बेहुली सोह्र शृङ्गारले सजिएकी छन्। आँगन आगन्तुकहरूको उपस्थितले रङ्गिन भएको छ। सहेलीहरू उत्ताउला कुरा गरेर बेलाबेला बेहुलीको हुर्मत लिँदैछन्।
प्रकाश दाजुलाई बिहेको चाँजोपाँजो मिलाउँदैमा फुर्सद छैन। घरी भान्सेलाई झपार्छन् त घरी कत्ति मात्तिएका भन्दै केटाकेटीका हुललाई थर्काउँछन्। नानीदेवी भाउजू बिहानै भित्र पसेकिन्, जन्ती आउने बेला भैसक्यो अझै झरेकी छैनन्।
प्रकाश दाजुले ठूलै डाकोसहित भाउजूलाई बोलाए। भाउजू पनि अत्तालिँदै राता-राता आँखा लुकाउँदै आँगनमा झरिन्।
'बिहेको दिन पनि के भित्र गएर बसेकी? म एक्लै कहाँ-कहाँ चाँजोपाँजो मिलाउनु?’ भन्दै प्रकाश दाजु झर्किन थाले।
भाउजू भने अपराधीले झैं घोसेमुन्टो लगाएर सुनिरहिन्।
'कस्तोसँग बिहे गरेछु नि! जा कृष्ण भाइकोमा बाबर बनाउन दिएको छ, लिएर आइज’ भन्दै मन्डप भएतिर लागे।
म चाहिँ त्यहीँ माथिल्ला घरे कृष्ण भाइ। आँगनमा मेरो उपस्थितिको कुनै अर्थ त थिएन तर निर्रथक पनि थिएन।
'बाबु हिँड्नुस् त जाउँ, बाबर लिएर आउँ’ भन्दै भाउजू अघि लागिन्।
बाबर आँगनमा पाक्दै थियो। रसिकला सुक्कसुक्क गरी बाबर पल्टाउँदै थिइन्। रसिकला चाहिँ कृष्णकी अर्धाङ्गिनी। सजिलो भाषामा भन्दा मेरी जहान।
'अनि किन रुँदैरुँदै बाबर पकाउँदै हो र?’ मैले ठट्टाको तार छेडिहालेँ।
'यसो हात बटाउनु त कहाँ हो कहाँ उल्टै हुर्मत पो लिनु छ त! धेरै ठट्टा नगर, अहिले अगुल्टाले भेटौला नि फेरि!’ रसिकलाको मुफट जवाफ।
नानीदेवी भाउजू पनि अँगेनाछेउ बसेर रसिकलाका हात बटाउन थालिन्। रसिकलाको कुममा कुम जुधाउँदै बसेर संवादको तार छेडिहालेँ, 'आँखा त राता-राता छन् त, किन नि भाउजू?’
'छोरीको बिहेका आमाका आँखा राता नभएर कसका आँखा राता हुन्छन् त बाबु?’
'आँखा राता त बेहुलाका हुनपर्ने हो नि भाउजू! हाम्री जिद्धी सतिदेवीलाई कसरी सम्हाल्ने होलान् ज्वाइँसाबले!’
'हजुरहरूलाई त हामी केटीमान्छे बोझ नै लाग्छ है बाबु?’
'मैले त्यसो कहाँ भनेको हुँ र भाउजू! हजुरले व्यर्थमा धेरै सोच्नुभयो।’
'तिमी आफै भन त रसिकला, यी लोग्नेमान्छेले आइमाई मान्छेका कुरा कहिल्यै मान्छन् त?’
'खै दिदी! बिहे गरेको नि पन्ध्र वर्ष भयो। जेठी छोरी बाह्र वर्षकी भई, आजसम्म त भनेको मानेकै छन् क्यारे तपाईंका कृष्णेले। भोलि के गर्ने हुन् आफै जानून्।’
'हैन भाउजू पनि कस्ता कुरा गर्ने हो र! जहानले भनेका कुरा नमाने कसका कुरा मान्ने हो र?’
'खै बाबु, हजुर यस्तो भन्नुहुन्छ। हजुरका प्रकाश दाजु मेरा कुरा फुटेका कानले पनि सुन्न चाहानु हुँदैन। तँ नपढेकीलाई के नै थाहा छ र? मैले संसार देखेको छु, दुनियाँदारी भोगेको छु। के सही हो के हैन मलाई पो थाहा हुन्छ त,’ आँखामा बाक्लिदै गरेका आँसु नजानिँदो पाराले पुछ्दै भन्न थालिन्-
'सतिदेवी र सानिदेवी जन्मेपछि भयो अब बन्ध्याकरण गरौँ भनेँ, हैन एउटा छोरो त चहिन्छ भनेर मेरो निर्णयलाई ठाडै अस्वीकार गरे। बल्लतल्ल चालिसपछि कान्छो जन्मियो, उसलाई जन्माउँदा आफै झन्डै मरिनँ। लौन घरधन्दा गरेर पनि प्रशस्त समय बाँकी रह्यो सानोतिनो चिया पसल चलाउ भनेँ। कस्ता आइमाईले चिया पसल चलाउँछन् तँलाई थाहा छैन भनेर हुर्मत लिए।
गाउँमा दु:ख धेरै गरियो खासै उभो लागेन बरु बेसीतिरै झरौं केही भैहाल्थ्यो कि भनेँ, गाउँमा केही लछारपाटो लगाउन नसकेकी तैँले बेसीमा चाहिँ लछारपाटो लगाउलिस् भनेर साह्रै झपारे। हामी आइमाई मान्छे त लोग्ने मान्छेका कठपुतली रहेछौं, जे गर भन्यो त्यही गर्नुपर्ने। आधुनिक जमाना हो, आजकालका केटाकेटी जान्नेबुझ्ने छन् लौ न छोरीलाई त आफैले रोजेको केटासँग बिहे गराइदिउँ भनेको, तिमी आमाछोरी मिलेर के गुल खेलाउँदैछौ भनेर विचरा सतिदेवीको पढाइ नै रोक्काइदिए।
लु हेर्नू त बाबु, मेरी छोरी कहाँ भर्खर एक्काइस वर्षकी केटी, त्यो कहाँ पैतिस वर्षको बूढो। यस्तो नि जोडी हुन्छ! श्रीसम्पत्ति टन्नै छ, राम्रै नोकरी गर्छ, हाम्री छोरीलाई रानी बनाएर राख्छन् ज्वाइँसाबले बनेर छोरीको इच्छालाई लत्याइदिए। विचरी छोरीका पनि त केही इच्छा हुँदाहुन्।’
'प्रकाश दाजु त्यस्तो त लाग्दैन थियो त दिदी?’
'तिम्रा कृष्ण मात्र अपवाद रहेछन् रसिकला! यो गाउँभरि म त प्रकाश मात्र देख्छु। मेरो बुबा पनि प्रकाश नै रहेछन्। सानैमा मेरो बिहे गराइदिएर आफ्नो बोझ हल्का गरे। आज सतिदेवीले पनि आफ्नो सुन्दरता बेचेर सिन्दुर किन्दैछे। विचरा त्यसलाई के थाहा, त्यो सिन्दुरले न उसलाई खुसी दिनेछ न त उसको दु:ख नै मेटाउने छ। उसले पनि मैलेजस्तै लोग्नेमान्छेको कठपुतली भएर जीवनभर नाच्नु पर्नेछ। आफ्ना इच्छा, आकांक्षा र महत्त्वकांक्षालाई अग्निमा जलाएर जीवनभर लोग्नेमान्छेको दास हुनुपर्नेछ। यही सोचेर आज बिहानभर मेरा आँखाबाट आँसु रोकिएनन् रसिकला!’
'भैगो दिदी व्यर्थमा चिन्ता नलिनू, ज्वाइँसाब त पढेलेखेका छन्। नोकरी गर्छन्। अलि केही त बुझेका होलान् नि!’
'खोइ बैनी! के पढेका, के नपढेका। हामी नारीको अस्तित्वलाई कुल्चने समाजले नारीवादी परुष कसरी जन्मायो होला र?’
'कृष्ण पनि यही समाजकै पुरुष न हुन् दिदी! समाज मात्र भनेर नहुँदो रछ। खै बिहेको यत्तिका वर्ष भयो, आजसम्म एक वचन पनि लागाएका छैनन्। बरु अफिसबाट घर ढिलो आउँदा मैले नै केही भनिहाले हुँला!’
'हैन भाउजू, सबै पुरुष उस्तै कहाँ हुन्छन् र! बरु ज्वाइँसाब के-कस्ता छन् सबै कुरा बुझेर निर्णय गरेको भए हुने। अब त ढिला भैसक्यो। बाबर नि बनाएर सक्कियो, अब जाउँ होला। जन्ती पनि आए होलान्।’