उसले जीवनमा कहिल्यै घोडा चढेको छैन
उसलाई केबल यति डर छ
ऊमाथि घोडा चढ्न सक्छ
ऊ डरले छेउ लाग्छ
अनि जीवनमा छेउ लाग्छ
जसरी नबगेको पानीको ढुंगामा लेउ लाग्छ
ऊ जेलिन्छ र रोकिन्छ
अदृश्य मान्छेलाई नढेप्ने र नहेप्ने कुरै हुँदैन
ऊ भिडमा हुन्छ त्यसैले देखिने कुरै हुँदैन
हरदिन ऊ बजार बजार डुल्छ
त्यो बजारमा ऊ केही किन्दैन
ऊ रेडियो सुन्छ, समाचार सुन्छ
समाचारमा ऊ कहिल्यै सुनिँदैन
एकपटक ऊ सुनिएको थियो
अनि ऊ पीरले सुन्निएको थियो
ऊ नाम्लोको बरियोझैं कैयौंपटक बटाचरिएको छ
उसलाई बटारिएर बलियो हुनुपर्ने छ
किनकि भारीमुनि उसलाई अदृश्य हुनुछ
उसको लागि एउटा खुला ठाउँ छ
जुन अनन्त आकाश हो
त्यही आकाशमा उसले सपनाका बिस्कुनहरू सुकाउँछ
ओस्सिएका बिस्कुनहरूबाट बाफ उडाउँछ
अनि सुस्ताउँछ
जसरी पानीमा रुझेको मान्छे ओतमा अटाउँछ
उसको जीवनमा पनि आँधीबेहरी चलेको थियो
र अहिले पनि ती यादहरूले सताइरहन्छ
चिया पसल र भट्टीहरूमा
उसका जीवनका आँधीबेहरीहरूको
अर्थ लगाउन खोज्छ, सुनाउन खोज्छ
बाटोले कहिल्यै बटुवा चिन्दैन
अनि हाँसोठट्टा र चुरोटको धुवाँमा फुस-फुस उडाउँछ
बिर्सन्छ सबथोक र भरिरहन्छ फोक्सोमा कालो धुवाँ
जब धुवाँले आकाशमा नदीजस्तै नागबेली बनाएर उड्छ
ती नागबेलीहरूमा गाउँका तस्वीरहरू
जैगल र बम बारुद
अनि एउटा अँध्यारो रात
र अदृश्य भएको छोराको झलझल तस्वीर
केबल उसले मात्र देखिरहन्छ
जीवन ओरोलो लागेपछि उसलाई
देशका बलिष्ठ सीमाहरूले पनि रोकेनन्
देशमा उसको दृश्य अदृश्य छ
विदेशमा उसकै दृश्य अदृश्य छ
अब उसले कसरी खोज्न सक्छ आफूलाई
मान्छे हेर त अदृश्य छ।