आशाका त्यान्द्राहरूले बुनेर बनाएको छानोलाई
भरोसाका खाँबाहरूले अड्याई
विश्वासका चार टेकामाथि अडिएको
काठे फल्याकमा
उसका सपनाहरूको एक कप चिया।
एक सपना
अँगेनोमा काँचो गुराँसको दाउरा ठोस्दै
उसलाई ठू...लो मान्छे बनाउन
माटाको हाँडीमा मकैका ठेट्ना भुट्दै गरेकी
उसकी आमाको दमको औषधि किन्ने
अर्को सपना
बेसीमा साहुको खेत जोतिसकेपछि
उसलाई त्यही ठू..लो मान्छे बनाउने
सपना पूरा गर्न
काँधमा हलो बोकेर
खाली खुट्टा ठमठमी हिँड्दै गरेका
बाका खुट्टामा वर्षाको हिलो छेक्ने गम-बुट किन्ने
अझै अर्को सपना
स्कुल जान नपाएर
साहुका घरमा भाँडा मस्काएर
आफ्ना सपना टल्किने आशामा
भाँडा पखाल्दै गरेकी
उसकी बहिनीलाई नर्स बनाउने
यी सबै सपनाहरूलाई
कुच्चिएको एउटा कित्लीमा
एकमुस्ट उमालेर
उसको सपनाको खुत्रुके भर्न
उसले बेच्दै गरेको
औधी स्वादिलो उसका सपनाको एक कप चिया सुरुप-सुरुप पारेर सकिसकेपछि
मैले भनेँ-
‘भाइ, मेरो हिसाब खातामा लेख्नू ल!
मसँग तिम्रा यी सस्ता सपनाको समेत मूल्य तिर्ने सामर्थ्य छैन
किनकि
म पनि त तिमीजस्तै आफ्ना सपनाको
उधारोमा व्यापार गर्छु
ती ठू...ला मान्छेहरूसँग।’