उसले किन देश छाड्ने निर्णय गर्यो? देशमा जेनतेन गुजारा चलेकै थियो, दिन कटिराखेकै थिए र पनि किन ऊ एकाएक पलायनको मार्गमा अग्रसर भयो?
त्यो निर्णय सही थियो या गलत अनेकौं अनुत्तरित प्रश्नका बीच घेरिएको छ ऊ। प्रश्नको उत्तर दिनलाई मात्रै त ऊसँग बनिबनाउ जवाफ होला तर एकान्तमा आफैंभित्र घोत्लिएर आफैंलाई सोध्दा ऊ नाजवाफ छ, आफैंलाई चित्त बुझाउन सकिरहेको छैन ऊ।
जब ऊ २०/२२ वर्षको युवा अवस्थामा थियो, देशले परिवर्तनको काँचुली फेर्दै थियो। उसलाई लाग्दथ्यो, मानिसहरू किन आफू जन्मेको देश नै छाडेर विदेश जान्छन् होला? सायद म कहिल्यै पनि विदेश जाँदिनँ अनि आफ्नै जन्मभूमिमा केही पौरख गर्नेछु।
समय बलवान हुँदो रहेछ, एकदिन ऊ पनि देश छोड्ने लाइनमा उभियो अनि आम युवाजस्तै उड्यो आकाशमा, रंगिन सपनाका चाङहरूको भारी बोकेर।
एजेन्टले उसलाई पोल्यान्डको एउटा कुखुरा प्याकिङ गर्ने कम्पनीमा वर्क पर्मिट दिलाइदिएको थियो। ऊ त्यहाँ पुग्यो र केही समय काम पनि गर्यो। खटाइ धेरै कमाइ कम अनि भविष्यको लागि पनि त्यति उपयुक्त नदेखेपछि ऊ केही समय त्यहाँ बिताएर पोर्चुगल हानिने निर्णय गर्दछ र लाग्दछ पोर्चुगलको राजधानी लिसबनतर्फ।
सुरुको दुई/चार दिन त रमझममै बित्यो। यति धेरै नेपालीहरू विदेशमा देख्दा उसलाई रमाइलो पनि लाग्यो र थोरै दु:ख पनि। बेजा जिल्लाका भित्री गाउँमा डुल्दा लाग्दथ्यो सारा नेपाल नै यहीँ आएका रहेछन्।
नोभेम्बरको महिना, लिसबनमा काम थिएन भने अब खेतीमा पनि काम हुँदैछ भन्ने कुरा सुन्दा कता-कता उसको मन आत्तिन थालेको थियो। त्यति भएर पोर्चुगल आउनु अगाडि नै उसले एकजना साथीमार्फत खेती कम्पनीको साहुजीलाई सम्पर्क गरेको थियो।
त्योबेला काम ओलिभ टिप्ने मात्रै पाइँदो रहेछ। खेती कम्पनीको साहुजीले भने कि उनले एकजना आफ्नो मान्छे रिसिभ गर्न एयरपोर्टमा पठाइदिने छन् र त्यही व्यक्तिले उनलाई सिधैं एयरपोर्टबाट बसपार्कसम्म लगेर बस चढाइदिनेछ।
आखिर भयो पनि त्यस्तै। उनी लिसबन एयरपोर्टमा ल्याण्ड हुँदा एकजना व्यक्ति एयरपोर्टमा उनको नामको प्लेकार्ड बोकेर खडा थियो। अनि उनीहरू त्यहाँबाट सिधैं सेतेरियोस बसपार्कतर्फ लागे। बसपार्कमा अरु पनि नेपालीहरू भेटिए जो उनीसँगै जाने रहेछन्। केहीबेरमा त्यो बस लिसबनबाट पोर्चुगलमा खेतीको राजाधानी भनेर चिनिने बेजा भन्ने ठाउँतर्फ लाग्यो।
नेपाली साहुको कन्पनीमार्फत उनीहरू करिब तीस जना जति ओलिभ टिप्ने काम गर्दथे। काम यति गाह्रो र जोखिमपूर्ण थियो कि केही साथीभाइ त काम गर्नै नसकेर लिसबन नै फर्किए। तर ऊ भने जेनतेन त्यही काममा टिकिरह्यो। काम गाह्रो, अत्यन्त अव्यवस्थित बसाइ, काममा जान-आउन ठूलै असुविधाका बाबजुत सबै जना काम गरिराखेकै थिए।
कोही युकेबाट लरीमा चढेर आएका विद्यार्थी, कोही बेल्जियममा केस नटिकेर आएका, कोही डेनमार्कमा कलेजले भिषा नथपेर आएका विद्यार्थी त कोही टर्की, सिरिया, अजरबैजान जस्ता देश हुँदै ज्यान नै हत्केलामा राखेर पोर्चुगल छिरेका व्यक्तिहरू।
फरक पृष्ठभूमि, फरक सोच अनि फरक बुझाइका नेपालीहरूको एउटा समूह तर सबैको एउटै साझा उदेश्य र गन्तब्य- रातो पासपोर्ट।
न व्यक्त गर्न सजिलो छ, न शब्दमा लेख्न सजिलो उनले रातो पासपोर्टको सपनामा गुजारेका ती कहालीलाग्दा पलहरू। तैपनि अर्जुन दृष्टि नै रातो पासपोर्ट भएपछि सबैथोक पाइन्छ भन्ने भ्रमले भोक-प्यास, निद्रा, थकान, घाम बादल सबै भुलेका एक हुल आप्रवासीहरूको समूह।
यस्तो लाग्थ्यो एक बार पाएको यो मानव चोला त्यही एक थान रातो पासपोर्टका लागि हो। रातो पासपोर्ट बाहेकका सबै कुरा मिथ्या हुन्।
कहिले अस्थायी बसोबासको कागज पाउनको लागि होस् त कहिले जहान परिवार पोर्चुगल ल्याउन होस्, चाहे गुजारा गर्न होस् चाहे आउँदा लागेको कर्जा चुकाउन भागदौड गर्दा होस्, कुनै एउटा यस्तो दिन आएन जुन दिन आनन्द र तनावरहित भएर सुत्न पाइयोस्। जहान परिवारसँग एकदिन घुम्न जान पाइयोस्। कुनै दिन युरोपको सानो देशको सानो सहरको एउटा सानो क्याफेमा गएर सपरिवार एक कप कफी पिउने पनि निस्कन सकेन।
कहिले ओलिभ घारी त कहिले गोलभेडाको टनेल, कहिले स्ट्रबेरीको ड्याङ त कहिले सल्लोको रुख, कहिले ऐसेलु घारी त कहिले छुट्टीको दिनमा अतिरिक्त पैसा कमाउन आलु बारी धाउँदा होस्, कुनै दिन पनि उन्मत्त भएर समुद्रको तिरमा गएर बालुवामा निष्फिक्री लडिबुडी खेल्ने अनि सेल्फी खिचेर फेसबुकमा पोस्ट्याउने अनुकूल नै मिलेन।
समय पनि कति चाँडै बितेछ पत्तै भएन। ऊ पोल्यान्ड आउँदा तीस वर्षको थियो, अहिले ३८ वर्षको भएछ। पोर्चुगल आएर पहिलो रेसिडेन्सी कार्ड पाएको पाँच वर्षमा यहाँको स्थायी बसोबास वा नागरिकताको लागि प्रकृया गर्न मिल्दो रहेछ।
उसलाई लागेको थियो स्थायी बसोबासको कागजले काम चल्छ होला, त्यतिमै सीमित रहनु पर्ला। तर पछि थाहा भयो नागरिकता लिएन भने उसको जुन सपना थियो त्यो पूरा हुन निकै गाह्रो रहेछ।
उसको मनभित्र ठूलो ज्वारभाटा पैदा भयो। एक मन लाग्यो आफू जन्मेको माटो, आफ्नो देशको नागरिकता किन छोड्नु? आफ्नै जन्मेको माटोमा पर्यटकको हैसियतमा कसरी जानु? के केही करोड पैसा कमाउन र देखावटी सुखसयलको जिन्दगी जिउन आफ्नो कागजी अस्तित्व नै फेर्नु उचित हो त?
अरु लाखौं मानिसले आफ्नो देश र माटो नछोडिकनै पनि त राम्रै उन्नति प्रगति गरेकै छन् त, स्वदेशमै हाँसीखुसी बाँचेकै छन् त, तिनीहरूलाई देशले के दियो र मलाई चाहिँ के दिएन? भौतिक सुख सुबिधाका लागि, खोक्रो रवाफ र आडम्बर अनि अरुलाई देखाउनकै लागि आफ्नो परिचयनै फेर्न पर्ने हो त? मेरा पूर्खाले सराप्ने हुन् कि देउता पितृ रिसाउने हुन् कि? जन्मेको माटो र आमाबाबुको भारा पो लाग्ने हो कि?
यी अनि यस्तै सयौं प्रश्नले उसलाई लखेटिरहे कयौँ दिन अनि रातसम्म।
कयौँ रात छटपटी र ऐठनमै बिते उसका। अब के गर्ने, कसरी अगाडि बढ्ने त्यो प्रश्नको उत्तर भेटाउन ऊ छटपटिरह्यो।
उसले आफैंले आफैंलाई मनाउन सकिरहेको थिएन। मनभित्र तीव्र अन्तरद्वन्द चलिरहेको थियो। नेपाल छाड्ने बेलासम्म उसलाई थाहा थिएन कि कुनै एक दिन यस्तो पनि आउने छ जुन दिन देशको नागरिकता छोड्नको लागि उसलाई एउटा निर्मम निर्णय गर्न परिस्थितिले इतिहासको एउटा कठघरामा लगेर उभ्याइदिने छ भनेर।
धेरै लामो सोचाइ, आफ्ना पुराना साथीभाइको अनुभव र घरसल्लाह गर्दा तत्काललाई नागरिकता लिनुको विकल्प देखिएन। किनभने आजसम्मको संघर्ष आखिर केका लागि? यो मेहनत, त्यो त्याग र कष्ट, त्यो ऐसेलु घारीमा सुन्दर भविष्यका नाममा बगाएका पसिनाको मूल्य आखिर के त?
भएका दुई जना सन्तान र श्रीमती पनि अब एउटा अर्को व्यवस्थित युरोपिएन जिन्दगीका लागि तम्तयार रहेको अवस्थामा उनीहरूको सपनामा समेत तुसारापात गर्नुको उपयुक्त कारण पनि उसले भेट्न सकिरहेको थिएन।
उसले श्रीमतीसँग पनि सल्लाह गर्यो। आफूहरूले सन्तानहरूका लागि यो सब गरेको र अबका केही वर्ष पछाडि आफ्ना सन्तानहरू अठार वर्ष पुग्ने भएकोले अरु पाँच/सात वर्ष कमसेकम युरोप बस्नै पर्ने कुरा उनले बताइन्।
बच्चाहरू अठार वर्ष पुगेपछि आफूहरू उनीहरूलाई यतै स्थापित गराएर स्वदेश फिर्न सक्ने कुरा पनि सुझाइन्। उनले विदेशी नागरिकता लिए पनि श्रीमतीले नलिने सल्लाह पनि भयो।
यदि भविष्यमा कुनै दिन पुनः स्वदेश फिर्न मन लागेमा, देशको सेवा गर्ने मन भएमा सम्पूर्ण कानुनी प्रकृया पूरा गरेको खण्डमा पुनः नेपाली हुन पनि पाइँदो रहेछ त। लामो द्विविधा र अन्योलतापछि अन्तत ऊ भोलि बिहानै नागरिकता लिने प्रोसेस सुरु गर्न नजिकै रहेको सम्बन्धित सरकारी कार्यालय जाने निर्णयमा पुग्दछ।
उसको युरोपियन नागरिकता छिट्टै बनोस् हाम्रो पनि शुभकामना!