प्लस-टु सकेपछि स्नातक तह अध्ययन गर्न काठमाडौँ आएर सानिमाको घरमा बस्न थालें। घरमा सानिमाकी छोरी पनि हुनुहुन्छ। उमेरमा मभन्दा एक वर्ष जेठी हुनुहुन्छ सीमा दिदी। दिदी भए पनि उहाँ मेरो साथी जस्तै हुनुहुन्छ। पढाइ पनि मेरोभन्दा एक तहमाथि उहाँको।
सीमा दिदी कलेजबाट आउनु भयो र भन्नुभयो- 'मान्छे पनि कस्ता-कस्ता भेटिन्छन्, यस्तो रिस उठ्छ नि! सबैलाई काच्चै खाइदिउँ जस्तो।’
मेरो परीक्षा नजिक आएकाले म पढेर कोठामै बसिरहेकी थिएँ। दिदीको यो कुरा सुनेपछि किताब राखेर सोध्न मन लाग्यो- 'किन? के भयो दिदी? कसले के भन्यो हजुरलाई?’
झोला राखेर टाई निकाल्दै भन्नुभयो, 'के हुनु नि बहिनी, के-के लफडा हुन्छ-हुन्छ बाटोमा! चुप लागेर सहेर बस्न सक्दिनँ अनि झगडा गर्छु। झगडा नि ताइँ न तुइँको लाग्दो हो अरुलाई। आफूलाई पो छ त पीडा भोग्नु, तनाव लिनु।’
यति भने पनि मैले सबै कुरा बुझिनँ। मनमा खुल्दुली भयो, फेरि सोधिहालें, 'दिदी हुन चाहिँ के भयो भन्नुहोस् न! झगडा के कारणले कोसँग पर्यो?’
दिदीले भन्नुभयो, 'बसमा आउँदा सिट खाली नभएर उभिनु पर्यो। अनि एकजना मान्छे म जति टाढा गयो उति नजिक आयो। पहिलो पटक म सरेर अलि टाढा गएँ, फेरि पनि नजिक आयो। टाढा गएँ म, अझ पनि त्यस्तै दोहोर्याउँछ। अनि रिस उठ्यो र एक थप्पड हानेर अगाडि गएँ।
गाडीवालाले के भयो भन्यो। सुनाउँदा यस्तो भिडभाडमा अलिअलि त छोइहाल्छ नि! यसरी हिंड्न गाह्रो लाग्छ भने आफ्नै साधनमा हिंडे कसले के गर्छ र भन्यो। झनै रिस उठ्यो। झगडा गरेर त्यो बसबाट झरेर हिँडेरै आएँ। होइन, केटी मान्छे अरु कसैलाई यस्तो हुँदैन कि बोल्दैनन्? मलाई मात्र हो त यस्तो -यस्तो समस्या आउने? किन मौन रहन्छन् अरु?’
यो कुरा सुनेपछि मलाई पनि नराम्रो लाग्यो। खोइ के भन्ने, के गर्ने? केही भन्नै सकिनँ। अनि दिदीलाई भनेँ, 'दिदी, चिन्ता नलिनू। खै हाम्रो समाजमा छोरी मान्छेले के-के झेल्नु पर्छ। बरु हिंड्नुस् खाना खान जाउँ। मैले पनि हजुर आएपछि खाने भनेर खाएकी छैन। सानिमा बिहानै बाहिर काम परेर जानु भयो।’
मेरो कुरा सिद्धिन नपाउँदै दिदीले 'जहिले पनि मैंमाथि यस्तै कुरा आइपर्छ’ भनेर रुन थाल्नुभयो।
दिदीको आँखाम आँसु देखेर मेरा आँखा पनि रसाए। सोधें मैले, 'दिदी, हजुर जहिले पनि मैंमाथि यस्तो भन्नुहुन्छ। हजुरमाथि यस्तो अरु पनि केही घटना घटेका छन् र?’
दिदीले झाँसु पुछ्दै भन्नुभयो, 'सबैलाई भन्न त सक्दिनँ तर तँलाई भन्छु बहिनी किनकि केही कुरादेखि सचेत रहनू भनेर सिकाउनकै लागि भए पनि तँलाई भन्नुपर्छ मैले।
सुन्, त्यो बेला म एघार वर्षकी थिएँ। एकदिन घरमा धेरै जना पाहुना हुनुहुन्थ्यो। त्यही दिन एकजना गाउँको अंकल नाता पर्ने पनि थिए। धेरै जना भएका कारण सबैलाई छुट्टाछुट्टै कोठामा सुत्न सम्भव भएन। मेरो कोठामा दुइटा विस्तरा थिए। त्यहाँ जहिले सानी बाहिनी र म सुत्ने गर्थ्यौं। त्यही कोठामा एउटा विस्तरामा सानी बाहिनी र म अनि अर्कोमा तिनी अंकल सुते।
अंकल अनि हामी सानी छोरीहरु भएका कारण त्यस्तो नकारात्मक सोच कसैमा आएन। राति अचानक कसैले मलाई छोएको जस्तो महसुस भएर म ब्युँझिएँ। बहिनी भित्तातिर सुतेकी थिई अनि म छेउमा। मभन्दा पनि छेउमा अरु कोही सुतेको जस्तो भान भयो। अलि राम्रोसँग निद्राबाट ब्युँझिएँ। उसको हात मेरो कम्मरमा थियो।
बाहिर बलेको बत्तीको उज्यालो कोठामै आउँथ्यो। त्यही उज्यालोले नै विस्तारै उता फर्केर हेर्दा मभन्दा पछाडि उही अंकललाई देखें। मेरो मुटुले ठाउँ छोड्यो, डरले सतायो अनि रिस पनि उठ्यो। आफ्नो बेड छोडेर यहाँ सुत्न किन आयो? राम्रो नियतको मान्छे होइन भन्ने बुझेपछि मनमा अनेकौँ कुरा आए।
निद्रामै चलेको जस्तो गरी हात कम्मरबाट हटाएर बहिनीतिर टाँसिएँ। बहिनीलाई उठाउनलाई चिमोटेँ तर बहिनी उठिन | मनमा कुरा खेले उठेर हान्दिउँ कि सोचें, फेरि मेरो मुख थुनेर मारिदियो भने? चिच्याइदिउँ, फेरि के भयो भनेर सबै आउलान्, के भन्ने? यो पनि सोचें।
अन्तिममा भएन अब मम्मीलाई बोलाउँछु सोचें। ठूलो स्वरमा मम्मी-मम्मी भनेँ। मम्मीलाई बोलाउने बित्तिकै ऊ उठेर आफ्नो बेडमा गएर सुत्यो। मम्मी आउनुभयो, ढोका खोल्नुअघि 'किन के भयो नानी?’ भनेर ऊ आफैंले सोध्यो। उसैले ढोका खोल्यो अनि मम्मी कोठाभित्र आउनु भयो।
मम्मीलाई भनें- 'मम्मी! मैले डरलाग्दो सपना देखें, म यहाँ सुत्दिनँ।’
यति भनेपछि मम्मीले मलाई आफ्नो कोठामा लिएर जानुभयो।
त्यस दिनको भोलिपल्ट मैले मम्मीलाई यो कुरा सुनाएँ। तर ऊ घरबाट गैसकेको थियो। मम्मी पनि चिन्तामा हुनुहुन्थ्यो। 'धन्न केही नराम्रो घटना घटेन। अब त कुनै पनि हालतमा तिमीहरूलाई एक्लै छोड्दिनँ’ भनेर मम्मीले प्रतिज्ञा गर्नुभयो।
त्यस दिनबाट हो बहिनी यस्ता कुनै पनि हिंसा सहेर बस्न मन पराउँदिनँ। जहाँ पनि विद्रोह गर्छु। बहिनी, म त त्यो बेला सानी थिएँ, आँट आएन बोल्नलाई। तर तँ नबोली बस्ने काम नगर्नू है! आफ्नो सुरक्षा आफैं नगरे कसैले वास्ता गर्दैन।’
यति सुनिसकेपछि मलाई कता-कता डर लाग्यो। तर पनि निडर भएर अघि बढ्ने र यस्ता प्रकृतिका घटना आफैंमाथि आइपरे सहेर बस्ने होइन, सकेको गर्ने प्रण गरेँ मैले।