यो
रुमालको पोकोभित्र
एउटा उपहार छ
तिमीलाई
यो उपहार दिँदैछु
रुमालको पोकोभित्र
के छ उपहार?
तिमीले छियाछिया पारेको
त्यही मेरो मुटु छ।
जुन मुटु
वर्षौंदेखि तिम्रो नाममा
धड्किरहेको थियो
मेरो छातीभित्र
गाइरहेको थियो
तिम्रो गीत
लेखिरहेको थियो
तिम्रो कविता।
रुमालको पोको खोलेर
हेर्नू नियालेर मुटुमा
देख्नेछौ
तिम्रो दिलमा
तिमीले कोर्न नदिएको प्रेमिल शब्दहरू
तिमीले कहिल्यै बुझ्न नचाहेको
भावनाहरू
मैले कयौं पटक पोख्दा पनि
तिमीले महसुस गर्न नसकेको बेदनाहरू
सबै-सबै
यही मुटुमा संगालेर
तिमीलाई जिम्मा दिएको छु
उपहार स्वरुप
मेरो मुटु।
तिमीलाइ प्रेम गरेर
म थाके पनि
थाकेन कहिल्यै मेरो मुटु
छोडेन कहिल्यै धड्किन
तिम्रो नाममा
तिमीले छियाछिया पारे पनि
नत्र
कान थापेर सुन्नू
अझै पनि तिम्रो नाम लिँदै
धड्किरहेको छ
धड्किरहेको छ
धड्किरहेको छ।