कविता
मेरी राजकुमारी,
तिम्रा कलिला औंलाहरूको स्पर्श
मैले मेरो स्मृतिमा जीवितै राखेको छु।
तिम्रो तोते बोली
मेरो कानले सम्झिरहन्छ।
र, तिम्रा निर्दोष प्रश्नहरू सम्झेर मेरो मन
एकान्तमा रोमान्चित भइरहन्छ, खित्खिताई रहन्छ।
बाबा,
चन्दा मामा (चन्द्रमा) सधैं किन घर बाहिर सुत्छ?
के चन्दा मामालाई सधैं गर्मी हुन्छ हो?
आकाशमा पंखा कसरी राख्ने?
नहेरी लेख्ने भनेको आँखा चिम्लेर लेख्ने हो?
कि उता फर्केर लेख्ने हो?
बाबा मामुको बिहेमा मलाई किन नलगेको?
भगवानले बच्चा दिने भए मेरो बच्चा किन नभाको?
निर्दोष प्रश्न सोध्ने मेरो छोरी हलक्क बढेपछि
बाबाको चिन्ता पनि हलक्कै बढेको छ।
छोरी तिमीले नठान्नू
मैले कथामा सुनाए झैं
समाजले तिमीलाई देवी मानेर पुज्ने छ
आफ्नै प्रिय बहिनी, दिदी वा आमा झैं ठानेर
तिम्रो अस्मिताको रक्षक हुने छ।
आफ्नो छोरालाई दूर्योधन झैं प्रेम गर्नेहरूले
अकिञ्चन तिम्रो इज्जत खोज्न सक्छन्
तिम्रो नितम्ब, छाती र यौनांगमा।
नठान्नू तिम्रो सपनाको राजकुमार
बाईपंखी घोडा चढेर आउनेछ
र, बचाउने छ तिमीलाई हरेक संकटहरूमा।
प्रिय छोरी,
नसम्झनू मुटु धड्कनु
र, नाकले सास फेर्नु मात्रै जीवन होइन।
प्यारी राजकुमारी,
होस गर्नु तिमीलाई परायाले आफ्नाबाट छिनेर
आफ्नासँगै पराया बनाएपछि
तोड्न सक्छ तिमीसँगको सम्वन्ध।
तिमीले आफ्नो सगरमाथा आफैं ठड्याउनु छ
र, चुम्नुछ सफलताको नतांश।
आफ्नै सगरमाथाको टुप्पोमा पुग्नु अघि
गोडाहरूले बाटो मोड्न सक्छन्
हार्न सक्छ तिम्रो संकल्प, तिम्रो अठोट।
तिमी हरेस खाएको बेला
तिम्रो टाउकोले अडेस लाग्न मेरै काँध सम्झियोस्।
तिमीले कहिल्यै रून नपरोस्
रूनै पर्यो भन्ने सोच्नु
बर्सिएपछि नै आकाश दूरसम्म देखिने हुन्छ
वर्षातपछि नै आकाशमा इन्द्रेणी देखिन्छ
अनि ठान्नू तिम्रो जीवनमा पनि इन्द्रेणी चाँडै उदाउने छ।
तिमी फल दिने वृक्ष झैं हुनू
तर, नभुल्नू टुप्पोमा फल दिने वृक्षको जरा
जमिनमा बेस्कन गाडिएको हुन्छ।
प्रिय छोरी,
तिमी पनि एकदिन गुँड छोडेर उड्ने छौँ
ख्याल गर्नू मेरा आँखाले तिमीलाई त्यसैगरी खोज्नेछन्
जसरी स्कूलको अन्तिम घण्टी बजेपछि
तिम्रा कलिला आँखाले मलाई खोज्दथे।
@tdahal1