टिएका एक भकारी प्रश्नहरू ऊतिर सोझ्याउँ जस्तो लाग्छ तर तब उसको सामु जान्छु केस्रा-केस्रा उत्तर आफैंमा समाहित पाउँछु। शब्दका मात्राहरू पनि मेसो हराएझैँ गर्छन्। लवजले लावण्य बिराएझैँ गर्छन्।
दोहोरो भएर पनि भनाइहरू एकतमासले जम्छन्। कहिलेकाहीँ एकोहोरो रीतमा पनि भनाइ बेलीविस्तारले बग्छन्।
स्वीकार नभएसम्म प्रेमले पूर्णताको पूर्णबिराम पाउँदैन र? होसमा उसकै मदहोसी बढ्नु आत्मरतिको बेहोसी हो र? अपेक्षारहित अनवरत आकाङ्क्षा अङ्कुराउनु आमोद हो। थोपाथोपा ब्याजदर चुकाउनुपर्ने होला तर सम्झनलायक सम्झना उधारो लिइरहन चाहन्छु।
हर बिहान किरणका बाछिटासँगै यादहरूको चुस्की लिन चाहन्छु। कहिलेकाहीँ त मुस्कुराउन पनि बहाना चाहिने रहेछ। त्यसबेला मन उघारेर दाँतको दर्शन टक्राउदै ओठहरू फिजाउन चाहन्छु।
चाहना आलो राखेर चरचर्ती चराए पनि चल्मलाइरहन चाहन्छु। जहिलेसम्म सक्छु त्यहिलेसम्म राख्छु। कुनै मोडमा बान्की मिलेन भने जतनसाथ एकातिर राख्छु।
यसबीचमा मैले पढाइलाई भने बेवास्ता गर्न थालेको छैन। ऊसँग परिचित भइरहँदा पढाइलाई अपरिचित बनाएको छैन। मेरा रहरहरूको प्रहरमा पढाइको पनि उत्तिकै लहर छ। आत्मनिर्भर बन्ने मेरो सपना, आत्मविश्वासी बनाउने आमाबाको सपना सर्वोपरी छ।
आँखामा अटाउन्जेल सपनाहरू हलुङ्गो हुन्छन्। सार्थकताको सार भेटाउन्जेल त्याग, समर्पण र पसिनाका डोबले गरुङ्गो हुँदै जान्छन्। उसलाई भेट्नु सुखद् संयोग हो। अध्ययनशीलता र कार्यव्यस्तताको समायोजन पनि उत्तिकै जरूरी छ। कोही भेटियो भने आफैंलाई भुल्ने पनि त होइन। कसैको दर्पणमा आत्मा अर्पण गरेर आफू आउन सक्नु पो गज्जब!
यात्रामा ठोक्किएका ढुंगासँग नदीको साइनो गाँसिन्छ। कहिलेकाही त लाग्दो हो प्रीतको बठ्याइँ बेठिक नमानी बेहिसाबले स्थिर रहुँ। तर निरन्तर बग्नु नै नदीको नियति हो।
सुकेका पातहरूको पाइला ऋतु पहिल्याउँदै थाकेका हुन्छन् तर जब ऋतु भेटिन्छ आफ्नो कार्यकाल नयाँ पालुवालाई सुम्पिदिन्छन्। जीवन पनि यस्तै-यस्तै भोगाइहरूको यात्रा रहेछ।
मन लोभी हुने, तिमीलाई जति हेरिरहे पनि हेरिरहुँ लाग्ने। त्यो सौभाग्य जुरिरहन सक्दैन। एकतर्फी प्रेमको मीठो मिठास राखेर जीवनका अन्य आयाम उक्लन चाहन्छु। तिमीलाई नपर्खेर यादहरूको बाडुल्की पर्खिन चाहन्छु। प्रिय, म तिमीलाई एकतर्फी प्रेम गरिरहेछु।