मेरा बा’का बा, हरा बा!
कत्रो सान थियो ऊबेला
नाम थियो, मान थियो
यजमानका पितृ तराउँथे
युवाका जोडी मिलाउँथे
दशारीका दशाग्रह कटाउँथे
लाला–बालाका प्राण बचाउँथे।
हरा बा वास्तवमा मेरा
हरा बा मात्र थिएनन्
कसैका पुरेत बा
कसैका वैद्य बा
कसैका सारथी त
कसैका जीवनदाता
त्यसैले
जन–जनका मन
मस्तिष्कमा बसेका।
मेरा बा’का बा, हरा बा!
म सम्झन्छु अझै घुमन्ते
स्वभाव उनको
कालो करङ्गे छाता डडेल्नामा
सिउँरिँदै
आली–आली, बारी–पाखा,
चौर, हिलाम्मे, धुलाम्मे,
गोरेटो, घोडेटो बाटामा
हात्तीछाप चप्ली पड्काउँदै सुदूर
कतै पाहुना लाग्न हिँडेको
झलझल्ती छ यो मानसपटलमा
म उनको पर्खाइमा घर अघिल्तिरको
सखुवाको टुनामा टुसुक्क बसी
बाटो ढुकिरहेको
कैयौं गोधुली साँझ बित्थे
चर्न गएका चौपायाका हन्जा
त्यसैगरी बुङ्ग–बुङ्गती धुलो
उडाउँदै
गोठ तिर हान्निन्थे
बरु बग्दै गरेको बिरिङ्ग खोलोले
धार बदलेर उत्तर बहँदो हो
तर हरा बाको चालचुल हुन्थेन
ती रातागेडी मिठाईको आशमा
क्षितिजतर्फ एकटकले
नियाल्दा-नियाल्दा
अघिल्तिरको बाटो गुड्न थाल्थ्यो
कपुरको बोट, बाह्रमासे फूलका बुट्टा,
खस्रेतोको गाछ, पर्तिर
मगर्नी साँल्दिदीको टाँडे घर
सबै फनफन्ती घुम्थे
तर हरा बा के फर्किन्नथे।
मेरा बा’का बा, हरा बा!
त्यो तोस रोटीको सम्झनाले
मेरो मुखबाट बग्ने
र्यालरुपी सागर
सुक्नै लाग्दा हठात
घर अघिल्तिरको
राजमार्गमा देखिने
हरा बाको दृष्यले
जिब्रोमा पुनः झरी
वर्षिन थाल्थ्यो।
मेरा बा’का बा, हरा बा!
केटाकेटी लोभ्याउने बानी
गजबको थियो उनको
दौराका दुवै गोजीमा
खुद्रा सिक्का राखी
खैँझडीझैं ‘छिङछिङ..’
बजाउँदै मेरा
सामुन्नेबाट गुज्रँदा
म भने त्यो आवाजले
मन्त्रमुग्ध बन्थेँ
लाग्थ्यो स्वयं सरस्वतीको
वीणाबाट छुटेको सुमधुर
ध्वनी मेरा काने जाली
हुँदै मस्तिष्कसँग
सुस्त-सुस्त
सञ्चार गरेको
कल्पिन्थेँ, हरा बाको
गोजी मक्काएर
पुचुङ्रे प्वाल बनेको
अनि सिक्काहरुले
त्यही प्वालको बाटो
समाई फुत्रुक्क–फुत्रुक्क गर्दै
सुस्तरी आफ्नो
अंजुलीमा अवतरण गरेको।
मेरा बा’का बा, हरा बा!
हरा बाको गोडा मिच्दा
पाइने दश पैसाका लागी
भुराभुरी माझ
तँछाड् मछाड् चल्थ्यो
एक रुपैयाँको जोहो गर्न
झण्डै एक महिना लाग्थ्यो
म त्यो पाँच/दश पैसे सिक्कालाई
एकमाथि अर्को चढाउँदै
धरहरा बनाउने लक्ष्यमा हुन्थेँ
हुन्डरीझैँ साइकल चढी
बरफवाला आउँथ्यो
धरहराको सपना
सारा उडाएर जान्थ्यो
अनि म पुनः हरा बाका
तिनै गोडातिर
ध्यान लाउन थाल्थेँ
अर्को नयाँ धरहराको
कल्पनामा डुब्न थाल्थेँ।
मेरा बा’का बा, हरा बा!
एकाध, हरा बाले मेरा बालाई
भन्ने गरेको सुन्थेँ
हेर बाबु! जीवनभर
कमाइमा श्रेष्ठ इज्जत हो
दुर्गुण भनेको स्वार्थ हो
जीवन छोटो छ
इज्जत कमाउन सिक्
निश्वार्थी बन्न सिक्।
ज्ञानी बन्न सिक्
ज्ञान शिक्षा र अनुभवको
संगालो हो
अनुभव लड्दै पड्दै
बटुलिन्छ
बरु अध्ययन गर्न सिक्
जति ज्ञान बटुल्छस् त्यति
इज्जतदार बन्छस्।
आज म मेरा मास छर्न हिँडेका
बालाई सम्झन्छु
हरा बाका ती वचन
मेरा बाले टपक्क टिपेका थिए
अनेक आरोह अवरोहमा
निष्कलंकित जीवन जिए
बुझेको छु, आज म जे छु
जहाँ छु, उनै पूर्खाको
संस्कारले छु
हरेक दुःखसुखमा ती अर्तीलाई
आदेश मान्नेछु।