म आज अलि खुसी थिएँ। मैले गरेको लगानीले फाइदा कमाएको थियो। मार्केटमा हाम्रो सामाग्रीले धेरै उपभोक्ताहरूको मन जितेको थियो। त्यही खुसीयालीमा अफिसमा पार्टी राखेको थिएँ।
आज मभन्दा बढी मेरा कर्मचारीको अनुहारमा खुसी थियो। त्यो चमकले मलाई झन् बढी आनन्द र उत्साहित बनाएको थियो।
शर्माजी, जो मेरो अफिसको सदस्य हुनुहुन्छ र मेरो प्रम मित्र पनि अनि थोमस सर, अल्वा सरहरू चाहिँ अस्ट्रेलियाबाट नयाँ प्रोजेक्टको लागि डिल गर्न आउनु भएको थियो। संयोगवश उहाँहरूलाई पनि सँगै रमाइलोमा सामेल हुन जुर्न पुग्यो।
हामी मिलेर गीतमा झुम्दै एकअर्कालाई हेर्दै गिलासमा खुसीको झोल थप्दै मज्जाले गफ लगाउँदै पिउँदै थियौँ। मलाई याद भएसम्म मैले अफिसको भावी योजनाको कुरा निकालेको थिएँ र हामी त्यही कुरामा बहस पनि गरेका थियौँ।
कतिबेला कसरी थाहा भएन, मैले झुलुक्क सम्झिएँअनुसार प्रेमी-प्रेमिकाको कुरासम्म पुगेको थियो हाम्रो वार्तालाप। शर्मा सर रुँदै आफ्नो कथा सुनाउँदै थिए। त्यसपछि के भयो मैले पत्तो पाइनँ।
रामु काकाले भने बमोजिम मलाई बढी नै लागेको थियो रे। पछि रेस्टरूम जान्छु भनेर हिँडें रे।
रामु काका पेसाले मेरो ड्राइभर हुनुहुन्छ। इमान्दार अनि बुवाको उमेरको हुनुहुन्छ। बाबु भन्नु के मलाई भनिरहँदा उहाँले सर भनेर सम्बोधन गर्नुहुन्थ्यो जसले अलि अप्ठ्यारो भने लागि नै रहन्थ्यो।
अनि रेस्टरूम तिर एक्लै हिँडेको देखेर रामु काका मेरो पछि-पछि आउनु भएको थियो रे। उहाँ पुग्दा मेरो र हरिको झडप परेको रहेछ। मैले हरिलाई अंग्रेजी भाषामा गाली गरेको थिएँ रे तर किन झगडा पर्यो न मलाई याद छ न त रामु काकाले कारण बुझ्नु भएछ। उहाँ आत्तिएर मलाई सिधैं घर लिएर आउनुभएछ।
‘घरमा म्याम सुतिसक्नु भएको थियो, मैले धेरै चिच्याएर उठाएको हुँ’ भन्दै सुनाउँदै हुनुहुन्थ्यो।
राधाले सुनाएअनुसार उनले कागती पानी खुवाएपछि अलिअलि बोल्न सक्ने भएको थिएँ रे। उनले हातमा समाएर मलाई लोबेडमा सुताइदिएकी हुन् रे। मलाई अलिअलि याद भएअनुसार दाइले मलाई केही कुरा भन्दै हुनुहुन्थ्यो, पछि म निदाएछु।
म निदाउन खोजिनँ रे सुरुमा। मोबाइल चलाउँदै सुतेको थिएँ रे। रमेश दाइलाई भिडिओ कल गरेको थिएँ रे। राधाले ‘किन होला यति राति दाइलाई दुःख दिएको?’ भनेर मलाई सोध्दा उल्टै हप्काएको थिएँ रे।
आमाको हामी दुई भाइ छोरा। म कान्छो, ममाथिको दाइ रमेश। उहाँ विदेशिएको लगभग १० वर्ष भएको थियो। +२ कटाएर पनि साउदी जानु भएको थियो। भाउजू अहिले भक्तपुरमा सानो ४ कोठे टिनको घरमा बस्नुहुन्छ। दुई छोरी छन् र बुवामम्मी पनि अहिले भाउजूसँगै बस्नुहुन्छ।
दाजुसँगै कुरैकुरामा ‘दाइ, तिमी निष्ठुरी रहेछौ। आफूलाई जन्म दिएको आमाबुवासँगै विचरी भाउजूलाई त्यस्तो झुपडीमा राखेर विदेश गयौ है? वाह दाजु! आफू एसीको चिसो खाँदै मोज गरेका छौ, उता भाउजू र बाबामम्मीलाई टिनको तातो राफ खुवाउँदै बस गुड-गुड। तिम्रोभन्दा रमाइलो त यहाँ छ बुझ्यौ’ भन्दै आरोप लगाएको रहेछु।
त्यसको प्रमाणस्वरुप राधाले आफ्नो मोबाइलमा भिडिओ खिचेकी रहिछ।
‘तैँले पिएको रहेछस्, सुत् बाबु यस्तो अब नखाएस्। यसले घर बार बिगार्छ, परिवारबाट टाढा बनाउँछ। नशाले दुर्दशा गराउँछ बाबु’ भनेर दाजुले मायाले सम्झाउँदा उल्टै दाइसँग झर्केर बोलेछु।
‘ओए! फुच्चे बढी भाको होस्? मलाई नखा भन्ने तेरो के अधिकार छ? तँलाई के लाग्छ, आज म जे छु तेरो कारणले छु? तेरो पैसाले खाएको छु? एक सुको चुहाउन मरेझैं गर्छ, अझै मलाई नखा भन्दो रहेछ। सुरु-सुरुमा त मेरो लागि कमाइदेको भन्थिस् त खै? मलाई त एक सुको पठाउन्नस्? त्यही आफ्नी स्वास्नीलाई पठाउने त होस्। जाबो ब्याचलरसम्म आफ्नो खर्चले पढाएको छु भनेर के सान देखाको छस्? मलाई पढाएको पैसा कति हो भन् बरु हल्ला गर्छ? तँलाई पैसाले पुर्दिन्छु बुझिस्’ भन्दै एकोहोरो धारिला शब्दले दाजुलाई रुवाएरै छाडेको रहेछु।
विचरा दाइ रुँदै भन्नुभएछ- ‘बाबु, तेरो लागि त हो नि मैले गरेको। तेरो सपना पूरा होस् भनेरै त हो नि आफ्नो सपना मारेर म यहाँ आएको। घरमा बुढा भएका बा-आमा र स्वास्नीलाई छोडेर आयो भनेर यस्तो भनेको होलास् हैन बाबु? माया लाग्दैन र दाइको तिमीलाई?’
दाइको आँखा रसाएका थिए। भिडिओ हेरेर एकोहोरो दाइ सम्झिँदै म पनि रुँदै थिएँ। दाजुले मेरो लागि आफ्नो सपनाको बलिदान गर्नु भएको थियो, मलाई थाहा थियो। दाइको दुःख बुझेको थिएँ तर दिमाखमा र मनमा नभएका यस्ता शब्द कहाँबाट आयो मलाई भन्दै धिक्कार्दै छु।
आमाबुवा ६ महिना जेठो र ६ महिना कान्छोकोमा बस्नुहुन्थ्यो। यदि उहाँहरू यहीँ बस्ने पालो हुन्थ्यो भने म यो अवस्थामा हुँदिनँ थिएँ होला। मैले आज ३-४ दिनमा धेरै पैसा कमाएँ भनेर मेरो भगवानलाई यस्तो शब्द भन्ने कसरी आँट गरे हुँला? आङ सिरिङ्ग हुन्छ।
बुवाआमापछिको मेरो भन्नु दाजु नै त हो। मैले पिएको बेला यो कुरा किन याद गरिनँ?
दाजुले रुँदै भन्नुभएको थियो, ‘बाबु, मलाई देशले त धेरै थोक दिएर पठायो। जन्म दिने आमा र खाइ-नखाई परिश्रम गरेर मलाई पढाउनु हुने, साथ दिनुहुने, हिम्मत दिनुहुने, कर्मदाता मेरो बाबा। बाबाले जेठको चर्को घाममा जोतेर सब्जी रोप्दा बारीमा पसिना उम्रन्थ्यो बाबु। राति १२-१ बजे उठेर पानी ढकाउन जाँदा रोपेको सब्जीमा निद्राको फूल फुल्ने गर्दथ्यो।
बिहानै ५ बजे उठेर भोको पेट बाँदर र चराचुरुङ्गी कुर्न बस्दा बारीमा बल्ल तरकारी फल्ने गर्दथ्यो र साउने झरीमा परेको पानीले तरकारी कुहिँदा त्यहाँ सब्जी मात्र किरा लाग्दैन थियो भाइ, त्यो बेला बाबाको शरीर र मन धमिराले खाएर रुने बनाइछोड्थ्यो। बाँचेका सब्जीलाई बजारमा लगेर बेच्दा ३० रुपियाँ किलो पर्दथ्यो र मैले सोही सब्जी सहरमा किन्दा १५० रुपियाँ किलोमा किन्नु पर्दथ्यो।
तिमी सानै थियौ जब बाबा काम गर्न नसक्ने हुनु भएको थियो। बाबा खनियाको रुखबाट लडेको याद छ होला तिमीलाई। त्योबेला बाबा एक्लै लड्नु भएको थिएन बाबु, घरको पिल्लर भत्के सरह हामी भित्रभित्रै खोक्रो भैसकेको अवस्था थियो। त्योबेला आमाले पल्ला घरे चिन्टु बासँग ३ लाख ऋण खोजेर बाको उपचार गरेका थियौं।
सायद तिमीलाई यो कुरा आमाले भन्नुभएन होला। सायद मैले नि भन्ने थिइनँ बाबु, आजको परिस्थिति त्यस्तै भैदियो र तिमीलाई अब थाहा हुनैपर्छ। घरको अवस्थादेखि लिएर तिम्रो पढाइ खर्च, बुवाको उपचारको लागि लिएको ऋण सम्झेरै म विदेश आएको हुँ बाबु। नेपालमै केही गर्छु भनेर सोच नआएको पनि हैन।
पोखरा बस्दा २/४ ठाउँ जागिर खोज्दै पसल-पसल हिँडेको पनि हो। जागिर नपाएर निराश हुँदै रूममा पुग्दा सकिएको चामलको बोरा र आफ्नो अवस्था हेर्दै आँसु पिएर तिमी, आमाबुवाको दुःख याद गरी भोलिको तिमी र तिम्रो र मेरो प्रेम सम्झिँदै त्यसैलाई आफ्नो आहार सम्झेर कति दिन भोको निदाएको थिएँ बाबु। आफूलाई प्रश्न नगरेको पनि हैन- मेरो अवस्था किन यस्तो? देशको अवस्था किन यस्तो? धनी मान्छे धनी भइराख्ने गरिब जहाँको तहीँ किन?
धनी मानिसहरू पैसाले पैसा फलाउँदा रहेछन् बाबु। मैले भोगेको अवस्थामा कतिपय धनी मानिसहरूले बैंकबाट ऋण लिग्दथे र केही बिजनेस गर्छन् अनि बिजनेस गर्दा कर्मचारीको भ्याकेन्सी खुलाउँछन्। भ्याकेन्सी खुलाएर त्यहाँबाट दक्ष मानिसलाई छनोट गर्छन् र छनोट गरेका मानिसलाई न्यूनतम तलब दिन्छन्- महिनाकझ ९ हजार वा १० हजार।
काम पेलाउँछन्। जबसम्म उसले जागिर छाड्दैन मरी-मरी पेलाउँछन् र त्यहाँबाट उत्पादन भएको सामाग्री बजार पुर्याउन अर्को दक्ष शक्ति परिचालन गर्छन्। आफू मज्जाले कुर्सीमा बसेर काम अह्राउँछन्। फाइदा पनि उनीहरूले खान्छन्। कम्पनीमा दुई बोत्तल भोड्का र बियरको भरमा पार्टी दिन्छन् तर तलब बढाउँदैनन् बाबु।
कम्पनी फाइदामै छ, उनीहरूको घरमा नयाँ-नयाँ सामाग्री जोड्छन् तर बैंकको ऋण तिर्दैनन्। उता गरिब मजदूर आफ्नो साहुलाई धनी बनाउन रातदिन इमान्दारिताले काम गर्छन्, चाहे श्रीमती बिरामी होस् वा घरमा छोराछोरी बिचल्ली हुन्। इमान्दारिताको सीमा नाघेको हुन्छ तर सोही कर्मचारी घरको झमेलाले एक दिन ढिला मात्र आउँदा उसको आधा दिनको तलब कटौती हुन्छ।
त्यो ४ हजारले उसले कोठा भाडा तिर्ने कि छोराछोरीको स्कुल फी तिर्ने हो कि घर खर्च चलाउने? गर्ने त के गर्ने? बचाउन त परको कुरा हो, खर्च धेरै पुगेर अफिसबाट एड्भान्स तलब लिग्न बाध्य हुन्छन् कर्मचारी। बैंकको ऋण तिर्न खोज्दा स्टाफको तलब रोक्का गर्दिन्छन्, स्टाफलाई समयमा तलव नदिएर खटाएको खटाई गर्छन्।
घरबेटीको कचकच, घरको खर्च, तिम्रो पढाइ, सोचेर तलबको माग गर्न अफिसमा जाँदा उल्टै अफिसले धेरै कर्मचारी राख्न नसक्ने अवस्थामा भन्छ। हजुरको ३ महिनाको १२ हजार हुन्छ, आमा बिरामी भएर जाँदा हजुरले १५ लिएर जानु भएको थियो र ४ दिन आउनु भएको थिएन। त्यस ४ दिनको तलब कटौती हुन्छ भनेर ३ महिनाको एकमुष्ट तलब ९ हजार हातमा थमाएर निकाला गरदिन्छन्। उता ऋणको ब्याज बढेर ४ लाख पुग्न आँटेको बेला चिन्टु बाले झन् तनाव दिँदा, सबै अवस्था सम्झिँदा नै मजस्ता मानिस विदेश लाग्ने हो नि बाबु।’
दाइले आफ्नो लामो कथा सुनाउनु भएको रहेछ। दाजुको कथा सुरु हुँदाहुँदै म निदाएको रहेछु। राधा पनि मोबाइल हातमै समाउँदै रेकर्डमै राखेर निदाइछे। ब्ल्याङकेट तिर फर्केको कालो भिडिओबाट एकोहोरो दाजुको आवाज आइरहेको थियो। दाजुले अन्तिममा ‘बाबु-बाबु’ भनेर बोलाउनु भएको पनि थियो तर हामी निदाइसकेका रहेछौँ।
बिहान म बिउँझिँदा साढे ८ बजेको थियो। मोबाइलमा हरिको १२ मिस्कल थियो। राधा रिसले चुर परेकी थिई। दाइको म्यासेज थियो- ‘राम्रो उपहार दिइस् बाबु राति, तिमीलाई धेरै-धेरै धन्यवाद।’
अर्को म्यासेज राधाको थियो जसमा धन्यवादसँगै एउटा भिडिओ थियो। राधा रिसले चुर परेकी थिई। दाजुले धन्यवाद दिनुको कारण थाहा थिएन। हरिलाई कल गरेँ, उसको आवाज मलिनो थियो।