सर्वप्रथम म मेरा यी प्रत्येक शब्दहरू ती स्वप्निल यादहरूप्रति समर्पित गर्न चाहन्छु र तिमीलाई विशेष नमन र धन्यवाद दिन चाहन्छु। तिम्रा मन्दहाँसका प्रत्येक बाछिटालाई मैले शब्दमा कोर्न सिकेँ र यो लेख लेख्न सकेँ। जसकै कारण आज म लेखक भएको छु।
नमस्ते, सञ्चै छौ भन्ने आशा राखेको छु। नमस्ते शब्द मेरो मनको धेरै नजिक छ। मैले पहिलो पटक तिमीलाई अप्रिल २१ रातिको १०:३७ बजे ‘हाई’ पठाउँदा तिमीले १०:४३ बजे 'नमस्ते' फर्काएकी थियौ। मलाई याद छ। त्यसैले होला बेलाबेला ऐनामा हेर्दै आफैंले आफैंलाई नमस्ते टक्र्याउन मन लाग्छ।
आज म धेरै जिस्कने मनसायमा छैन, ठट्टा गर्ने अवस्थामा छैन। देशको विकराल स्थिति छ। कतै रवि दाइ, कतै स्वर्णिम दाइ, कतै दुर्गा नाति छन् त कतै पुण्य अन्कल। यसकै सेरोफेरोमा कतै राजा आऊ देश बचाऊका नारा पनि लागेकै छन्।
आर्थिक अवस्था कमजोर छ। व्यवस्था संकटमा छ। सुशासनको अवस्था नाजुक छ। यस्तो अवस्थामा म पटक्कै जिस्कन सक्दिनँ। तर म नजिस्कनुको मुख्य कारण केही भिन्न छ। एउटा साथीले भनेजस्तै- ‘यहाँ मायाको छ चिन्ता, तिमी राष्ट्र-राष्ट्र भन्छेऊ।’
यो ज्ञापन पत्रको मुख्य एजेन्डामा प्रवेश गर्नुअघि म हाम्रो विगतलाई सम्झन चाहन्छु। भिजेको केशमा तेजस्वी त्यो मुस्कान म कसरी बिर्सन सक्छु र? बच्चाको जस्तो त्यो सुन्दर अनुहार। कालो कुर्ता। तिम्रा अनुसार अलिकति नमिलेको दाँत। तर मेरा लागि त त्यो नमिल्नु नै मिलन थियो।
कुनै-कुनै कुराहरू नभैदिएको भए कस्तो राम्रो देखिन्थें भन्ने भावना आउँछन् तर जुन सुन्दरता हामीले पाएका छौँ, त्यसमा त्यो नमिलेको कुराको पनि त्यत्तिकै देन हुन्छ।
तसर्थ, मलाई तिम्रो दाँत र त्यसमाथिको हाँसो एकदमै मनपर्छ। यो सबै गुण भएकी तिमीसँग कुरा गर्दा मन प्रफुल्लित भएको थियो। अझ तिमीलाई बुझ्दै जाँदा ‘अर्बौं मान्छेहरूमा तिमी एक मन मिल्ने मान्छे’ जस्तो आभास हुन्थ्यो। त्यही भएर होला आज तिमीबिना हरेक पल अधुरो लागिरहेको छ।। मह बिनाको मौरीको चाखा जस्तै।
हामी बोल्दै गयौँ कुनै कुराको पर्वाह नगरी। ८/९ महिना लगातार बोलेपछि बल्ल माघ ९ गतेका दिन भेट्न पाएँ। बिहानको ६ बजे। मलाई याद छ, म कुरिरहँदा तिमी मुस्कुराउँदै म तिर आइरहेको। मास्क र चस्मा पनि तिम्रो त्यो चमक ढाक्न असक्षम थिएँ। त्यो दिन मैले तिम्रो आवाज सुन्न पाएँ। झुक्केर ठोकिने ती हातको स्पर्श गर्न पाएँ। तिम्रो मुहारका भावहरू बुझ्न पाएँ।
तिमीमा आफ्नोपन अनुभव गरें र झट्ट कबिर सिंहले प्रीतिलाई भनेको सम्झेँ- ‘आइ लव द वे यू ब्रीथ।’
हो, साँच्चिकै आइ रियल्ली लब द वे यू ब्रीथ, आइ लव द वे यू वाक, आइ लव द वे यू टच, आइ लव द वे यू स्माइल, आइ लव यू, आइ रियल्ली डु।
मलाई रातिको त्यो शान्त वातावरण एकदमै मनपर्छ। अझ त्यो अँध्यारो रातका बीचमा खुला आकाशमुनि बसेर टोलाउन छुट्टै आनन्द आउँछ। अझ पूर्णिमाको रात। आहा! तर मलाई त्योभन्दा मिठो अरु केही लाग्न थालिसकेको थियो। हाम्रो संवाद। तिमी छिट्टै सुत्न रुचाउने मान्छे। म अलि ढिला नै सुत्थे। मेरा लागि भनेर तिमीले आफ्नो निद्रा त्यागेका दिनहरू म बिर्सिन सक्दिनँ।
१० बजे सुत्ने मान्छेले ३ बजेसम्म मसँग बिताएका पल म बिर्सिन सक्दिनँ। ती हरेक भावनालाई म इतिहास बनेको देख्न सक्दिनँ। सँगै देखेका सपना म भुल्न सक्दिनँ। भुल्न चाहन्नँ। मलाई पनि निद्रा नलाग्ने हैन। लाग्थ्यो, तर निद्राभन्दा प्रिय तिमीलाई पाउँथेँ। निद्रा बिर्सिन्थेँ। किनकि मलाई थाहा थियो, तिमी त औँसीमा पनि चम्किने जून हौ, प्रकाशमयी तारा हौ।
मैले पहिले भनेजस्तै, दृश्यभन्दा अदृश्य माया अधिक बलियो र मिठो हुँदो रहेछ। त्यही भएर होला हाम्रो बीचमा केही नभएर पनि छुट्टै मिठास थियो। त्यो मिठास सायद कुनै कथित कथाका मोहिनीयुक्त जोडीभन्दा सरस र सार्थक थियो। समाजका लागि यो मिठास बैँसको गन्ध होला, रुखको हाङ्गामा पलेको क्षणिक सुकेको पात होला। तर मेरो लागि त यो इन्दुको कान्ति थियो, जति भोग गर्न खोजे पनि अपुग।
तिम्रो आफ्नै विगत थियो। मेरो आफ्नै विगत थियो। मेरो विगत, विगत कहलाउन लायक थिएन। तिम्रो विगत, बिर्सिन नसकिने एउटा घाउ थियो। तसर्थ, म त्यो विगतबाट उठेर हिँडिसकेको थिएँ, तिमी अझै ब्युँझिन खोजिरहेकी थिएनौ। त्यही भएर होला त्यो विगतले कसेर मजबुत बनाएको त्यो मुटुमा कहिल्यै घर बनाउनै सकिनँ।
ढोका ढकढकाइरहेँ, बास पाउने आशाले। तिमीले पनि २-४ शब्द बोलिदियौ, बास दिने नियतले। तर पनि त्यो विगतले संगालेको ढोकाको ताल्चा खोल्न तिमीले चाहिनौ। मैले तोड्न चाहिनँ।
मलाई आजभोलि साथीहरूले सोध्ने गर्छन्- ‘तेरो एक्सको हालखबर के छ?
अनि मैले उनीहरूलाई पनि तिमीलाई उहिले भनेजस्तै भन्छु, ‘प्रेम कहिल्यै पूर्व हुँदैन, पुरानो हुँदैन। तिमी र म सँगै हुन्छौँ/हुदैनौँ, त्यो समयको खेल हो। तर तिमी हिजो पनि मेरी थियौ, आज पनि मेरी छौ र भोलि पनि मेरी नै हुनेछौ, अनन्तकालसम्म। यो मेरो प्रण हो। जुन अटल र अमर छ सूर्यका किरण जस्तै, वायुको वेगजस्तै।
हो, म हरदिन लड्नेछु, हरदिन उठ्नेछु तर आफ्नो इमान कहिल्यै डगमगाउन दिनेछैन। यो मेरो दृढ सङ्कल्प हो।
हाम्रो मिलनपछिको तिम्रो पहिलो जन्मदिनमा केही नौलो गर्न मन थियो। तिम्रो मनलाई सुन्दर नवीन स्पर्श गराउन मन थियो। तिम्रो जन्मदिनलाई मेरो जन्मदिन सरह जिउन मन थियो। तर मैले अघि भनेजस्तै, भगवानको लीलामा केही छुट्टै लेखिएको रहेछ।
तिम्रा लागि किनेर राखेको हरियो कुर्ता र सेतो सुरुवाल अझै पनि दराजमा लुकाएर राखेको छु। त्यो माया र स्नेह मुटुमा सजाएर राखेको छु। हो, म पर्खिरहेको छु।
मैले कतै सुनेको थिएँ, मोहब्बतमे हारे हुए लड्के भि ना कुछ अलग हि निकल जाते है। कुछ कबिर सिंह बनजाते है, कुछ राहुल जैकर कि तरह आशिकि मे मर जाते है। और कुछ इत्ने शान्त होते है कि किस्मत मानकर सबर कर्लेते है, और अप्नी जिन्दगी नर्मल चलालेते है।
म के गर्छु मलाई थाहा छैन। भोलेनाथको भक्त हुँ, नियतिमा विश्वास गर्छु।
यो पत्रलाई म धेरै लामो बनाउन चाहदिनँ। यसमा साहित्य रच्न खोज्दिनँ। जे छ त्यो तिमी माझ पोख्न चाहन्छु। आफ्ना भावना आफैं बुझ्न चाहन्छु। यो पत्रको आशय तिमीलाई चोट पुर्याउनु हैन। फुलिरहेको फूललाई सुगन्ध दिने प्रयास हो। तिमीलाई म बनाउने कोसिस हो। एक्लोपनमा पनि तिम्रो साथको खोजी हो। हाम्रो कहानी कयौँका लागि उदाहरण बनाउने जमर्को हो।
यो लेख्दै गर्दा अहिले म अन्नपूर्ण क्षेत्रको खयर लेक भन्ने ठाउँमा छु। तसर्थ यी हिमाल, पहाड, जल, वायु, इश्वर सबैलाई साक्षी राखी तिम्रो साथ कहिल्यै नछोड्ने मेरो प्रण हो। प्रतिज्ञा हो।
‘मायाको सागर अनन्त छ
र म आशातीत छु
प्रयत्नशील छु
तिम्रो आगमनका लागि
किनकि मलाई विश्वास छ
कृष्णका वाणीप्रति
तिम्रो मनको कठोरता अनि मेरो मनको शीतलताप्रति
हो,
म एकटक छु तिमी प्रति
किनकि मलाई थाहा छ
मायाले सुख दिँदैन
तर माया नै सुख हो
माया नै सुख हो।’
जता छौ, खुसी छौ भन्ने आशासहित यो उद्देश्यहीन, दिशाहीन, गन्तव्यहीन ज्ञापन पत्र जारी गर्दछु।