‘आफ्नो कोठा देखाउनुहुन्न ?’ एकदिन उनले सोधिन्।
‘आजै जान्छौ त ?’ मैले भनें। यत्ति हतार नगरेको भए पनि हुने। उनी झोला काँधमा झुन्डाएर बाइकको पछाडि बस्न तयार भइन्। जिस्केकी होलिन् भन्ठानेको थिएँ पहिले त। तर खुट्टा फाटेर कम्मरमा दुवै हातले समाउँदा भने विश्वास नगरी सुखै भएन।
दाइने खुट्टाले दुई किक् ठोकेपछि इन्जिन स्टार्ट भयो। मैले हुप्राचौरको पश्चिमतिरको बाटो हुँदै बाइक डेरातिर सोझ्याएँ।
अलिक अगाडि बढिसकेपछि थाहा भयो कि मैले ल्यापटपको ब्याग पछाडि बोकिराखेको रहेछु। तत्कालै छेउमा बाइक रोकें र झोला अगाडिपट्टी भिरें।
‘झोला किन अगाडि भिर्नुभएको, अप्ठ्यारो हुँदैन?’ उसले सोधिन्। मलाई भने उनको सोधाइले जिस्काएझैं लाग्यो।
‘तिमीलाई अप्ठ्यारो भयो कि भनेर?’ मैले स्वाभाविक तरिकाले भनें।
‘होला खुबै’, उनले हाँस्दै भनिन्। मेरो नियत त ठिकै थियो। तर उनको नियत भने बुझ्न सकिनँ।
हेल्मेटको भाइजर तल झारें। केटीलाई बाइकमा राखेको पहिलो पल्ट थियो। अलि अलि लाज पनि लागेको थियो। त्यैमाथि सर भनेपछि धेरैले आँखा तानेर हेर्थे।
उनी मेरो विद्यार्थी थिइन् ट्युसन क्लासको, बिए दोस्रो वर्षमा। सबै निस्केपछि पनि केही न केही प्रश्न सोधेर ढिलोसम्म बस्थिन्। गोरी गोरी, लामो अनुहार, छोटो कपाल प्राय: खुला छोड्ने र जतिबेला पनि मुस्कुराइरहने उनी पढाइमा भने अलि कमजोर थिइन्। हरियो कुर्ता निकै सुहाउथ्यो उनलाई।
एकदिन उनलाई भनेको थिएँ, ‘तिमीलाई यो कुर्ता निकै सुहाएको छ। केटाहरूको आँखाले दु:ख पाउने भयो।’
‘होला खुबै’ , भन्दै मुसुक्क हाँसेकी थिइन्।
त्यो मुस्कान मेरो मानसपटलमा निकै दिनसम्म टाँसिएको थियो। त्यसपछि प्राय: त्यही कुर्ता लागाउँथिन् ट्युसन पढ्न आउँदा।
आज पनि उनले त्यही कुर्ता लगाएकी थिइन्।
पढाउने बेला अरू विद्यार्थिहरू नोट लेख्नलाई हतार हतार गर्थे भने उनी मेरो आँखामा हेरेर कतै हराइरहेकी हुन्थिन्। यस्तै यस्तै सोचमा हराइरहेको थाहै पाइनँ। देब्रे खुट्टो एक्कासि ब्रेकमा ठोक्कियो। बाटोमा खाल्टो रहेछ नजिकै पुगेपछि मात्र देखें। तर्काउने उपाय भएन। उनको शरीरको सम्पूर्ण भाग मेरो ढाडमा आएर नरमसँग ठोक्कियो।
‘कति भारी हो तिमी त ?’ जिस्किने ढंग त थिएन। कताबाट फुत्त निस्कियो।
‘होला खुबै’, भन्दै उनले टाँसिएको शरीर अलग्याइन्।
‘जिस्काएको हो। त्यसरी आत्तिनु पर्दैन। पछाडि गयौ भने बाइक नै उत्तानो पर्ला’ , मैले फेरि जिस्काएँ।
‘होला खुबै’, भन्दै ढाडमा मुड्कीले टुच्च परिन्, र अगाडि सरिन्। मन आनन्दित भयो।
कति छिट्टै डेरामा पुगिएछ पत्तै भएन।
गेटबाट भित्र छिर्दा आँखा बार्दलीमा पुगे। घरबेटी आमाले नानीलाई निकै आँखा गाडेरै पो हेर्दै रैछिन। बाइक रोकेर सरासर भित्र पसें। मेरो कोठा भुइँतलामै थियो। बिहान हतार भएकोले सुतेको बिस्तारा समेत मिलाएको थिएन। कोठामा बस्नको लागि कुनै कुर्ची या सोफा केही थिएनन्। कोठा अँध्यारो भएकोले अगाडि पट्टिको झ्यालको पर्दा खोलें।
सिरक माथि तान्दै उनलाई खाटमा बस्न अनुरोध गरें। उनी झोला भुइँमा राखेर एउटा छेउमा टुसुक्क बसिन्। मैले तानतुन गरेर बेड मिलाएँ।
‘खाना पकाउनुहुन्न ?’ उनले सोधिन्। सायद त्यहाँ स्टोभ तथा किचनको कुनै सामग्री नदेखेर होला।
‘किन, भोक लाग्यो ?’ मैले सोधें।
‘छैन। तपाईंले कहाँ खानुहुन्छ त ?’
‘भोकै बस्छु’, मैले भनें।
‘होला खुबै’ भन्दै भित्तामा झुन्डिएको फोटोमा आँखा पुर्याइन्। तपोवनबाट ओशो किनेर ल्याएको थिएँ केही वर्ष पहिले। त्यही फोटो थियो सेतै फुलेको लामो दाह्री, र हिरा जडित टोपी लगाएको।
‘चिन्छौ?’
‘चिन्दिनँ।’
‘मेरो हजुर बा’ मैले भनें।
‘होला खुबै, अनुहार नै मिल्दैन।’
‘ठिकै भन्यौं। ओशोको फोटो हो। सायद तिमीले चिन्दिनौ होला।’
उनले टाउको हल्लाइन्।
के भन्नु , के गर्नु अलमलमा पो परें। पढाइका कुरा के गर्नु, जति गर्नु पढाउने बेलै गरिन्छ। परिवारको बारेमा कुरा गर्नु, कोही चिनेकै छैन। प्रेमका कुरा गर्नु, आफ्नै विद्यार्थीसँग कसरी कुरा निकाल्नु। उमेरले त कुरो मिल्ने नै हो तर भन्न निकै अप्ठ्यारो हुँदो रहेछ।
‘अलि सजिलोसँग बस। कति खस्ला झैं छेऊमै बसेकी’, मैले भनें।
उनी अलिकति माथिपट्टि सरिन्। उनका आँखा घरिघरि झ्यालबाट बाहिरतिर हेरिरहेका हुन्थे।
‘कोठा हेर्न आएकी मान्छे, किन बाहिर बाहिर हेरेकी’, मैले सोधें।
‘के छ र कोठामा हेर्नलाई ?’ उनी मुसुक्क हाँस्दै भनिन्।
‘म छु त। अरू के चाहियो ?’
‘तपाईं त कस्तो सोझो देखिनुहुन्छ। यस्तो कुरा गर्नुहुन्छ जस्तै लागेको थिएन। छुप्पारूस्तम’, उनले भनिन्।
‘होला खुबै’, मैले जिस्किने पाराले भनें।
त्यसपछि दुवै जना मज्जाले हाँस्यौं। यसो झ्यालबाट बाहिर हेरेको त घरबेटी आमा घरि-घरि झ्यालबाट भित्र चिहाउँदै फूलबारीको झार उखेल्दै रैछन्।
‘मेरो घरबेटीले तिमीलाई निकै हेरेकी छन्। चिन्छिन् कि कसो?’ मैले सोधें।
‘होला खुबै। मैले देखेकी त छैन’, उनले भनिन्।
केहीबेर कोठामा पुन: शून्यता छायो। धेरैबेर कोठामा राख्यो भने शंका उपशंका होला भनेर उनलाई रेस्टुरेन्टमा जाऊँ भनेर प्रस्ताव राखें। उनले टाउको हल्लाएर स्वीकृति दिइन्। फरेस्ट्री क्याम्पसको गेट अगाडि एउटा म:म होटल थियो। नजिकै पर्थ्यो। त्यही गयौं।
उनी भेजिटेरियन रैछिन्। त्यहाँ चिकेन र बफ म:मबाहेक अरू केही रहेनछ। पारिपट्टि मिठाइ पसल थियो। त्यहाँ केही मिठाइहरू किनेर फरेस्ट्रीको जंगलतिर गयौं। फाट्टफुट्टा रूखमुनि पढ्न बसेका केटाकेटीहरूबाहेक अरू कोही थिएनन् जंगलमा।
चराचुरूंगीहरूको चिरविर आवाजले मनै रोमान्चित बनाइदियो। बाटो छेउछाउका रूखहरूको पात टिप्दै र फाल्दै राप्ति खोलाको किनारसम्म पुग्यौं।
यसरी हिँड्दै गर्दा म सोचिरहेको हुन्थें कि हाम्रो उद्देश्य के हो? न हामी एकअर्कालाई प्रेम गर्छौं। न साथीहरू नै हौ। उनी पनि मेरोपछि लुरू लुरू हँ मा हँ मिलाउँदै आइरहेकी थिइन्। घरिघरि उनको काँधमाथि हात अड्याएर हिडौं झैं लाग्थ्यो। दाइने र देब्रे हत्केला जोडेर पिङ हल्लाएझैं हल्लाएर हिँड्न मन लाग्थ्यो। यी सबै कल्पना मै सीमित रहे।
राप्तीको डिलमा ठूलो सालको रूख थियो। त्यसैको फेदीमा बस्यौं। हातमा मिठाइको पोको थियो। खोलें र एउटा बर्फी उनलाई आँ गर्न लगाएर मुखभित्र राखिदिएँ।
त्यसपछि उनले पनि एउटा मिठाइ हातमा लिइन्। खुवाउन भनेर हात उठाउँदै थिइन् हातमा माकुरो देखेपछि बेस्सरी चिच्याउँदै हात झड्कारिन्। हातको मिठाइ भुइँमा खस्यो।
‘जाबो माकुरोसँग डराउने तिमी, बाघ देख्यौ भने के गर्छौ? यहाँ त बाघ बस्छ रे ?’ मैले भनें।
‘होला खुबै’, भन्दै उनी मेरो नजिकै आएर उभिइन्।
‘डराउन पर्दैन। जिस्काएको मात्र हो’, भन्दै बिस्तारै हातले उनको कपाल सुम्सुम्याएँ।
‘डर लाग्यो। जाऊँ भो ?’, उनले भनिन्।
‘एकैछिन त बसौं। ढाँटेको हो। छैन बाघसाग यहाँ।’
‘म त बस्दिनँ यस्तो डर लाग्ने ठाउँमा’, भन्दै उनी आएको बाटैतर्फ फर्किइन्। लुरूलुरू पछि लाग्ने पालो आयो मेरो।
उनको घर हेटौंडा बजारभन्दा बाहिर आधा घण्टाको दूरीमा पर्थ्यो। गाउँको नाम अहिले ठ्याक्कै आएन। बस चढेर जान्थिन्। बसपार्कसम्म छोड्न गएँ।
त्यो रातभर मनमा अनेक तानाबुना आइरहे। जवान थिएँ। बिहे गर्ने उमेर भएको थियो। उनी पनि मैले चाहेजस्तै सरल र राम्री थिइन्। सुत्ने बेला जे सोच्यो रातभर सपनामा पनि त्यही कुरा दोहोरिँदो रहेछ। हामी कहिले पशुपतिको मन्दिर वरिपरि डुलिरहेका हुन्थ्यौं त कहिले शहिद स्मारक पार्कको भ्यु टावरमा उभिएर सेल्फी खिचिरहेका हुन्थ्यौं। यसै गर्दागर्दै उज्यालो भयो। झोला बोकेर कलेजतिर निस्किएँ।
कलेजको कम्पाउण्डमा देवराज र कृष्ण सर अगाडि नै पुगेर गफ गर्दै रहेछन्।
मलाई हेरेर दुवै जना मुसुमुसु हाँसे। उनीहरू किन हाँसे हाँस्नलाई तर मलाई भने आफैंलाई जिस्काए झैं लाग्यो। बिहानको सबै पिरियड पढाइसकेपछि, दिउँसो म ट्युसन पढाउन निस्कें। अलि चाँडै पुगेछु। विद्यार्थीहरू भने कोही पनि पुगेका रहेनछन्। एकैछिन कुरेपछि सबै जना आए तर उनी आइनन्। मेरा आँखा भने बाटोतिर एकतमासले उनैको आगमनलाई पर्खिरहेको थियो।
‘सर पढाउन आउनुहुन्न ?’, सृजनाले भनिन्।
‘सबै जना आएपछि सुरू गरौंला’, मैले भनें।
‘सबै आइसके। कस्लाई खोज्नुभएको ? रूबिनालाई ?’ अनिलले हाँस्दै भन्यो।
म मार्कर समातेर कक्षामा छिरें।
उनलाई नदेखेपछि पढाउन पनि जाँगर लागेन। धेरै बेरसम्म ढोकातिर आँखा गैरह्यो।
पढाइ सकेर बाहिर निस्कें। निस्कनासाथ टेक्स्ट गरे ‘किन आइनौ आज?’
धेरैबेरसम्म फोन हेरिरहे जवाफ आउँछ कि भनेर। तर आएन। त्यसपछि फोन गरें। फोन पनि उठेन। ट्युसन सेन्टरबाट घर पुग्ने दश मिनेटको बाटोमा पनि दशैं पल्ट बाइक रोकेर मोबाइलको स्क्रिन हेरें कतै रेस्पोन्स आयो कि भनेर। तर शून्य।
अर्कोदिन ट्युसन संचालक भाइले भने, ‘सर, रूबिना नआउने रे पढ्नलाई।’
‘होला खुबै’ भनें मनमनै। मन भरङ्ग भयो। राप्तीको किनारमा मिठाइ खुवाउँदा तर्साउने माकुरोलाई सम्झेँ। खुट्टाले किचेर धुलोसँग मिलाइदिन मन लाग्यो।
सरासर डेरामा गएँ। मनमा खुल्दुली चलिरह्यो। मैले केही त भन्नुपर्ने थियो कि उनलाई हिजोजस्तै, ‘तिमीलाई म मन पराउँछु। प्रेम गर्छु। तिमीसँग जीवन बिताउन चाहन्छु।’
खाना खान निस्कन समेत जाँगर चलेन। भोकै पल्टिएँ ओछ्यानमा।
‘बिहे गर्नुहुन्न’, उनले सोधिन्।
‘कसलाई ?’
‘आफ्नी गर्लफ्रेन्डलाई ?’
‘तिमी त हौ मेरो गर्लफ्रेन्ड। गर्ने भए गरौं’, मैले भनें।
‘होला खुबै। आफ्नो विद्यार्थीलाई पनि कसैले बिहे गर्छ’, उनले भनिन्।
‘कस्ले भन्यो हुँदैन भनेर। अनि तिमीले त ट्युसन पढ्न पनि त छोडिसक्यौ। अब कसरी मेरो विद्यार्थी ?’
‘पाप लाग्ला’ भन्दै उनी त्यहाँबाट एक्कासि हराइन्।
सपना पो रहेछ। रातिको बाह्र बजेर पन्ध्र मिनेट गएको थियो। शरीर पसिनाले निथ्रुक्क भिजेको थियो। फोन हेरें। उनको टेक्स्ट मेसेज आएको रैछ।
‘आई एम सरी, सर। हिजो दिनभरि मेरो फोन अफ थियो। रिप्लाइ गर्न पाइनँ।’
‘ट्युसन किन छोडेकी?’, मैले तत्कालै सोधें।
‘आइएलटिएस पढ्न चितवन जान लागेकी। दादा, अस्ट्रेलिया हुनुहुन्छ। अप्लाई गर भन्नुभयो’, उनले लेखिन्।
‘तिमी नभएपछि त मलाई ट्युसन पढाउन जानै मन लागेन’, मैले लेखें।
‘होला खुबै’, भन्दै स्माइलको इमोजी पनि सँगै पठाइन्।
सँगसँगै गुड नाइट र हार्टको इमोजी पनि। यत्ति हतार नगरेको भए पनि हुने तर रात पनि त छिप्पिँदै गैरहेको थियो। मैले पनि गुड नाइटसँगै हार्टको इमोजीसँगै पठाइदिएँ।
रातभर निन्द्रा लागेन। तन्द्रामै बित्यो सारा रात।
अर्कोदिन ट्युसन पढाउन जान जाँगर चलेन। अस्तिसम्म को हो को हो, आज माया मोहो भनेझैं मन उनलाई भेट्नको लागि छटपटाइ रहेको थियो।
कलेजबाट सिधै पारिजात मार्गको एउटा रेस्टुरेन्टभित्र छिरें। खाना अर्डर गरेर उनलाई फोन गरें। फोन उठेन। एकछिन पछि पुन: फोन गरें। अरू कसैको आवाजमा फोन उठ्यो। महिलाकै आवाज थियो, तर स्वर फरक। सायद उनको आमा होलिन्। मैले फोन काटें।
कलेज पढ्दासम्म धेरैले मन पराए होलान्। कति जनालाई आफूले मन पराइयो होला। कतिलाई मन पराइयो, बोल्ने आँट भएन। कसैले राम्रै संकेत दिँदा समेत वास्ता गरिएन। प्रेम जानेर गरिने कुरा होइन रहेछ। अस्तिसम्म हाम्रो नाता शिक्षक र विद्यार्थीको थियो। मन र मस्तिष्कको विरोधाभाष सम्बन्धको बीचबाट एउटा सुन्दर प्रेमको अंकुरण भैसकेको रहेछ। थाहै थिएन। बसन्त ऋतुको ट्युलिप फूलझैं कति छिट्टै फुलिसकेछ हाम्रो प्रेम।
अर्को दिन उनको फोन आयो। मैले उनलाई एकपल्ट मकवानपुरगढी घुम्न जाने प्रस्ताव राखें। उनले हुन्छ भनिन्। त्यसैदिन हामी मोटरसाइकलमै मकवानपुरगढी गयौं। बाटो भर्खर भर्खर खनेको र ट्रयाक्टरको टायरले खाल्डाखुल्डी पारेकोले अप्ठ्यारो थियो। उनले सुरेली खेल्दा दुबै हातले रूख समातेझैं मेरो कम्मरलाई च्याप्प समातिन्।
कहिले खुट्टाले भित्तामा टेक्दै त कहिले देब्रे खुट्टो लतार्दै बल्ल बल्ल मकवानपुरगढी पुग्यौं। तल बाटोमा बाइक रोकेर हामी माथि पहाडको टुप्पोमा भग्नावशेषरूपमा रहेको दरबारमा गयौं।
‘तिमीलाई मैले यहाँ किन ल्याएको थाहा छ ?’, ढुंगाको पर्खालमा बसेर मैले उनलाई सोधें।
‘मलाई के था ?’, उनले पर्खालमा पलाएको घाँस उखेल्दै भनिन्।
‘इन्द्रकुमारी देवीलाई पृथ्वीनारायण शाहले पहिलो प्रेम प्रस्ताव राखेको ठाउँ देखाउन?’
‘होला खुबै’, उनी मुसुक्क हाँस्दै भनिन्।
‘पृथ्वीनारायण शाहलाई त्यो प्रेम प्रस्ताव निकै फलिफाफ भएको थियो। त्यसैले हेर यत्तिका धेरै जोडीहरू त्यही प्रेम प्रस्ताव राख्न यहाँ आउँछन्।’
‘होला खुबै’ भन्दै उनले मेरो ढाडमा एक मुक्का हानिन्।
म एकैछिन चुप लागें।
‘तपाईं चाहिँ त्यही कथा सुनाउन आउनुभएको ?’
‘होला खुबै। म पनि तिमीलाई ‘आई लभ यू भन्न यहाँ आएको’, मैले हाँस्दै भनें।
उनी अर्कोतिर फर्केर धेरै बेरसम्म मौन बसिन्।
‘किन, तिमी मलाइ प्रेम गर्दिनौ ?’ मैले उनलाई आफूतिर फर्काउँदै सोधें।
उनको आँखामा आँसु टम्म भरिएको थियो। पर्खालबाट तल ओर्लिएर उनलाई अंगालोमा कसें।
त्यसपछि दरबारको चारैतिर घुमेर हामी घर फर्कियौं।
‘मौनम् स्वीकृति लक्षणम’ भने झैं उनले मेरो प्रेमलाई स्वीकारिन् होला भन्ने लाग्यो। उनलाई बसपार्कसम्म पुर्याएर म घर फर्कें।
भोलिपल्ट बेलुका उनको फोन आयो, ‘सर हजुरको गोत्र के रे?’
‘किन खोज्यौ गोत्र, बिहेको लगन हेर्न खोज्यौ कि कसो’, मैले जिस्काउने पाराले भनें।
‘होला खुबै। गोत्र टेक्स्ट गर्दिनुस् है। बाइ’ भन्दै फोन काटिहालिन्।
'मैले आफ्नो गोत्र लेखेर ' उतिबेलै पठाएँ।
मलाई भने कतिबेला उनलाई भेटौं, ठट्टा मजाक गरौं भैरह्यो। उनको हाँसो, ‘होला खुबै’ भनिरहनी। कतै बेलै पनि नरिसाउने त्यो अनुहार झल्झली आइरह्यो।
कतिबेला उनले फोन गर्लिन् भनेर धेरैबेरसम्म कुरें। सायद उनले हाम्रो प्रेमको बारेमा आफ्नो बाबा आमालाई भनिहोलिन्। त्यसैले त होला उनले गोत्र सोधेको। गोत्रको बारेमा मलाई राम्रो जानकारी त थिएन। तर गोत्रभित्र बिहे गर्न हुँदैन भन्ने परम्परागत चलन गाउँघरमा अझै ज्यूँकात्यूँ थियो। कतै गोत्र जुध्यो कि ? यस्तै यस्तै खुल्दुली चलिरह्यो मनमा।
बेलुका घरबाट बुवाको फोन आयो।
‘कहिले आउछस् घर। अब त ब्या स्या पनि गर्ने होला। तेरा दमालीहरूले छोराछोरी हुर्काइसके।’
'खोज्नुस् न त बुहारी, आइहाल्छु नि’, मैले भनें।
‘यतातिर पढे/लेखेका केटीहरू छैनन। उतैबाट ल्याएर आइज। आफ्नो जात र गोत्र चाहिँ ख्याल गरेस्।’
एक्कासि यो गोत्रको कुराले मेरो मन चसक्क भयो।
हुन त मलाई उनको गोत्र के हो थाहा पनि थिएन। तर किनकिन दिमागमा टिङ टिङ घन्टी बजिरह्यो।
अर्को दिनसम्म उनले न फोन गरिन, न मेसेज नै। मेरो भने मन आत्तिरह्यो।
मैले पनि कैयौं पल्ट फोन गरें। उनले फोन उठाइनन्। तीन चार पल्टसम्म मेसेज गरें। कुनै रिप्लाइ नै आएन। कलेज जान समेत मनले मानेन। एक हप्ताको लागि ट्युसनबाट पनि छुट्टी लिएँ।
मन एक तमासको भैरह्यो। कहिलेकाहीँ आफ्नो स्थिति देखेर आफैंलाई दया लाग्थ्यो। यत्ति छिट्टै उनी मेरो मन मुटुभित्र पसिसकेकी रहिछन्। यसरी बेखबर होलिन् भन्ने कुराको मैले कल्पना समेत गर्न सकेको थिइन्। दिनदिनै दाह्री जुंगा काटेर चिटिक्क परेर हिँड्ने, मुख समेत धुन जाँगर नचल्ने अवस्थामा पुगेको थिएँ।
‘मनको बह कसैलाई नकह’ भनेझैं आफ्नो पिर आफैंभित्र लुकाएर पुन: कलेज जान आउन थालें। यसरी उनी एक्कासि मेरो जीवनबाट गुमनाम भइन् कि हाम्रो प्रेम एक चट्याङझैं एकैछिनमा बिलाएर गयो। मेरो छातीभित्र भ्वाङ्ग पारेर गयो।
‘के हो सोल्टी, तिमी त देवदास झैं देखियौ त। झ्याप्प दाह्री, जिङ्ग्रिङ्ग कपाल, के हो पारा ? तिम्रो पारूले धोका दि कि कसो ?’, करिब एकमहिना पछि एकदिन बिहानै कृष्णले ठट्टा गर्दै सोधे।
‘तिम्रो जस्तो गोपिनीहरू खेलाएर हिँड्ने बानी छैन। मजस्तो सोझोलाई केटीहरूले नै खेलाउँदा रैछन्’,मैले भनें।
‘भो भो धेरै गफ नदेऊ। जाऊँ बरू माथि डाँडातिर घुम्नलाई’, उनले भने।
कतै एकान्त जंगलमा गएर दिनभर हराउने मन थियो मेरो पनि।
उनको प्रस्तावलाई नकार्ने कुरै थिएन। दुवै जना मनकामना मन्दिर जाने योजना बनायौं।
दिउँसो करिब बाह्र बजे हामी मकवानपुर डाँडामा अवस्थित मनकामना मन्दिर पुग्यौं।
मन्दिर परिसरमा सदाभन्दा अलि धेरै मान्छेहरू थिए। टाढाबाटै मनकामना देवीको दर्शन गरेर फर्किनै लागेका थियौ, एक जोडी नवदम्पतीमाथि मेरो आँखा अडियो।
उनीहरू मान्दिर परिसर घुम्दै थिए। सिन्दुरले रंगिएको सिउँदो, चौडा निधार परिचित झैं लाग्यो। जब उनका एक जोडी नयन मेरा आँखामातिर झैं ठोक्किए, खुट्टा थरथर काँपे। शरीरबाट चिटचिट पसिना आयो। म फरक्क फर्केर ओरालोमुख लत्रिँदै जंगलतिर छिरें। एउटा ठूलो रूखको फेदमुनि बसें। एकछिनपछि कृष्ण पनि त्यहीँ आइपुगे।
‘के भयो एक्कासि ? किन भागेको ?’, उनले मेरो छेउमा बस्दै भने।
‘केही हैन’, मैले भनें।
‘केही त पक्कै भयो। मन्दिरको जोडी देख्नासाथ तिम्रो अनुहारमा ग्रहण लागेको थियो। त्यत्ति जाबो कुरा भन्दैनौ भने भुत्राको साथी भन्छौ मलाई।’
‘हिँड कोठामा जाऊँ। त्यही गएर सबै कुरा भनौंला’, भन्दै म त्यहाँबाट उठें।
त्यहीबेला सालको रूखको हाँगाबाट कालो माकुरो झुन्डिएर तलतिर झर्दै रहेछ। एकछिन उभिएर हेरिरहे। रेशमी धागोमा टक्क अडिएर ऊ केही बोलिरहेको थियो। केही भनिरहेको थियो।
अहिले भने ऊप्रति मलाई रिस उठेन। बरू उसको भाषा समयमै बुझ्न नसकेकोमा गहिरो पछुतो लाग्यो।