मेरो पनि स्कुले जीवन साह्रै सुन्दर थियो। कक्षा नौमा पढ्दासम्म कसरी बित्यो पत्तै भएन। कक्षा ९ मा एकजना साथीसँग सामीप्यता बढ्यो। उनी थिइन्, सिर्जना।
हाम्रो समयमा आँखा जुध्नु र हेरेर मुसुक्क हाँस्नु भनेको त आजभोलि भेट्नु, घुम्न जानुभन्दा गहिरो माया हो। स्कुलमा बोलचाल हुँदैन थियो तर परीक्षामा चिट चोर्न र पालैपालो सार्ने र त्यो बेलामा हातसम्म स्पर्श हुन्थ्यो। तर यतिमा पूरै मुना-मदन लुकेको हुन्थ्यो।
हाम्रो अन्तिम परीक्षामा उनी र म एकै कक्षामा परेका थियौं। परीक्षामा आफूले नलेखेर मेरोबारे बढी चासो गरिन्।
परीक्षा सकिएको दिन उनले हास्दैं भनिन्- 'फेल हुन्छु जस्तो छ यसपालि।’
मैले हाँस्दै भने, 'बिहे गर्दिनु होला नि फेरि घरबाट।’
हामी दुवै हाँस्यौं।
अब स्कुलमा पनि तीन महिना बर्खे बिदा हुन लागेको थियो। उनले अर्को महिना भाइलाई खोप लाउन स्कुल आउने बताउँदै मलाई 'तिमी आउँदैनौ?’ भनेर सोधिन्।
उनलाई मसँग भेट्ने मन भएको आशय बुझेपछि भनेँ, 'आउँथे तर के गर्नु भाइ छैन।’
'मन हो त्यो त, मेरो पनि ममी आउन सक्नुहुन्छ नि।’
मैले सकेसम्म आउने बताउँदै हामी छुट्यौँ।
साउन १५ गते खोप लगाउने दिन म स्कुल गएँ। उनी पनि आएर बाटोमा बसेकी रहेछिन्। मुसुक्क हाँस्दै बोलिन्- 'दुई घण्टा भयो हामी आएको।’
'किन नगएको त?’
'हेर न अझ ठूलो स्वर।’
भेट नै भए पनि अलिअलि संवाद हुन्थ्यो तर ती संवाद यादगार हुन्थे। एक/दुइटा कुराको पनि आफै धेरै अर्थ लगाउँदै मनमनै खुसी हुने गर्थ्यौं।
कक्षा १० पनि यसैगरी बित्यो।
एसएलसी दिने बेलामा गाउँमा परीक्षा केन्द्र टाढा हुन्थे, कोठा लिएर बस्नु पर्थ्यो। उनीहरू परीक्षा केन्द्र अघिल्लो दिन नै गएका रहेछन्। भोलिपल्ट उनले मलाई खोज्दै म भएको घरमा साथीसँग आएकी रहेछिन्।
'हिजै आउनु पर्दैन, कस्तो न घरमा काम गर्ने जस्तो।’
हामी सबै हाँस्यौं।
मैले सोधेँ- 'तिमीहरू किन छिटो आएको त?’
'यहाँको माहोल बुझ्न परेन त? अल्छीहरू कस्तो हो र?’
'राम्ररी पढ्नू, हामी नि गयौं' भन्दै एउटा झोला दिएर गइन्। त्यसमा नोट कपी र चिटका टुक्राहरू रहेछ। म त अचम्म परेँ।
आइरन गेट भन्ने परीक्षामा पनि मप्रति यत्रो माया सद्भाव, मप्रतिको उनको भरोसाले मलाई एकदमै गहिरो प्रभाव पर्यो। मैले मेहनत गरेर परीक्षा दिएँ।
परीक्षा सकिएपछि उनलाई भेट्न अर्कै स्कुलको साथी र म गयौं। किनकि ऊबेला बोल्नु, भेट्नु भनेको ठूलो गल्ती वा अपराध गरे सरह लाग्थ्यो।
भेट्न जाँदा उनी धेरै खुसी भइन्।
उनले गम्भीर हुँदै भनिन्, 'अब त स्कुल नि सकियो, भेट पनि अन्तिम हो कि जस्तो नि लाग्छ। समयको खेल हो, भेट हुन्छ कि हुँदैन। तिमी त काठमाडौं जान्छौ होला है!’
'जहाँ भए नि भेट भैहाल्छ नि।’
के-के भन्छु भन्ठानेको थिएँ बोल्नै आएन। उनले गहभरि आँसु पार्दै रुन्चे स्वरमा भनिन्, 'पास भएँ भने यहीँ पढ्छु होला, फेल भए भने तिमीले भने जस्तो होला। काठमाडौं गएपछि हामीलाई भुलिहाल्छौ होला।’
मलाई पनि साह्रै मन दुख्यो। उनी वर्षौंदेखिको नाता झैं पीर गर्दै थिइन्, आमाको काखको बच्चा छुट्न लागेजस्तो।
साथीहरूको बीचमा धेरै कुरा गर्न नि अप्ठ्यारो। यत्तिकैमा अरु साथीहरू आए।
उनी सलले आँखा पुछ्दै 'जहाँ पुगे पनि फोन गर्नू म कुरेर बसेकी हुन्छु है’ भन्दै रुवाइसहितको हाँसो हाँस्दै छुटिइन्। मन दुख्यो तर के गर्नु, म पनि छुटेँ।
गाउँबाट सहर छिर्नु हामी नेपालीको प्राथमिक शिक्षा जस्तै रहेछ। संघर्षको पहिलो पाठशाला सहर रहेछ। गाउँबाट सहर पस्न सजिलो। एउटा झोला गुन्द्रुक, मकै, भट्मास, घ्यु, अमिलो र ठूला-ठूला सपनाको पुरानो झोला बोकेर म पनि काठमाडौं छिरेँ।
एक दुई दिन आफान्तले पनि राम्रो गरे। त्यसपछि घरबेटीलाई बोलाएर भनेँ- 'यत्रो चप्पल कहाँबाट आयो भनेर यसो कराइदिनुस् न, गाउँबाट आएका पाहुना जाने नाम नै लिँदैनन्।’
काठमाडौंमा भाडा तिर्न सक्ने कोठा पाउनु सपना जस्तै थियो। गाउँका मान्छे खोज्दै जाँदा मजदुरी गर्ने दाइहरू भेटिए। कसैले पढाइदिने घरमा काम गर्दै पढ्न सल्लाह दिए। धेरै खोजियो तर भेटिएनन्।
कलेज भर्ना गर्न लाग्दा संगठनका नेताले पैसा लगेर भर्ना गर्दिन्छु भने तर भर्ना नगरी पैसा खाइदिए। घरबाट ल्याएको पैसा सकियो। बस्ने ठाउँ छैन, काम छैन, कहिले कता बस्यो कहिले कता। बल्लबल्ल एउटा कोठा मिल्यो, काम पनि मिल्यो तर तलबले भाडा तिर्न नपुग्ने। न गाउँबाट पैसा मगाउँन मिल्ने।
साथी सबै विदेश लागिसकेका थिए। मैले पनि नचाहेरै विदेशिने सपना बनाएँ। सिर्जनालाई बुथबाट फोन गरेँ। गाउँमा ल्यान्डलाइन फोन, त्यो पनि पसलमा मात्रै हुन्थ्यो।
धेरै दिनपछि उनी बल्ल फोनमा आइन्।
मैले हेल्लो भन्न नपाउँदै उनी आत्तिँदै बोलिन्, 'कहाँबाट सम्झियौ यतिपछि? यत्रो समय कहाँ हराएको? कस्तो मन है? के छ नि पढाइ कस्तो छ? सन्चै छौ? काठमाडौं कस्तो लागिरहेको छ? किन नबोलेको, नबोल्ने भए किन कल गर्या?’
म कुनको जवाफ दिउँ?
'सुन न।’
'हजुर-हजुर।’
म त विदेश जान लागेको। पढ्न मन त थियो तर फी, कोठा भाडा, रासनले ऋण धेरै भयो।’
'त्यसो नभन्नू न, तपाईंको पछि कति जनाको सपना छ बुबा, ममी, तपाईं हाम्रो बारेमा सोच्नू त?’
'तिमीहरूलाई माया मारेर जान लागेको हो र,’ मैले भनेँ।
'पैसा चाहिए मसँग छ नि, म पठाइदिन्छु नि। अस्ति भन्नु पर्दैन? गाउँका मान्छे आउँदा पठाइदिन्थें नि,’ उनले भनिन्।
मेरा गह भरिएका थिए।
'म अरब जान्छु, तिमी कुर्छौ त? के कुर्थ्यौ होला है अरब जानेलाई?’
'त्यसो नभन्नू न, मैले पढे राम्रो हो भनेको हो। माया मार्न कहाँ सक्छु र? ३ वर्षमा जसरी नि आउनुस्, मेरो नि १२ सकिन्छ,’ उनी भकानिन्। मेरा पनि धेरैबेर आँखा रसाए।
फोन काटियो।
केही दिनमा म अरब गएँ। गाउँका सपना बोकेर सहर हुँदै अरबसम्म पुगेँ। उनको माया झन् बढ्न थाल्यो।
सुरुमा सम्पर्क भैरहेको थियो। पछि कम्पनी सर्यो। कहिले फोन नलाग्ने, कहिले टाइम नमिल्ने, फोन बोक्न नमिल्ने भयो। उनको गाउँमा पठाएको चिठी फिर्ता आयो। फोन गर्दा उनीहरू काठमाडौं गएका छन् भन्ने थाहा भयो।
मेरो कम्पनी सरेपछि नम्बर पनि परिवर्तन भयो। कतैबाट सम्पर्क भएन। मलाई लाग्यो सपना सकियो। सपना बिनाको जीवन के काम झैं भयो। केही महिनापछि म पनि नेपाल फर्किएँ।
उनी पढेको कलेज पत्ता लाग्यो। उनका साथीहरूलाई भेटेँ। साथीहरूले अहिले सम्पर्क नभएको बताए। अब झिनो आशा पनि मर्यो। फेरि विदेश जाने तयारीमा थिएँ, केही हप्तापछि एउटा अपरिचित नम्बरबाट फोन आयो।
त्यो उनकै रहेछ। उनी मसँग रिसाएकी थिइन् साह्रै नै। अनि म पनि रिसाएँ, जे भए पनि एक पटक भेट्ने कुरा भयो। पशुपति मन्दिरमा भेट्ने भयौं।
उनले भनेको दिन रातभर निद्रा लागेन। स्कुलदेखिका घटना मेरो बाध्यता बिछोड सबैले सतायो।
म झिसमिसेमै पुगेर बसेँ। घामको झुल्कोसँगै उनलाई परैबाट देखेँ। सानो बच्चासहित सबै घर-परिवार कारबाट ओर्लिए। म त दोधारमा परेँ, जाउँ कि फर्कौं? मैले फर्कने विचार गरेँ। फेरि मुखको तितो फेर्छु, किन डराउनु?
'तिम्रो बाबु र कार देखेपछि मैले भन्नु केही छैन, तिमीले नि भन्नु पर्दैन मैले जवाफ पाएँ। तिमो सबै नाटक रहेछ। धन पैसामा महादेवका नेत्र खुल्छन् भन्थे, मसँग जस्तो नाटक अरुसँग नगर्नू’ भन्दै लोकाचारको लागि सबैलाई नमस्कार गरेँ।
सबैले नमस्कार फर्काउनु भयो।
अचानक सिर्जना आएर दुख्ने गरी कान निमोठेर अगाडि लगिन्।
'मलाई हेपेको? यत्रो समयसम्म कन्ट्याक नगरेर चेक गर्या हैन?’ मलाई गाली गर्दै मलाई नै दोष दिइन्।
पछाडि दिदी-बहिनी गुनगुनागन थाले।
'यसले कस्तो माया गरिछे! यिनकै लागि अष्ट्रेलिया गएको केटा, आर्मीका अफिसर छाडेर कुरेर बसेकी। अब यही महिनामा बिहे हुन्छ।’
उनले इसाराले चुप गराइन्। म त अचम्ममा परेँ। उनीसामु श्रद्धाले शिर झुक्यो।
उनले मेरा आँसु पुछिदिँदै 'यी नै हुन् मेरा सारथी’ भन्दै सबैलाई चिनाइन्।