निर्लज्ज छ सहर
जहाँ भोक दौडिएर
सडक अलपत्र छ
जहाँ सपनाहरूको
लिलामी भैरहेछ।
निर्लज्ज छ गाउँ
जहाँ सहर किन्दै
खुसीहरू बेच्दै
सुसेली उकालोमा
जीवन कुरिरहेछ।
निर्लज्ज छ समय
जहाँ सपनाहरूको
नाङ्गो तान्डब छ
जहाँ लिगलिगभित्र
मृत्यु लिलाम भैरहेछ।
निर्लज्ज छ आवश्यकता
निस्फिक्री समय कुदाइरहेछ
न हिजो, न आज, न भोलि
नथाकेका कथाहरूमा
अनवरत छन् व्यथाहरू।
निर्लज्ज छ जीवन
जहाँ पलको आशामा
अलपत्र कल्पनाभित्र
निमोठिएका आशाहरूमा
आँसु पिलाइरहेछ।