तिम्रो रामराज्य भित्र
तिम्रो सपनाको संसारभित्र
मेरो सानो बस्ती छ
छ्याङ्ङ फाटेको निलो आकाश
रातको शान्त पवनसँगै
शीतका थोपाहरू स्पर्श गर्दै
पल्ला बिनाको झ्यालबाट
चुकुल बिनाको ढोकाबाट
झ्याउकिरीको कर्कश आवाज
विदेशिएका सन्ततिको
पीडाले उकुसमुकुस मन
यहाँका नियति हुन्।
तिमी छाती पिट्छौ
अबिरजात्रा गर्छौ
मैले ल्याएको व्यवस्थाभित्र
मैले बनाएको रामराज्यभित्र
कोही भोको रहँदैन
कोही नाङ्गो रहँदैन
असमानताको के कुरा
अन्यायको के कुरा
पीडित हुँदैन
पीडक हुँदैन
धनी र गरिबबीच खाडल हुँदैन
सम्मानले भरिएको मेरो रामराज्य।
सुन्दा लाग्छ मेरो बस्ती
तिम्रो राज्यमा पर्दैन
तिम्रो व्यवस्थामा पर्दैन
यहाँ भोकले कोलाहल मच्चाउँछ
यहाँ अभावले चित्कार सुनाउँछ
बेरोजगार छोराको चिन्ता चिच्याउँछ
अशिक्षित छोरीको विवशता गिज्याउँछ
रोग र व्याधीले यातना फिजाउँछ
बारीको डिलबाट बग्ने नदीले
त्यो सुख्खा बाँझो बारीलाई जिस्काउँछ
तिम्रो महानताको के अर्थ
तिम्रो बलिदानको के अर्थ?
श्रमको खोजीमा विदेशिएका
बेरोजगारीको भारीले थेचारिएका
गरिबीको गह्रौ भारी बोकेका
चरम निराशाले च्यापिएका
अँध्यारो बस्तीका
कारुणीक कथा सुनाउनुको के अर्थ
आशाको त्यान्द्रोमा जिउनुको के अर्थ
सामन्ती शासन ढालेको के अर्थ
तिम्रो महानतालाई
तिम्रो आडम्बरलाई
मेरो बस्तीले गिज्याउँछ
मेरो विवशताले जिस्काउँछ।