एक साँझ
आए एक हुल चराहरू
बसे बिजुलीको तारमाथि
गाए एकैछिन प्रीतिको गीत पनि
अनि गए उडेर भुरुर्र
एक्लै बसिरह्यो विचरो तार
केबल चराहरू फर्कने आश लिएर
तर चरा आउनुअघि आइपुग्यो बुढो रात
मार्यो तारलाई अङ्गालो गम्लङ्ग
तार त्यो अङ्गालोभित्र पनि कठ्यांग्रियो
मलाई यत्तिबेलै लागेको हो
सबैको अङ्गालोमा आफ्नोपन नभेटिने रहेछ
यत्तिकैमा आइपुग्यो एक जवान बिहान
आँखा मिच्दै झिसमिसे उज्यालोमा
देखायो सकेसम्मको आफ्नोपन
दिन खोज्यो भरपूर न्यानोपनको आश
दियो हरसम्भव न्यानोपन पनि
तारलाई त्यो न्यानोपनले पनि पोल्न थाल्यो
लाग्यो सबै न्यानोपनभित्र सामीप्यता नभेटिने रहेछ
यत्तिकै जब फेरि पर्यो झम्के साँझ
फर्किए ती चराहरू
एकैछिनकै लागि सहिदिए तारले चाहेको खुसी
तार त्यही खुसीले छमछम नाच्दैछ
प्रिया!
म कैयौं वर्षदेखि जिन्दगीको तार टाँगेर तिमीलाई पर्खिरहेछु
के तिमी ती चराहरू जत्तिकी पनि छैनौ?