रारा तालको कलकल पानीसँगै कर्णाली तिमी
हराभरा भै हाँसिरहेछौ
फोक्सुन्डो, कुपिन्डे दह अनि रारा तालको साथमा तिमी
पवित्र भै बाँचिरहेछौ
नाम मात्रै होइन कर्णाली तिमी
तिम्रो प्राकृतिक छवी पनि विचित्रको छ
काँक्रेबिहार, खैराबाङ, तिरपुराकोट तिम्रै गर्भभित्र
तिम्रो नाम नै पवित्र छ
चंखेली र कान्जिरोवा हिमाल मात्रै होइन कर्णाली तिमी
देउती बजै र पंचकोशी धाम पनि तिम्रै साथमा छ
जुम्लाको मार्सी चामल, स्याउ अनि सल्यानको खुकुरी
इज्जत प्रतिष्ठा तिम्रै हातमा छ
हिमाल हिउँले ढाकिएका छन्
लालिगुराँस पनि फुलिरहेछ
मैले कर्णाली चिन्ने र घुम्ने अवसर पाएँ
यो मन आज खुसीले हाँसिरहेछ
डाँडाकाडा हराभरा बनाइदिन्छौ तिमी
पाँचाऔँले, घुची स्याउ अनि तरकारी फलाइदिन्छौ
राराको चिसो चिसो पानीले आज
सबको मनलाई भुलाइदिन्छौ
म पनि नेपाली भएर होला सायद
अब त कर्णाली नाम सुन्दा पनि गर्व लाग्छ
देख्छु सुन्दरताले भरिएका पाखा पर्वत
आफैलाई प्रकृतिको धनी भन्न मन लाग्छ।